काठमाडौं । नेपाली काँग्रेसको वर्तमान नेतृत्वमा रहेका प्रभावशाली नेतामा नै यतिबेला पार्टी विधानलाई आफूअनुकूल परिभाषा गर्ने अचम्मको रोग देखा परेको छ । दलमा विधान र विधिअनुकूल नेतृत्वले निर्णय लिनुपर्ने आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र पछिल्लो समय पौडेलकै धारमा उभिन पुगेका कृष्णप्रसाद सिटौलाको व्यवहारले दललाई विधान र विधिभन्दा पनि नेताको स्वार्थअनुकूल सञ्चालन गर्ने परिपाटीलाई संस्थागत गर्दै जाने अभ्यास थालेको भन्ने देखाउन थालिएको छ । गत भदौदेखि नै विवादित बन्दै आएको काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी नेविसंघको तदर्थ समिति गठनमा त्यस्तै देखियो ।
संघको विधानले नेतृत्वमा आउनेको उमेर हदबन्दी ३२ वर्ष तोकेको छ । नेतृत्वसँग विमति राख्दै आएका पौडेल र सिटौला समूहले समेत विगतमा नेविसंघको नेतृत्व चयन गरिँदा विधानअनुकूल नै हुनुपर्ने बताउँदै आएका थिए र यसै विषयमा पार्टी सभापति शेरबहादुर देउवा र नेताद्वयबीच दरारसमेत सिर्जना भएको थियो । यस्तै देउवाले दलका विभागको संख्या २८ बाट बढाएर ४७ पु¥याउने काँग्रेसको पुस ११ गतेको निर्णयका समेत कट्टर आलोचक पौडेल यतिबेला आफूलाई देउवाले टपरीमा भाग पन्साइदिएपछि सन्तुष्ट बनेका छन् । विगतमा विधान मिचिएको, दललाई विधिसम्मत ढंगले नचलाई एकलौटी गर्न खोजेको भन्दै देउवाविरुद्ध आक्रामक देखिएका पौडेलले यही झोंकमा काठमाडौमा दुई÷दुईपटक काँग्रेस दलका जिल्ला सभापतिको जुलुस नै निकाले । यतिले पनि देउवा गल्ने छाँट नेदेखेका पौडल र उनको समूहले केन्द्रीय समितिका पाँचवटा बैठक नै बहिष्कार गरेको थियो । तर पछिल्लो समयमा देउवाले नेविसंघ र विभागमा आफ्नो भाग छुट्याइदिएपछि हिजो मिचिएको विधानलाई यतिबेला पौडेलले सही देख्न थालेका छन् ।
गत माघ १३ गते सोमवार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले गत पुस ११ गते गरेका निर्णय सच्याउने निर्णय गरेको छ । सो बैठकका लागि माघ १० गते शुक्रवार शीर्ष नेताबीचको सहमतिअनुसार एजेण्डा तय गरिएको थियो । गत मंसिर २६ गतेदेखि केन्द्रीय समितिमा अनुपस्थित रहँदै आएको पौडेल र सिटौला समूह पुस ११ गतेको केन्द्रीय समिति बैठकमा देउवाले बहुमतका आधारमा महाधिवेशनको मितिलगायतका विषयमा निर्णय लिएलगत्तै दुवै पक्षबीच झण्डै संवादहीन स्थिति सिर्जना भएको थियो । पछिल्लो समय दोस्रो पुस्ताका नेताको प्रयासले दुवै पक्षबीच संवादको स्थिति तयार भई गत माघ १० गते दुवै पक्षबीचको सहमतिका आधारमा १३ गते काँग्रेसको बैठक राखी सहमतिकै आधारमा निर्णय लिने तय भएअनुसार बसेको उक्त बैठकसमेत विवादमुक्त हुन सकेन । विगतमा दलमा विधान र विधिको अनुशरण नभएको भन्दै सभापतिको आलोचना गर्दै आएका पौडेल र अर्का नेता सिटौला आफैं पनि पछिल्लो समय विधान मिच्न लालायित देखिएका थिए ।
भ्रातृसंस्था नेविसंघको तदर्थ समिति गठन गर्दा त्यसको ६० प्रतिशत हिस्सा संयुक्त रूपमा पौडैल र सिटौला समूहलाई दिने संस्थापन पक्षको प्रस्तावलाई दलको आन्तरिक शुद्धीकरणमा लागेका यी दुवै नेताले सहर्ष स्वीकार गर्दा त्यहाँ ठाडै आफैंले बनाएको नेविसंघको विधान मिचिएको भेउ पाएनन् भन्दा पत्याउन मुस्किल हुन्छ । गत वर्ष आफैं उपस्थित काँग्रेस केन्द्रीय समितिले नै पारित गरेको नेविसंघ विधानमा अबदेखि ३२ वर्षे उमेरहद लागू गर्ने उल्लेख थियो । नेविसंघमा एक निर्वाचित र एक मनोनीत गरी दुईजनामात्रै महामन्त्री बनाउन मिल्ने वैध व्यवस्था छ । तर गत शुक्रवार देउवानिवासमा भएको छलफलमा एक सय २७ सदस्यीय नेविसंघ बनाउने र त्यसमा उपाध्यक्ष, महामन्त्री र सहमहामन्त्री विधानले कल्पना गरेभन्दा धेरै राख्ने सहमतिमा यी दुवै नेताले समर्थन जनाए । यो समाचारस्रोतले बतायो– देउवा, पौडेल र सिटौलाबीचको भागबन्डा मिलाउनकै लागि नेविसंघमा नौजना महामन्त्री राखिएको हो । देउवाले नेविसंघका पूर्व उपसभापति तथा सुनसरीका विद्यार्थी नेता राजीव ढुंगानालाई नेविसंघको सभापतिका लागि गरेको प्रस्तावमा भाग पाएपछि सहमति जुटेको छ । जबकि यसअघि यिनै ढुंगानालाई लिएर पौडेलहरुले दलमा विवाद झिकेका थिए । तर पछिल्लो सहमतिअनुसार देउवाका पोल्टामा नेविसंघका सभापतिसहित तीन महामन्त्री पर्ने भएका छन् ।
