काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा माउ पार्टी कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाको हावी देखिएको छ । बिहीबार कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, महासचिव मनोज वैद्य र महेश्वरी कुँवरलाई तोकेको छ ।
सभापति देउवाले नेविसंघको तदर्थ समिति गठन गर्दै अध्यक्षमा ढुंगाना, महासचिवमा वैद्य र कुँवरलाई नियुक्त गरेका हुन् । आगामी ६ महिनाभित्र नेविसंघको १२औं महाधिवेशन गर्न तदर्थ समितिलाई म्यान्डेट दिइएको छ ।
बाँकी पदाधिकारी र सदस्यहरु चाँडै नियुक्त गर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेविसंघ पदाधिकारी ल्याइएका तीन जना भने सभापति देउवा र उनकी पत्नी आरजुले चाहेकै व्यक्ति परेका छन् ।
सभापति देउवाको चाहअनुसार नै राजीवलाई अध्यक्षको जिम्मेवारी दिइएको हो भने महासचिवमा पनि देउवा र आरजुकै इच्छामा वैद्य र कुँवरलाई ल्याइएको हो । यसअघि देउवा समूहबाट महामन्त्रीमा कुँवर र शुभराम बस्नेतको नाम चर्चामा थियो ।
तर, आरजुको चाहनामा कुँवरलाई महामन्त्री बनाइएको हो । कुँवरलाई महामन्त्री बनाउन आरजुले देउवालाई दबाब दिएकी थिइन् । यस्तै देउवाकै समूहबाट मनोज वैद्य महामन्त्री बनेका हुन् ।
यसअघि नेता प्रकाशमान सिंहको समूहमा रहेका वैद्यले टिम परिवर्तन गरेर देउवा समूहमा गएका थिए । प्यानल परिवर्तन गरेका वैद्यले महामन्त्रीको जिम्मेवारी पाएका हुन् ।
यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट महामन्त्रीमा मोती भण्डारी र दीपक भट्टराईको नाम चर्चामा थियो । पार्टीका महामन्त्री डा.शशांक कोइराला भने उर्मिला थपलियालाई नेविसंघको महामन्त्री बनाउन चाहेका थिए ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेविसंघ महामन्त्रीमा निखिलेस मिश्रलाई अगाडि सारेका थिए भने कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा वलदेव तिमिल्सिनासहितका नेताको नाम चर्चामा थियो ।
तर, यी सबै नामलाई हटाएर देउवा र आरजुकै चाहनाअनुसार नेविसंघ नेतृत्वमा तीन जना पुगेका हुन् । अब बाँकी पदाधिकारी र सदस्यमा पनि नेताहरु आ–आफूनिकट नेताहरुलाई ल्याउन कसरत गरिरहेका छन् ।