उर्लाबारी, १२ माघ । इलाका प्रहरी कार्यालय उर्लाबारीले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि आक्रमक ढंगले काम सुरु गरेको छ । उर्लाबारी नगरमा लागूऔषध सेवन र कारोबार बढी हुने गरेको गुनाशो बढेपछि विशेष योजना नै बनाएर उर्लाबारी प्रहरी आक्रमक ढंगले लागी परेको हो ।
पछिल्लो केही दिन यता मात्र उर्लाबारी प्रहरीले लागूऔषध कारोबार र प्रयोग गर्ने ६ जनालाई पक्राउ गरेर मुद्धा दर्ता गरिसकेको छ । गत माघ ९ गते उर्लाबारी २ स्थित एक घरमा खानतलासी गर्दा लागूऔषध प्रयोग गरिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको छ ।
सो घरबाट प्रहरीले २५ ग्राम गाँजा, रिमोडोल लेखिएको १०० चक्की, इक्साप्रोन क्याम्पसुल १०० चक्कीसहित उर्लाबारी २ का रमेश पुरी, धनकुटा ७ घर भएका रविन मल्लिक, उर्लाबारी ३ बस्ने बिक्रान्त अधिकारी र उर्लाबारी २ कै नविन पुरीलाई पक्राउ गरी लागूऔषध प्रयोग सम्बन्धी मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुबाश राईले जानकारी दिनुभयो ।
यस्तै उर्लाबारी प्रहरीले लागुऔषध कारोवारमा संलग्न उर्लाबारी –६ का १८ वर्षिय बिष्णु पोदारलाई पनि पक्राउ गरी लागुऔषध कारोबार सम्बन्धी मुद्धा दर्ता गरिसकेको छ । यस्तै केही दिनअघि उर्लाबारी– ७ स्थित स्कुलडाँडाबाट मे ७ प ४३९२ नम्बरको मोटरसाईकलमा सवार उर्लाबारी २ झारसादी बस्ने २१ वर्षिय पवन दाहाललाई नाइट्रोजन ट्याब्लेट ९ चक्कीसहित पक्राउ गरेको थियो ।