काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समुहबीच झडप भएको छ । सभापति शेरबहादुर देउवालाई नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जना गरेपछि संस्थापन समूहसँग हात हालाहाल भएको हो ।
केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए। त्यसलगत्तै अनसनरत विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको बताइएको छ ।
कांग्रेसले सोमबार नेविसंघको केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेपछि काफ्ले निकट समूह विरोधमा उत्रिएको छ । उक्त समूहले विगत ४१ दिनदेखिको जारी रिले अनशनलाई आजबाट आमरण अनशनमा परिणत गरेको छ । काफ्ले समूह विधानमा भएको व्यवस्था बमोजिम ३२ वर्ष मुनीको उमेर समूहबाट तदर्थसमिति ल्याउनुपर्ने माग राख्दै आएको छ ।