पछिल्लो सहमतिमा बन्न लागेको नेविसंघ तदर्थ समितिमा रहने नौ महामन्त्रीमध्ये देउवाका तीनजना, वरिष्ठ नेता पौडेलबाट तीनजना, सिटौलाका दुई र उपसभापति विजय गच्छदारको भागमा एकजना समेटिने छन् । यसरी झट्ट हेर्दा नेविसंघको यत्रो जम्बो तदर्थ समिति नेतालाई भाग पन्साउनकै लागि बनाइएको स्पष्ट छ । हिजोसम्म विधान मिच्न नपाइने भन्दै खाएका नेता नै यतिबेला विगतको धारणा परिवर्तन भई, स्वार्थ पूरा हुन्छ भने विधान मिच्दैमा केही नहुने धारमा उभिन पुगेका छन् ।
नेविसंघको तदर्थ समिति भागबण्डामा गरिएलगत्तै गठित तदर्थ समिति नै विधानविपरीत भएको भन्दै पार्टी निर्णयलाई नेविसंघकै असन्तुष्ट पक्षले चुनौती दिएको छ । १३ गते सोमवार अपराह्न १ बजेका लागि डाकिएको बैठक विद्यार्थी नेताहरुकै विरोधका कारण साँझ ५ बजेमात्रै सुरु भएको थियो । नेविसंघका सम्बन्धमा पार्टी नेताबीच भागबण्डाका आधारमा भएको सहमतिका विरोधमा विघटित नेविसंघका निवर्तमान महासचिव कुन्दनराज काफ्ले र उनको समूहले असहमति जनाउँदै पार्टी मुख्यालयमा विरोध जनाएको थियो । विधानअनुसार नेविसंघको तदर्थ समिति गठन गर्नेे माग राखी पार्टी मुख्यालय सानेपामै रिले अनशनमा रहेका काफ्लेसहितका नेताले विरोध गरेलगत्तै देउवापक्षका विद्यार्थी नेताले काफ्ले समूहमाथि आक्रमण गरेपछि द्विपक्षीय भिडन्त नै भएको थियो । भिडन्तमा काफ्ले र अर्का प्रकाश पन्थलगायत नेता घाइते भएका छन् । विद्यार्थी नेताहरुबीचको यो भिडन्तकै कारण केन्द्रीय समितिको बैठकसमेत अवरुद्ध हुन पुगेको थियो ।
देउवा बैठकका लागि निर्धारित समय दिउसो १ बजे नै पार्टी कार्यालय प्रवेश गर्नासाथै विद्यार्थीको दुई समूहबीच झडप भएको थियो । दिउँसोको झडप केहीबेरमा शान्त भए पनि साँझ ५ बजे केन्द्रीय समितिको बैठक चल्नासाथ पुनः झडप भएको र यसपटकको झडपका कारण केन्द्रीय नेतामा समेत भागाभागको स्थिति सिर्जना भएकै कारण कार्यालय परिसरमा प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिइएको थियो । कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरीको उपस्थिति गराइएको थियो । नेतृत्वतहका नेतात्रयबीच नेविसंघको नेतृत्व तहमा गरिएको भागबण्डाप्रति असहमति जनाउँदै संघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमवारबाटै आमरण अनशन थालेका छन् । अनशनरत त्रिपाठीले ४१ दिनसम्मको रिले अनशनलाई समेत बेवास्ता गरेका केन्द्रीय नेताहरु भागबण्डामै केन्द्रित भए भन्दै नेतृत्वलाई आफ्नो माग सम्बोधन नगरे दलको झण्डा ओढाउन चेतावनी दिएका छन् ।
विद्यार्थीका दुई गुटको झडपका कारण केन्द्रीय समिति बैठकले प्रदेशसम्मको अधिवेशनको कार्यतालिकामात्रै हेरफेरको निर्णय गरेर अर्को बैठक आगामी माघ २३ गते बस्नेगरी स्थगन गरिएको छ । बैठकले क्रियाशील सदस्यतासम्बन्धी निलम्बन गरिएको धारा उल्टाउने र जिल्ला अधिवेशनका कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको छ । देउवानिवासमा शुक्रवार शीर्ष नेताबीचको छलफलमा महाधिवेशन तोकिएकै समयमा गर्ने र तल्ला तहको अधिवेशनको मिति केही हेरफेर गर्ने सहमति भएको छ । नेताहरुबीच देउवाको प्रस्तावमा बढाइएका विभागका विषयमा पनि सहमति जुटेको र आगामी बैठकमा तिनै विषयमा केन्द्रित रहेर निर्णय हुने काँग्रेस केन्द्रीय समितिका एक सदस्यले दिएका छन् ।सरलपत्रिकामा समाचार छ ।