केही समय अघिसम्म निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूले असुलेको चर्को शुल्कका विरुद्ध सेतो एप्रोन लगाएका विद्यार्थीहरूले सडकमा उत्रिएर महिनौं संघर्ष गरे । उनीहरूले अवज्ञा, जुलुस र धर्ना गरे । उनीहरूको न्यायपूर्ण आन्दोलनलाई केन्द्र र जिल्लामा रहेका विद्यार्थी संगठनहरूले पूर्णरूपमा साथ, सहयोग र समर्थन गरे ।
अन्तत: सरकार पनि आन्दोलनकारी विद्यार्थीहरूको पक्षमा उभियो । मेडिकल कलेज सञ्चालकहरूले सरकार ढाल्नेदेखि शिक्षामन्त्री फाल्नेसम्मका धमास दिए । तर अन्तत: न्यायपूर्ण विद्यार्थी आन्दोलनसामु उनीहरूले घुंँडा टेके । नेपालमा मेडिकल शिक्षाको क्षेत्रमा यस स्तरको आन्दोलन यसअघि सायद भएको थिएन । सरकारले तोकेको मापदण्ड विपरीत वर्षौंदेखि लुटपाटकै स्तरमा अकुत शुल्क उठाउन पल्किएकाहरूले सुरुमा असंगठित विद्यार्थीहरूका कुरा कहिल्यै सुनेका थिएनन् । सरकारलाई त झन् कुनै टेरपुच्छर लगाएकै थिएनन् । अन्तत: विद्यार्थीहरू स्वयं संगठित रूपमा निर्णायक ढंगले उत्रिएपछि कसैको केही लागेन ।
आजकाल विद्यार्थी आन्दोलन र त्यसको मेरुदण्डको रूपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको औचित्यमाथि विभिन्न ढंगले प्रश्न उठाउने गरिएको छ । कतिपयले विद्यार्थी आन्दोलनको औचित्य नै सकिएको दलिल पेस गर्न थालेका छन् । के साँच्चै विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता सकिएकै हो त ? यतिबेला नेपाली विद्यार्थी आन्दोलनसामु यो यक्षप्रश्न खडा भएको छ । नेपालमा विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । इतिहास साक्षी छ, राजनीतिक परिवर्तन, सामाजिक जागरण र लोकतान्त्रिक आन्दोलनका हरेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित थियो । राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको ध्वजा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आएको हो । जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो । आज यातायातका साधनहरूमा विद्यार्थीलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्ध छ, त्यो त्यही विद्यार्थी आन्दोलनकै उपज हो । अतितको विद्यार्थी आन्दोलन गौरवशाली रहे पनि वर्तमानमा यो आन्दोलन बहसको कठघरामा उभिएको छ ।
विद्यार्थी आन्दोलनले आफूलाई समयानुकूल अद्यावधिक गर्दै लानुपर्छ । एकथरी मानिसहरू छन्, जो सुरुदेखि नै मुलुकका कुनै पनि लोकतान्त्रिक संस्था र तिनका अवयवहरू नै मनपराउँंदैनन् । उनीहरूका दृष्टिमा विद्यार्थी आन्दोलन वा स्ववियुको मात्र होइन, नेपालमा लोकतन्त्र र दलीय प्रणालीको नै औचित्य समाप्त भइसकेको छ । यो प्रवृत्तिबाट चनाखोपूर्वक जोगिनुपर्छ । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको चिरहरण गर्न न्वारानदेखिको बल लगाउनेहरूबाट सतर्क रहनुपर्छ । अर्काथरी आलोचकहरू पनि छन्, जो हमेसा विद्यार्थी आन्दोलनलाई दुश्मन ठान्छन् । खासगरी त्यस्ता मानिसहरू विद्यार्थी आन्दोलनको राप र तापको प्रताडनामा पर्नेहरू हुन् । शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरणको जालो निकै जब्बर र डरलाग्दो छ । विद्यार्थी आन्दोलन बलशाली र प्रभावशाली हुँदा आफ्नो स्वार्थमा धक्का लाग्ने ठान्नेहरू प्रायश: विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन अनेक प्रपञ्च रचिरहेका हुन्छन् । यस खालको प्रवृत्तिसँग सम्झौताहीन संघर्ष गर्दै डरलाग्दो, रहरलाग्दो र भरलाग्दो विद्यार्थी आन्दोलन निर्माण गर्नु आजको टड्कारो आवश्यकता हो ।
