काठमाडौँ — बीस महिनापछि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारका कामको ‘ब्रिफिङ’देखि पार्टीभित्र र बाहिरबाट सरकारमाथि भएको आलोचनाको बचाउ गरेका छन् ।
नेकपाका केन्द्रीय कमिटी बैठकमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल । तस्बिर : अंगद ढकाल/कान्तिपुर
सरकारले गरेका नीतिगत भ्रष्टाचारलाई लिएर उठेका प्रश्नमा समेत प्रधानमन्त्री ओलीले सफाइ दिने पुरै कोसिस गरे । उनले सरकारले चालेका हरेक कदम र निर्णय सही र कानुन सम्मत रहेको दाबी समेत गरे ।
यसबाहेक प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि जवाफ दिएका छन् । पार्टीभित्र असन्तुष्ट नेतालाई ‘कुरा बुझेर’ मात्रै बोल्न अनौपचारिक रुपमा उनले निर्देशन नै दिएका छन् । दुई घण्टा लामो भाषण गरेका ओलीले पार्टी बैठकमा केही प्रसंगहरु आंफै उठाएका हुन् ।
प्रधानमन्त्री ओलीले पहिलोपटक पार्टी बैठकमा आलोचना सुन्न तयार भएको बताउँदै त्यसलाई सुधार्न तयार रहेको समेत बताए । विगतमा उनको यस्तो ‘सफ्ट’ अभिव्यक्ति कमै आउने गर्दथ्यो । कार्यशैली र सरकारको कामलाई लिएर हुने आलोचनाप्रति प्रधानमन्त्री ओली असहिष्णु देखिदै आएका थिए ।
सरकारको काम, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)देखि पछिल्लो समय मिडियामा आएका नीतिगत भ्रष्टाचार लगायतका विषयमा केन्द्रीय सदस्यले बैठकमा कुरा राख्ने तयारी गरेका थिए ।
त्यही बुझेर हुन सक्छ–प्रधानमन्त्री ओली एमसीसीको लामै व्याख्या गरे । सीमा विवादको कुरा उठाए । यति समूहसँग सरकारको सम्बन्धलाई लिएर उठेका प्रश्नको पहिलै जवाफ दिए । उनले बैठकलाई अन्तर्राष्ट्रिय स्तरबाट हेरिएको प्रसंग उठाउँदै बैठक मर्यादित बनाउनुपर्ने सन्देश दिए ।
प्रधानमन्त्रीले उठाएका ११ विषयः
सरकार विरुद्ध प्रचार आक्रमण बढ्यो
बैठकमा प्रधानमन्त्री ओलीले सरकारका विरुद्ध प्रचार आक्रमण डरलाग्दो ढंगले भएको बताए । ‘डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण भएको छ । हाम्रा विरुद्ध प्रचार आक्रमण डरलाग्दो गरी छेडिएको छ । तर, हामी वाद–विवादबाट होइन । हामी हाम्रा उपलब्धिबाट, नतिजाबाट जवाफ दिँदै आएका छौं’ प्रधानमन्त्रीको भनाइ थियो ।
एमसीसी इन्डोप्यासिक रणनीति अन्तरगत हैन
स्थायी समिति र सचिवालयका अधिकासं नेताले एमसीसी इन्डो–प्यासिफिक रणनीतिसँग जोडिएको भनिरहेको बेला प्रधानमन्त्री ओलीले ती नेताहरुलाई सिधा–सिधा जवाफ दिए । उनले एमसीसीलाई इन्डोप्यासिफिकसँग जोड्नु बेकार भएको र यसमा विवाद गर्न आवश्यक नभएको बताए । कुनै पनि देशको ‘हिँड्न इन्ट्रेस्ट’ के छ भनेर खोज्दै जाने हो भने नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध नै राख्न नसक्ने ओलीले जवाफ दिए । उनले एमसीसी सम्झौता छिटो संसद्बाट अनुमोदन गर्न ढिलाइ गर्न नहुने पनि बताए ।
धक्कालाई कसैले गलत बुझ्यो
भ्रमण वर्ष ०२० लाई कोरोना भाइरसको संक्रमणले केही धक्का दिएको विषयमा विपक्षीले गलत व्याख्या गरेको समेत भन्न भ्याए । ‘हिजो संसदमा मैले सन् २०२० मा नेपाल भ्रमण वर्षको सुरुवातमा कोरोना भाइरसतिर संकेत गर्दै यो प्रयासमा धक्का पर्न जाने जस्तो देखियो भनेर भनेको थियो, त्यो कसले कसरी बुझ्यो, थाहा भएन,’ ओलीले भने । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीपछि बोलेका प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कस्तो धक्का, के–को धक्का, कहाँबाट आयो धक्का भनी प्रश्न गरेका थिए ।
सीमा विवाद
प्रधानमन्त्री ओलीले बैठकमा बोल्दै भारतले जारी गरेको नयाँ नक्साका सम्बन्धमा भारतलाई पत्राचार भइसकेकाले संवादमार्फत् समस्याको समाधान गरिने बताए ।
‘सरकारले कुनै प्रकारको राष्ट्रहितको वेवास्ता गर्ने, कम मूंल्याकन गर्छ कि भन्ने नठाने हुन्छ । यो सरकार देशभक्त, राष्ट्रवादी र सत्यका लागि लड्ने, सत्यका लागि बोल्ने आँट गर्ने सरकार हो,’ प्रधानमन्त्री ओलीले भनेका थिए । उनले लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भने बोल्ने यो सरकार पहिलो भएको समेत बताए ।
