• बेइजिङ, १२ माघ – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

    चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दिएका छन् ।

    राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ ।

    आयोगका अधिकारीहरुले भनेका छन्, “अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको संक्रमण भएको आशंका गरिएको छ ।”

    यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।

    उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि अधिकारीहरुले बताएका छन् ।

    सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ।

    ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।

    सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।

    यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ ।

    चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

    उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो ।

    यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ ।

    अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी बिमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…