विराटनगर — कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीलाई जीवित राख्न नेतृत्व सच्चिनु पर्ने बताएकी छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले शनिबार विराटनगरस्थित कोइराला निवासमा गरेको पत्रकार सम्मेलनमा कोइरालाले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने बताइन ।
कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको बताउँदै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको उल्लेख गरिन ।
पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने उनले बताइन । नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव सुजाताको छ । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका तीनजना एक ठाउँमा उभिएको बताइन । कोइरालाले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको बताइन ।
कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा रहेको बताइन ।काँग्रेस रहे हामी सबै रहने मानसिकता बनाउन नेतृत्वलाई कोइरालाले सुझाव दिइन । एमसिसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिदैँ परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसदबाट स्वीकृत गराउनुपर्ने बताइन ।