काठमाडौं, १४ माघ । नेपाल प्रहरीमा कार्यरत तल्लो तहदेखि माथिल्लो तहसम्मका अधिकारीहरु घुस काण्डमा बद्नाम भएका बेला यौन काण्डका श्रृंखला सुरु भएका छन् । प्रहरीका उच्च अधिकारीकै यौन काण्ड बाहिरिन थालेका हुन् ।
नेपाल प्रहरीमा यौन दुव्र्यवहार गरेको आरोपमा एक डिएसपीले करिब डेढ महिना अघि जागिरबाट हात धुनु परेको तथ्य फेला परेको हो । जिल्ला प्रहरी मोरङमा कार्यरत रहेका डिएसपीले आफ्नो सेवा अवधि दुई वर्ष बाँकी हुँदा नै राजीनामा दिएका हुन् ।
२३ वर्षे युवतीले आफूलाई ६ महिना यौन शोषण गरेको आरोपसहित प्रहरी प्रधान कार्यालयमा उजुरी छानवीन शाखामा मुद्दा हालपछि जागिर छाडेर उनी फरार भएका हुन् । गत वर्ष महानगरीय प्रहरी चापागाउँमा कार्यरत रहेका डिएसपी राजकुमार खिउजुलाई यौन दुव्र्यवहारको आरोप लागेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
सो आरोप लागेपछि मोरङमा कार्यरत रहेका खिउजुले डेढ महिना अघि जागिरबाट राजीनामा दिएर सम्पर्क विहिन भएका छन् । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानविन समितिले भने उनको फाइल लुकाएको छ । प्रहरी नायव महानिरीक्षक (डिआईजी) मनोज न्यौपानेको टेबुलबाटै सो फाइल हराएको स्रोतले जनाएको छ ।
चापागाउँ प्रहरी प्रमुख हुँदा ती किशोरी विदेश जानका लागि प्रहरी रिपोर्ट बनाउन भन्दै डिएसपीको सम्पर्कमा पुगेकी थिइन् । प्रहरी रिपोर्ट चापागाउँ प्रहरीमा नबन्ने भएकाले उनलाई जावलाखेल प्रहरी परिसर लगिदिने बहानामा कोठामा पुर्याइ बलात्कार गरेको उजुरीमा उल्लेख थियो ।
निरन्तर ६ महिनासम्म बलात्कार गरेका उनको सरुवा मोरङ जिल्ला प्रहरी कार्यालयमा भएको थियो । ती युवतीलाई विभिन्न प्रलोभन दिएर बलात्कार गरेको आरोप उनी माथि छ । डिएसपी खिउजुको सरुवा भएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
पहिला महानगरीय प्रहरी परिसरमा उजुरी दिन गएकी ती युवतीलाई त्यहाँका एक डिएसपीले त्यतिकै फर्काएका थिए । पछि प्रहरी प्रधान कार्यालयमा पुगेर उजुरी दिएकी थिइन् । त्यसपछि खिउजु दम्पत्तीले ती किशोरीलाई भेटेर माफी माग्दै जे भन्यो त्यही गरिदिने आश्वासन दिए पनि किशोरीले मुद्दा फिर्ता नलिने बताएकी थिइन् ।
प्रहरी स्रोतका अनुसार हाल डिएसपी खिउजुलाई मिलाउन भने र ललितपुर नेकपाका केही युवा नेताहरु अग्रसर भएका छन् तर खिउजु नै सम्पर्क विहिन भएकाले त्यो मुद्दा त्यत्तिकै प्रहरी प्रधान कार्यालयमा अलपत्र परेको छ ।
डिआईजी न्यौपानेले नै यस्ता मुद्दा कति आउँछन् कति भन्दै फाइल खोल्न मान्नु भएन धेरै प्रहरीको उजुरी आएका छन् सबैको हेरेर साध्य लाग्दैन, डिआईजी न्यौपानेको भनाई उदृत गर्दै प्रधान कार्यालय स्रोतले भन्यो उहाँ बसिन्जेल यो फाइल खुल्दैन ।
डिआईजी न्यौपानेले उनलाई किन संरक्षण गरेका हुन् भन्ने बारेमा केही खुलेको छैन । हालै मात्र प्रहरीको विधि विज्ञान प्रयोगशाखाका प्रमुख एसएसपी राकेश सिंहले पनि यौन शोषण गरेको भन्दै तीन जना महिला प्रहरी कर्मचारीले उजुरी दिएको चर्र्चामा छ । उक्त विषयमा पनि छानविन हुन सकेको छैन ।
अबको १२ दिनपछि डिआईजी न्यौपाने ३० वर्षे सेवा अवधिका कारण जागिरबाट विदा हुँदैछन् । एक प्रहरी अधिकृतका अनुसार त्यसअघि उनी त्यस्ता फाइल खोल्न चाहेनन् । आफ्नो कार्यकालमा खासै योगदान गर्न नसकेका डिआईजी न्यौपानेले प्रहरीभित्रका गुनासालाई छानविन नगरी बिदा हुन लागेका हुन्, जनप्रहारमा उल्लेख छ ।
आन्तरिक शुद्धिकरणमा लागेको प्रहरी संगठनभित्र खिउजुमात्र होइन अन्य प्रहरीलाई पनि बलात्कार काण्डले पछ्याउन छाडेको छैन । केही दिन अघि मात्रै प्रहरीको विधिविज्ञान प्रयोगशालामा कार्यरत एसएसपीलाई त्यहीको महिला प्रहरी कर्मचारीमाथि बलात्कारको अभियोग लागेको छ । तर, उनले राजीनामा भने दिएका छैन ।