कृष्णउदाशी
मैले व्यक्तिगत रुपमा डम्बर नेपालीसँग आजसम्म सम्वाद गरेको छैन तर उनका सिर्जनासँग भरपुर सम्वाद गरेको छु । उनको सर्वाधिक चर्चित गीत “तर अन्तिम पल्ट भेट्न आऊ..” होस् या “तिम्रो पाउजु बजेर..” अथवा “कि यो जङ्गे जेलमा कि यो जङ्गे रेलमा..” नै किन नहोस्, घरिघरि डम्बर नेपाली कानमा, आँखामा हुँदै मस्तिष्कमा आइ पुग्छन् । यस्तै यस्तै टिप्पिकल शब्द र संगीतमा गीत गाएर उनी म जस्ता धेरैसँग लोकप्रिय सम्वाद गरिहन्छन् र गरिरहेका पनि छन् ।
अधिकांस उनले गाउने गीतका शब्द र संगीत उनका आफ्नै हुन्छन् । केही गीत उनले अरुका शब्दमा पनि गएका छन् । त्यही क्रममा उनले फेरि अर्को एउटा गीत नेपाली संगीत उद्योगलाई दिएका छन् “स्वीटर फाटेको..” यो गीत पनि उनको आफ्नै शब्द र संगीतमा रहेको छ । उनका गीतहरूको कुरा उठाउँदै गर्दा एउटा प्रशंग सम्झन्छु, म गीत गाउनुलाई सिर्जना नै मान्दिन थिएँ, शब्द र संगीत मात्रै सिर्जना हुन गायन होइन ठान्थेँ । गायक त संगीतकारले बनाएको बाटो पछ्याउने प्रस्तोता मात्रै हो भन्ने लाग्थ्यो । तर एकदिन यही विषयमा वौद्धिक व्यक्तित्व केशव राईसँग बहस भयो । उहाँले गायन पनि सिर्जना नै हो भन्ने पक्षमा र म होइन भन्ने पक्षमा बोल्यौँ तर कसरी गायन सिर्जना हो भन्ने बारेमा केशव सरले मलाई राम्ररी बुझाइदिनुभयो । त्यसदिन यता मेरो उक्त भ्रम सकियो । म पनि गायनभित्रको सिर्जना चिन्न थालेँ ।
https://www.youtube.com/watch?v=DGJQiorMr0c&feature=share&fbclid=IwAR15-iRKvY1AyadiP2686ZRtdEo_MD2GAdci6TRbxJEiCKFGA8t7TtT5Pa8
फाटेको स्वीटर गीत आइसकेपछि फेरि मैले डम्बर नेपालीको गायन सिर्जनालाई हेर्ने मौका पाएँ । उनले गाएका यो भन्दा पहिलाका गीतमा भएका गायन सिर्जनालाई पनि हेरेँ । मलाई डम्बर नेपालीको संघर्ष र लगावप्रति सम्मान जागेर आयो । निक्कै समयपछि आएको गीत स्वीटर फाटेकोलाई मज्जाले सुनेँ । पप फ्लेबरका गीत गाएर आफ्नो उचाइ निर्माण गरेका डम्बर नेपालीले यो पटक भने लोक फ्लेवरमा गीत गाएछन् । उनको यो अभ्यासको गायन सिर्जनाले कतिको लोकप्रियाता हासिल गर्छ त्यो हेर्न बाँकी नै छ तर उनको यो अभ्यासले पनि मेरो चै मन जित्यो ।
हुन त यो समय नेपाली गीत संगीतको संक्रमणकालीन समय हो । गायक र गीतको लोकप्रियता उसको गायकी, गीतको संगीत र शब्दको भावमा हुँदैन, युट्युबमा आएका भ्यूले निर्धारण गर्छ । कुनै पनि गायकको गीतको मूल्याङ्कन पनि उसको संगीत र शब्दमा हुँदैन, युट्युबको भ्यूको सङ्ख्याको आधारमा हुन्छ । तर यासले वास्तविक साधकहरूलाई मार पर्छ । डम्बर नेपालीको फालेको स्वीटरले युट्युवको भ्यू कति बटुल्छ त्यो त होरौँला तर उनको यो गीत साँच्चै राम्रो बनेको छ । गहिरो प्रेम छ, तर आफुसँग लगाउने लुगा, त्यसमा पनि प्रेमिकाले मलाई भेट्न आउँदा यही स्वीटर लगाएर आउनु है भनेको स्वीटर फाटेपछि प्रेमिलाई भेट्न जान नसकेको मनोविज्ञान नै गीतको प्लट हो, र यो सारै मर्म स्पर्सी छ । वर्षौँसम्म त्यही हीनतावोधको कारण प्रेमिकाले भेट्न बोलाउँदा समेत भेट्न सकेको छैन प्रेमीले । तर प्रेमिकाले उसको मनोविज्ञान बुझेर फेरि अर्को स्वीटर बनेर स्वयम् भेट्न गएको कथा कम मर्म स्पर्सी छैन गीतमा । अहिलेको कस्मेटिक समयमा यतिको धैर्यता कहाँ ?
गीतमा यतिको राम्रो चिन्तन् घुसाएर यति छोटो समयभित्र सबै अटाउने खुबी केवल डम्बर नेपालीमा नै छ । यति सुन्दर गीतले सफलता हात पर्ने कुरा पक्का छ । डम्बर नेपालीलाई शुभकामना । यस्ता गीतहरू आइरहुन् । जय नेपाली गीत, जय नेपाली संगीत ।