काठमाडौँ, १५ माघ । सरकारका राम्रा कामका साथै पार्टी एकताको सन्देश दिने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ महिने जागरण अभियान देशैभरि सञ्चालन गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी कार्ययोजनामा सो अभियानबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदन तयारी गरिएको नेकपा स्रोतले जनाएको छ। बुधबारदेखि शुरू हुने केन्द्रीय कमिटी बैठकको शुरूमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले सम्बोधन गर्ने र त्यसपछि अध्यक्षद्वयको तर्फबाट अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
नेकपाले २ चरणमा अभियान चलाउने तयारी गरेको हो। पहिलो चरणमा पार्टीको एकता सम्बन्धी सम्पूर्ण काम सकेर पार्टी प्रशिक्षण चलाउने र दोस्रो चरणमा जनजागरणलाई केन्द्रीत गरेर आम सभाहरु गर्ने नेकपाको तयारी छ। प्रचण्डले त्यससम्बन्धी प्रस्ताव बुधबारबाट सुरु हुने केन्द्रीय समितिमा प्रस्तुत गर्नेछन्।
पहिलो चरणको अभियानले एकताको सम्पूर्ण काम सक्ने र पार्टीको विचारधारात्मक कार्यदिशाका बारेमा प्रशिक्षित गरिनेछ। प्रशिक्षणमा वामपन्थी सरकारले गरेका कामहरुको बारेमा पार्टी पंक्तिलाई प्रशिक्षित गरिनेछ। यस अभियानमा पार्टीको तल्लो तहसम्म पार्टी र सरकारबीच समन्वयको वस्तुगत आधार तयार हुनेछ।
दोस्रो चरणमा मेचीदेखि महाकालीसम्म जागरण अभियान सञ्चालन हुनेछन्। त्यस अभियान अन्तर्गत केन्द्रित र विकेन्द्रित प्रकारका आम सभाहरु गरिनेछ। प्रदेश स्तरीय आम सभा र मूख्य शहरहरुमा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।