काठमाडौं । डा. डिम्पल झाले प्रदेश नं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री पदबाट दिएको राजीनामाले स्पष्ट संकेत गरेको छ– अब सत्ता गठबन्धनमा नयाँ समीकरण बन्ने छ । प्रदेश २ मा संघीय समाजवादी दलका लालबाबु राउत मुख्यमन्त्री रहने छैनन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समर्थन फिर्ता लिनेबित्तिकै उनी अल्पमतमा परेर राजीनामा दिन बाध्य हुने बताईएको छ ।
राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गठबन्धन गरेर निर्वाचन लड्नुअघि नै प्रदेश २ को गठबन्धन परिवर्तनको संकेत मिलिसकेको थियो । यसमा राजेन्द्र महतोले निकै चलखेल गरेका थिए । महतो अध्यक्षमण्डलको नेता हुँदा सबै अवस्था परिवर्तन भयो । उनले शरत्सिंह भण्डारी, अनील झा र राजकिशोर यादवलाई समेत मिलाए । झाले अहिले महतोलाई निकै साथ दिएको देखिन्छ । उनकै निर्देशनमा डिम्पलले मंगलवार राज्यमन्त्रीबाट राजीनामा दिएकी हुन् । उनले प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको भनिए पनि अन्तरकथा बेग्लै छ । यो सबै प्रदेश २ को सत्ता ढाल्ने खेलअन्र्तगत भएको छ– जसमा महतो रणनीतिकार बनेका छन् । यो सबै उनले प्रधानमन्त्री केपी ओलीको डिजाइन अनुसार गरेको चर्चा छ ।
डिम्पल झाले उपभोक्ता समितिमार्फत गराएको कामकाजको रकम भुक्तानी नगरेको र उपभोक्ताको अत्यधिक दबाव भएको बताउँदै राजीनामा दिएको बताएकी छिन् । तर, यो घटना प्रदेश नं २ को सत्ता गठबन्धनमा परिवर्तन गर्ने गृहकार्यको बहस भइरहँदा भएको हो । झा राजपा अध्यक्षमण्डलका नेता अनील झाकी पत्नी हुन् । राजपाभित्र समाजवादी दलसँगको सत्ता गठबन्धन छाडेर नयाँ शिराबाट बढ्नुपर्ने पक्षधरमध्येका झा एक हुन् ।
राजपाले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ नेकपा दलसँग गठबन्धन गरेर दुई सिट सुरक्षित गरिसकेको छ । अब नेकपा र राजपाको सरकार बनाउन एउटा समूह सक्रिय भइसकेको छ । राजपालाई मुख्यमन्त्री दिएर सरकारमा सहभागी हुन नेकपा तयार देखिएको छ । यही गृहकार्य भइरहँदा झाको राजीनामाले निकै अर्थ राखेको छ । राजपाभित्र नेकपासँग गठबन्धन गर्ने पक्षमा महतो, भण्डारी, अनील र यादव हुन् । महन्थ ठाकुर र महेन्द्र राय यादव भने यसको विपक्षमा छन् । तर, महतो सरकारमा जान सक्रिय भएकाले राजपाभित्र पनि विवाद बढिसकेको छ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छनोटका क्रममा समेत यादव र ठाकुरले महतोसहितका चारजनाविरुद्ध आवाज उठाएका थिए । महतोमाथि साढे तीन करोडमा सांसदको टिकट बेचेको आरोप छ । वृषेशचन्द्र लालले ठाडै यो आरोप लगाएको समाचार सूत्रले दावी गरेको छ ।
राजपा र समाजवादीबीचको दूरी बढ्नुमा ओलीको डिजाइन देखिन्छ । ओली कुनै हालतमा मधेसवादीलाई फुटाउन खोजिरहेको कतिपयको बुझाई छ । मधेसमै समाजवादी र राजपा फुटेमा त्यसपछि ती दलमा पनि समस्या आउन सक्छ । राजपामा फुटको सम्भावना उत्तिकै छ । ओलीले महतोसँग राजपा सरकारमा गएमा दुईमन्त्रीको प्रस्ताव गरेको बुझिन्छ ।
सबाहेक उपसभामुख पनि राजपाले पाउने सम्भावना छ । सत्ताको प्याकेजमै सालाखाला सहमति बनिसकेकाले अब त्यसले सार्थकता पाउँदै छ । उपसभामुख निर्वाचनबाट यसले अझ स्पष्ट पाउने छ । राजपाका चारजना नेता सरकारमा जान खुट्टा उचालेर बसिरहेका छन् । सरकारमा महतो, भण्डारी, अनील र यादवमध्ये दुईजना जाने र बाँकी अध्यक्षमण्डलका नेताका निकटस्थलाई राज्यमन्त्री दिएर मिलाउनेबारे समेत भित्री योजना बनिसकेको छ । फागुन लाग्नेबित्तिकै योजनाले आकार पाउने बुझिएको छ ।