• विराटनगर, १३ माघ: शंकास्पद अवस्थामा सिंघिया खोलामा मृत फेला परेका विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको मृत्यु प्रकरणमा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै घिमिरेका आफन्तले आपत्ति जनाएका छन् । घटना भएको एक साता वित्दासमेत प्रहरीले कुनै तथ्य बाहिर नल्याएकोले र शंकास्पद मानिसहरूलाई समेत पक्राउ नगरेको भन्दै उनका आफन्तले प्रहरीको छानविनप्रति आशंका व्यक्त गरेका छन् ।

    विराटनगर–२ तीनपैनी घर भएका ४८ बर्षीय घिमिरेको गत मंगलबार विहान सिंघिया खोलामा शव भेटिएको थियो । विराटनगर महानगरपालिका वडा नं २ का वडाध्यक्ष कुमार पोखेलसहित घिमिरेका आफन्त तथा शुभेच्छुकहरूले सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र दिदै घटनाको निष्पक्ष र प्रभावकारी छानविन गर्न माग गरेका छन् ।

    कतिपय घटनामा शंकाकै आधारमा प्रहरीले गाउँभरीकै मानिस पक्राउ गर्ने गरेपनि घिमिरेको मृत्यु प्रकरणमा कसैलाई नियन्त्रणमा नलिदा प्रहरी प्रभावमा परेको हो कि भन्ने आशंका बढेको छ, घिमिरेका एक आफन्तले भने । मृतक घिमिरेसँग खानपीनमा बसेका अधिकांश व्यापारी छन् । उनीहरूलाई सामान्य सोधपुछ मात्र गरेर प्रहरीले छोडेको छ ।

    दिउँसोदेखि रातीसम्मसँगै रहेकाहरू सकुशल घर पुगेको तर प्रवल घिमिरे चाहिँ खोलामा मृत भेटिनु शंकास्पद छ– ‘मृतकका दाजु रविन घिमिरे भन्छन् , घटनास्थल, शव र अन्य सबै कुरा हेर्दा स्वाभाविक मृत्यु होइन, हत्या नै हो भन्ने हामीलाई शंका लागेको छ ।’ गत सोमबार दिउँसो घरबाट निस्केका घिमिरे राति अबेरसम्म परिवारको सम्पर्कमा थिए । म साथीहरूसँग छु आउँदैछु भनेर राति १० बजेर ४२ मिनेटमा आफूसँग कुरा भएको र रातिसम्म नआएपछि खोजी गर्ने क्रममा भोलीपल्ट विहान सिंघिया खोलामा उनको शव भेटिएको दाजु रविनले बताए ।

    प्रमुख जिल्ला अधिकारी भुजेललाइ ज्ञापनपत्र बुझाउँदै विराटनगर महानगरपालिका –२ का वडाध्यक्ष कुमार पोेखरेलले घटनाको यथाशीघ्र छानविन गरि सत्यतथ्य कुरा सार्वजनिक गर्न माग गरे । वडा समितिको वैठकले निर्णय गरी उक्त घटनाबारे आवश्यक अनुसन्धान गर्न प्रहरी प्रशासनलाइ पत्राचारसमेत गरेको छ ।

    ज्ञापनपत्र बुझाउने टोलीमा सहभागी नेकपा मोरङका नेता बाबुराम कार्कीले दिउँसोदेखि रातिसम्म घिमिरेसँगै बसेर खानपिन गर्नेहरूले उनलाई बीच बाटैमा छोड्नु, दिउँसो हिडेर पनि जान नसकिने बाटो भन्दा अप्ठेरो ठाउँमा शव भेटिनु र शरीरमा कुनै पनि किसिमको घाउचोट नदेखिनुले घटनामा शंका गर्ने प्रशस्त आधार भएको बताए । प्रजिअ भुजेलले घटनाको राम्रो अनुसन्धान गर्न प्रहरीलाइ निर्देशन दिने बताए ।

    आफन्तका अनुसार प्रवल घिमिरे सोमबार दिउँसो मोटरसाइकल चढेर विराटनगरको शनिहाट घर भएका उद्योगी नन्दु भन्ने नन्दकिशोर राठीको उद्योगमा पुगेका थिए । त्यसपछि मोटरसाइकल त्यही छोडेर उनी राठीसँगै विराटनगरको मेनरोडस्थित आमाज होटलमा खानपीन गरेका थिए ।

    त्यसपछि उनीहरू भाटभटेनीमा किनमेल गरि होटल मुनमा पुगेका थिए । होटल मुनमा उनीहरूको विराटनगरका सुन व्यापारी अरूण राठी, उर्लाबारीका व्यवसायी अनिलकुमार चाण्डक, चाण्डकका चालक दमक घर भएका चन्द्रबहादुर दर्जी, झापा शिवसताक्षी–६ का व्यापारी विनय कर्णसँग बसेर खानपिन गरेका थिए ।

    उनीहरूमध्ये नन्दु राठी चाँडै होटलबाट बाहिरिएको बताइएको छ । त्यसपछि उनीहरू अर्को होटलमा गएर खानपिन गरी चाण्डकको गाडीमा चढेर चालक विराटनगर–३ का पशुपति खड्कासँग फर्किएको र पुरानो जिल्ला प्रहरी कार्यालय नजिक उनीहरूले घिमिरेलाई छोडेको बताइएको छ ।

    त्यहाँबाट गोल्छाचोक हुँदै सीडीयो कार्यालय जाने मेघराज मार्गमा घिमिरे एक्लै हिडेर पूुर्वतर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनी पैदल हिडिरहेको बेला केही मोटरसाइकल र गाडी सो बाटो हुँदै आउजाउ गरेको भिडियोेमा देखिएको प्रहरीले बताएको छ । घिमिरेका आफन्तले त्यहाँबाट कसैले उनलाई उठाएर लगेर हत्या गरेर खोलामा फालेको हुनसक्ने आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले घटनाबारे अनुसन्धान भैरहेको बताए । उनले घिमिरेले प्रयोग गर्ने एउटा मोवाइलको कल डिटेलका आधारमा अनुसन्धान भैरहेको बताए ।

    घिमिरेसँगै खानपिन गरेका उद्योगी नन्दु राठी, उनका चालक पशुपति खड्का, सुन व्यापारी अरूण राठी, उर्लाबारीका व्यापारी अनिल चाण्डक, उनका चालक चन्द्रबहादुर दर्जी, झापाका व्यापारी विनय कर्ण र मुन होटलका सञ्चालक विजयराज प्रसाईसँग सोधपुछ गरिरहेको डीएसपी थापाले बताए । तर सो घटनाको अनुसन्धानका क्रममा कसैलाई पक्राउ नगरिएको डीएसपी थापाले बताए । पोष्टमार्टम रिपोर्ट आएलगत्तै भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइने प्रहरीको भनाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…