• काठमाडौं ।  नेपाली कांग्रेसका नेताहरू झण्डै एक महिनाको रस्साकस्सीपछि आपसी शक्ति संघर्ष र तिक्तता मत्थर पार्न सफल भएका छन् । गत मंसिर २६ गते सुरु भएपछिका केन्द्रीय कार्यसमिति बैठकहरू महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले बहिस्कार गरेपछि सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गराए । महाधिवेशन प्रभावित पार्न सक्ने विधानका प्रावधानहरू निलम्बन गराए । महाधिवेशनको कार्यतालिका बनाए । झण्डै चार वर्षसम्म गठन नै हुन नसकेका २७ वटा विभाग बढाएर ४६ वटा पु¥याए । आफ्नो अनुकूल हुनेगरी अन्य केही निर्णय गराए ।

     

    सभापति देउवाले सहमति जुटाउन प्रयास नगरेका होइनन् । दुई पक्षका प्रतिनिधिहरूबीच लगातार वार्ता भए पनि आआफ्ना अडानमा बस्दा पार लागेन । अन्ततः सभापति देउवा बहुमतले पेलेरमात्रै अघि बढ्नु उचित नहुने निष्कर्षमा पुगे । देउवा आफैँले असन्तुष्ट पक्षसँग वार्ता गरे । दुवै पक्षको लचकता र सहमतिको अनिवार्यताका कारण नेताहरू सहमति जुटाउन सफल भए । परिणामस्वरूप सोमबार एक महिनापछि केन्द्रीय कार्यसमितिको बैठक हुन सकेको छ । यो सहमतिबाट कांग्रेसजनले केही सन्तोषको सास फेरेको हुनुपर्छ । दुवै पक्षका नेताहरूलाई पनि केही राहत अनुभव भएको हुनुपर्छ ।

     

    एउटा जीवन्त राजनीतिक दलभित्र नेताहरूबीच विवाद हुनु, शक्ति संघर्ष र प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन । हुँदा हुँदा विभाजनसम्म पनि पुग्न सक्छ । नेपालका सबैजसो दलहरूले विभाजन भोगेका छन् । विपक्षी दल नेपाली कांग्रेसको पछिल्लो विवाद कतै विभाजनको बिन्दुसम्म त पुग्ने होइन भन्ने आशंकामा पनि केही कांग्रेसजनहरू थिए । हाललाई यो आशंका टरेको छ । ढिलै भए पनि सभापति देउवाले असन्तुष्ट पक्षलाई समेट्न नेतृत्व कौशल देखाएका छन् । तत्कालको संकट टरेको छ । बहुमत प्राविधिक हो, आपसी विश्वास र सहमति प्रधान हो भन्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।

     

    कांग्रेसको संकट समाधन भएको होइन, तत्काललाई टरेको मात्रै हो । महाधिवेशन जति नजिकिँदै जान्छ, उति नै शक्ति संघर्ष पनि चर्किंदै जान्छ । यसलाई स्वस्थ प्रतिस्पर्धा बनाउन नसके घाउ फेरि बल्झिनेछ । नेताहरू सहमति र विधानका प्रावधानहरूप्रति इमानदार भएमात्रै प्रतिस्पर्धा स्वस्थ हुनेछ । जनवर्गीय संगठनहरूको हालत पनि पार्टीको भन्दा कम छैन । सोमबार नै पार्टी मुख्यालयमा नेवि संघका दुई पक्षबीच कुटाकुट भएको छ । नेवि संघ र तरुण दल करिब विघटनको अवस्थामा छन् । सबै विवादमा समाधान खोज्न सकेमात्रै कांग्रेस व्यवस्थित हुन सक्नेछ ।

     

    कांग्रेस अहिलेको विपक्षी दल हो । बहुदलीय लोकतान्त्रिक प्रणालीमा विपक्षको भूमिका सरकारको भन्दा कम हुँदैन । झण्डै दुई तिहाइ बहुमतको सरकार रहेको वर्तमान अवस्थामा विपक्षको सशक्त भूमिका अपेक्षित छ । विपक्षी भूमिका प्रभावकारी बनाउन नसकेको भनेर कांग्रेस आलोचित हुँदै आएको छ । आन्तरिक विवादमा रुमलिएकै कारण कांग्रेस आफ्नो राजनीतिक भूमिकामा कमजोर देखिएको हो । सफलता÷असफलताको जस÷अपजस नेतृत्वकै हुन्छ । नेतृत्वले अर्को पक्षलाई दोषी देखाएर उम्किने प्रयास गर्नु वहनाबाजीमात्रै ठहरिन्छ । असन्तुष्टिका नाममा हलो अड्काइरहनु पनि घातक हुन सक्छ ।

    हिमालय टाईम्स दैनिक लेख्छ- बितेको एक महिनाको अनुभवबाट शिक्षा लिएर दूरदृष्टिका साथ अघि बढ्न सकेमात्रै कांग्रेसले समयको माग सम्बोधन गर्न सक्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…