यति होल्डिङसँग साइनो छैन
पछिल्लो समय मिडिया र सामाजिक सञ्जालमा सरकारको यति होल्डिङससँगको साइनोलाई लिएर आलोचना भइरहेको बेला ओलीले यतिसँग कुनै साइनो नरहेको प्रष्टीकरण दिए ।
यती होल्डिङलाई सरकारले लिजमा दिएको जमिन कानुनी प्रक्रिया पुर्याएर दिएको भन्दै उनले उक्त आलोचनालाई व्यापारिक घरानाको विवाद भनेर व्याख्या गरे । यती होल्डिङसँग आफ्नो मितेरी साइनो भएजस्तो गरी प्रचार भएकोमा उनको असन्तुष्टि थियो । ओलीले यसलाई व्यापारिक घरानाको विवाद एवं ब्याकमेलरको दौडधूपको विषय भने । गोकर्ण रिसोर्ट, दरबारमार्ग, पाथिभराको सार्वजनिक जग्गा यति होल्डिङसलाई कानुन विपरीत नभइ कानूनअनुसार दिएको र यसमा सरकारले कुनै गल्ती नगरेको प्रधानमन्त्री ओलीको दाबी थियो ।
अहिले पनि फ्याट्ट एमाले
प्रधानमन्त्री ओलीले पार्टी एकताको लामो समय हुँदा पनि बेला बेला एमाले नै भन्न आउने स्वीकार गरे । ‘कहिले–कहिले बोल्दा मैले नेकपा नभनेर एमाले भनिरहेको हुन्छु । यो पृष्ठभूमिले तानेको । बोल्ने बानी परेको, बोल्दै जाँदा फ्याट्ट एमाले भनिन्छ, अनि सम्झिँदा ए हामी त नेकपा भइसकियो भन्ने हुन्छ,’ बैठकमा ओलीले सुनाएका थिए । बोलीमा मात्रै नभएर कहिलेकाही काममा समेत एमालेपन देखिने गरेको भन्दै ओलीले अब त्यसलाई बिर्सेर फारकिलो भावनाका साथ एकताबद्ध भएर अगाडि जानुपर्ने बताए ।
युगान्तकारी काम भएका छन्
बैठकमा ओलीले पार्टीगत भन्दा पनि धेरै समय सरकारका कामबारे व्याख्या गर्न बिताएका थिए । उनले केही पनि काम भएन भन्नेलाई कामको सूची पेस गरे र भने,‘काम नभएको होइन । युगान्तकारी काम भएका छन् । प्रचार नभएको हुनसक्छ ।’
एक ताल, एक सुरु भएर चलौं
प्रधानमन्त्री ओलीले नेकपा विशाल पार्टी भएपनि ताल र सुर नमिलेको स्वीकारे । ‘हामीसँग विशाल पार्टी छ । जनताले विश्वास गरेर समर्थन दिएका छन् । हामीसँग काम गर्ने मौका छ, अवसर छ, समय छ । दुई वर्षका कामहरुले हामी काम गर्न सक्छौं भन्ने कुरा देखाएको छ । अलिकति हामीले प्रचारमा ध्यान दिन सकेका छैनौं । अलिकति एक ताल, एक सुर भएर हिँड्न सकेका छैनौं, अलिकति एक आवाजमा बोल्न सकेका छैनौं,’ उनले भने ।
बैठकलाई दुनियाँले हेरेको छ
नेकपा केन्द्रीय समिति बैठकलाई दुनियाँले हरिरहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई व्यवस्थित बनाउन आग्रह गरे । ‘यो बैठकलाई दुनियाँले हेरेको छ । हामीले शानदार, व्यवस्थित र उपलब्धीमूलक बनाउन जरुरी छ । म कमरेडहरुसँग त्यही अपेक्षा राख्छु । बैठक अत्यन्तै व्यवस्थित र उपलब्धीपूर्ण हुनुपर्छ । उत्साहपूर्वक छलफलमा सहभागिता जनाऔं,’ ओलीको भनाइ थियो ।
बैठक ढिलाइमा जिम्मेवार छैन
ओलीले केन्द्रीय समितिको दोस्रो बैठक अस्वभाविक ढंगले विलम्ब हुन गएको तर आफ्ना कारणले नभएको बताए । उनले सरकारको कारणले वा प्रधानमन्त्रीले समय दिन नसकेकाले बैठक विलम्ब भएको भ्रम नराख्न सदस्यलाई आग्रह गरे ।
विभिन्न कारणले बैठक बस्न ढिलाइ भएको र भविष्यमा यस्तो ढिलाइ नहुनेसमेत बताए । उनले बैठक ढिलाइमा पार्टीको आन्तरिक विवादतर्फ संकेत गरे । विधानले ६–६ महिनामा बस्ने परिकल्पना गरेपनि नेकपाको केन्द्रीय समितिको बैठक २० महिनापछि बसेको छ ।
वैचारिक स्पष्टता बिना गन्तव्यमा पुग्न सकिदैंन
बैठकमा ओलीले वैचारिक स्पष्टाबिना गन्तव्यमा नपुगिने भन्दै सदस्यलाई पार्टीका दस्ताबेज गहिरोगरी अध्ययन गर्न आग्रह गरे । ‘आगामी दिनमा वैचारिक स्पष्टता, गन्तव्यको स्पष्टता बिना हामी अगाडि बढ्न सक्दैनौं । गन्तव्यमा पुग्न पनि सक्दैनौं । त्यसकारण वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु । आँखा खोलेर विगतसँग टाँसिएर होइन, अहिलेको यथार्थसँग विश्लेषण गरेर अगाडि बढ्नुपर्छ,’ ओलीले भनेका थिए ।