शैक्षिक जगत र विद्यार्थीका बग्रेल्ती समस्या समाधान नभएसम्म नेपालमा विद्यार्थी आन्दोलनको औचित्य सकिंदैन । शिक्षालयहरू र विद्यार्थीहरू रहुन्जेल विद्यार्थी आन्दोलनको सान्दर्भिकता किमार्थ समाप्त हुँदैन । आज विद्यार्थी आन्दोलनकै जगमा संविधानमा शिक्षा, स्वास्थ्य र रोजगार नागरिकको मौलिक हकको रूपमा सुनिश्चित भएको छ । तर यो ऐतिहासिक उपलब्धि हुँदाहुँदै पनि यसको कार्यान्वयन हुनसकेको छैन । अबको विद्यार्थी आन्दोलनले संविधानमा सुनिश्चित गरिएको त्यो अधिकार कार्यान्वयनमा आफ्नो औचित्य स्थापित गर्नु जरुरी छ । संविधानले नै समाजवाद उन्मुख राज्यप्रणालीको मार्ग तय गरेको छ । यस स्थितिमा शिक्षा प्रणालीलाई समाजवादी बाटोतर्फ अभिमुख गराउन विद्यार्थी आन्दोलनको झन् बढी खाँचो छ । आज लिम्पियाधुरा, कालापानी र लिपुलेक जस्ता नेपालका प्रमाणित र ऐतिहासिक भूभागहरूमाथि भारतीय कुदृष्टि निरन्तर लागिरहेको छ । सुस्ता लगायतका कैयौं ठाउँमा नेपाली स्वाभिमान र अस्मिता लुटिएको छ । नेपालमा राष्ट्रियताको झण्डा सबैभन्दा पहिला उठाउने जिउँदोजाग्दो र आसलाग्दो तप्का विद्यार्थी आन्दोलन नै हो ।
विद्यार्थी आन्दोलनको मेरुदण्ड र अविछिन्न उत्तराधिकारी संस्था भनेको स्वतन्त्र विद्यार्थी युनियन नै हो । स्ववियु राष्ट्रियताका पहरेदारहरू, लोकतन्त्रका सेनानीहरू र जनजीविकाका पक्षमा वागी विचार ओकल्ने योद्धाहरू जन्माउने कारखाना हो । स्ववियु विद्यार्थी हकहित र शैक्षिक रूपान्तरणको पनि मूल अभियन्ता हो । तर पछिल्लो कालखण्डमा विभिन्न कारणले स्ववियु कमजोर बन्दै गएको छ । स्ववियु कमजोर हुंँदा विद्यार्थी आन्दोलन नै कमजोर भइरहेको छ । समयमा निर्वाचन नहुने र भइहाले पनि सबैतिर नहुने रोगले स्ववियु थिलथिलो हुँदै गएको छ । २०६५ सालमा देशब्यापी रूपमा सबैतिर स्ववियु निर्वाचन भएको थियो । त्यसपछि पटक–पटक चुनाव घोषणा हुने र अन्त्यमा स्थगित हुने क्रम चलिरह्यो । पछिल्लो पटक अलि धेरै चुनाव भएको २०७३ सालमा हो । तर त्यतिबेला पनि त्रिविका २६ वटा आङ्गिकसहित करिब ३ सय क्याम्पसमा मात्र चुनाव हुनसक्यो ।
त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को उपनियम ३४८ को खण्ड (घ) बमोजिम स्ववियुको कार्यकाल दुई वर्ष रहने उल्लेख छ । उक्त प्रावधान अनुसार सामान्यतया २०७५ फागुन १७ गते नै स्ववियुको कार्यकाल सकिएको थियो । तर गतवर्ष नै हुनुपर्ने निर्वाचन पनि विविध कारणले हुन सकेन । विशेष कारणले स्ववियु निर्वाचन हुन नसकेमा एक पटकमा ६ महिनाका दरले बढीमा दुईपटक गरेर एक वर्ष थप्न सकिने प्रावधान अनुसार कार्यकाल थपियो । त्यसरी थपिएको अवधि पनि आगामी फागुन १३ गते समाप्त हुंँदैछ । यसै सन्दर्भमा आगामी फागुन १४ गते स्ववियु निर्वाचनको तयारी गर्न त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसहरूलाई पत्राचार गरिसकेको छ । अब सबै विद्यार्थी संगठनहरू यसमा होमिनुको विकल्प छैन । हरहालतमा स्ववियुको अस्तित्व, गरिमा र औचित्य बचाउनुपर्छ ।
लेखक नेकपा निकट अनेरास्ववियूका नेता हुन् ।