काठमाडौं । नेकपाको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले विवाद होइन सहमति खोज्दै पार्टीलाई एकजुट बनाउन सुझाएका छन् । उनीहरूले विभिन्न प्रकारका पूर्वाग्रह बिर्सेर एकताको सन्देश दिँदै पार्टीलाई गतिशील बनाउनुपर्ने आवश्यकता औंल्याए ।
नेकपाको चालू केन्द्रीय कमिटी बैठकमा विभिन्न १५ वटा समूह बनाएर छलफल भइरहेको छ । समूहमा भएको छलफलमा अधिकांश सदस्यले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा पनि सहमति खोज्न सुझाव दिएका छन् । सम्झौतालाई अधिकतम रूपमा राष्ट्रिय हित अनुकूल हुनेगरी पारित गर्नुपर्ने आवश्यकता उनीहरूले औंल्याए।
बुधबारदेखि सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले शुक्रबार पक्ष वा विपक्षमा उभिएर विवाद नगरी संविधानविपरीतका सर्त संशोधन गरी पारित गर्नुपर्ने सुझाव दिएका हुन् । नेतृत्वबाट नै गुट चलाउने काम गलत भएको भन्दै गुट उपगुटको अन्त्य हुनुपर्नेमा केन्द्रीय सदस्यले जोड दिएका छन् ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा छलफल गर्दै यस्तो सुझाव दिइएको हो । समूह ९ का टोली नेता भगवती चौधरीले एमसीसी सम्झौतामा नेताहरूले विवाद गर्नुभन्दा संविधानविपरीतका सर्त संशोधन गरेर पारित गर्नुपर्ने बताइन् ।
‘यसमा नेताहरूले विवाद गर्नु आवश्यक छैन्, संविधान र कानुनविपरीतका सर्त भए त्यसलाई संशोधन गरेर पारित गर्नुपर्छ’ चौधरीले भनिन्, ‘मुलुक र जनताको हितलाई ध्यान दिएर त्यसलाई अगाडि बढाउनुपर्छ ।’
सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले एमसीसी पारित गर्नुपर्ने बताए । राष्ट्र र जनताको हितलाई ध्यानमा राख्दै एमसीसीलाई अगाडि बढाउनुपर्ने सुझाव सुदूरपश्चिम प्रदेशबाट दिएको उनले बताए ।
यस्तै, सरकारको काम सकारात्मक रहेको उनले बताए । केही उपलब्धि भएको र सरकारका काम अझै प्रभावकारी बनाउँदै लानुपर्ने उनले बताए । काम गर्ने क्रममा केही कमीकमजोरी भए त्यसलाई सच्याउनुपर्ने सुझाव थापाले दिए ।
गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले एमसीसी सम्झौताबारे बृहत् छलफल भएको बताउँदै यसलाई पारित गर्नुपर्ने सुझाव दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । अहिलेको अवस्थालाई ध्यान दिँदै मुलुक र जनताको हितमा हुनेगरी पारित गर्नुपर्ने गण्डकी प्रदेशबाट सुझाव दिइएको छ ।
समूह नम्बर ६ का टोली नेता दिनानाथ शर्माले एमसीसी अध्ययन गरेर राष्ट्रिय हितअनुसार भए पारित गर्नुपर्ने बताए । राष्ट्रको हितविपरीतका कुनै सर्त भए त्यसलाई संशोधन गर्नुपर्ने सुझाव उनले दिए । ‘एमसीसी सम्झौताबारेमा विस्तृत अध्ययन आवश्यक छ’ शर्माले भने, ‘राष्ट्रिय हितअनुसार भए पारित गर्ने नभए नगर्ने सुझाव हाम्रो समूहबाट दियौं ।’
तीनै तहको सरकारको काम प्रभावकारी बनाउन पार्टीले एक कमिटी गठन गर्नुपर्ने सुझाव समूह ९ का टोली नेता चौधरीले दिएकी छन् । भ्रष्टाचार नियन्त्रण गर्न तथा अनुगम गरी प्रभावकारी काम गर्न पार्टीले एउटा छुटै कमिटी गठन गर्नुपर्ने उनले बताइन् ।
यस्तै, बैठकमा पार्टी विधान संशोधन गरी सात उपाध्यक्ष, सात सचिव, सातवटै प्रदेशमा अनिवार्य महिला सहइन्चार्जको व्यवस्थाका साथै पार्टी सचिवालयलाई समावेशी बनाउन महिला सदस्य थप्नुपर्ने सुझाव सदस्यले दिएका छन् ।
समूह नम्बर ६ का टोली नेता शर्माले पार्टीमा बहुपदीय प्रणाली तलो तहसम्मको कमिटीमा हुनुपर्ने सुझाव दिएको बताए । यस्तै, पार्टीमा दोहोरो जिम्मेवारी दिने व्यवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । सीमा विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने विषयमा छलफल भएको उनले बताए ।
टोली नम्बर २ का नेता कमला रोकाले एमसीसी सम्झौता पारित गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीले आधिकारिक धारणा बनाउन आवश्यक रहेको सुझाव दिइन् । पक्ष विपक्षमा विवाद गरेर पार्टी र मुलुकलाई फाइदा नहुने बताउँदै उनले यस विषयमा पार्टीले ठोस धारणा राख्नुपर्ने बताइन् ।
तीनै तहको सरकारको काम प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताइन् । पार्टीले सरकार चलाउनुपर्ने बताउँदै उनले एउटा छुट्टै सन्यत्र निर्माण गर्न आवश्यक रहेको बताइन् । यस्तै, पार्टीभित्रको गुट, उपगुटको अन्त्य गर्नुपर्ने, साना वामपन्थी पार्टीलाई समेत एकीकरण प्रक्रियामा ल्याउनुपर्ने सुझाव रोकाले दिएको बताइन् । नेकपा प्रदेश २ कमिटीले सरकारले आफ्नो कामकारबाही अझै प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ ।
‘केही मन्त्रीको काम कारबाही र व्यवहार हेर्दा हाम्रो सरकार हो कि होइन ? भन्ने दुविधा उत्पन्न हुने गरेको छ । जो पार्टीका लागि पक्कै सकारात्मक छैन । यस्ता शैली र कार्य सञ्चालन सच्याउन अनुरोध छ ।’ प्रदेश कमिटीको तर्फबाट प्रदेश अध्यक्ष प्रभु साहले प्रस्तुत गरेको रिर्पोटिङमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूले विकास निर्माणबारे सार्वजनिक ढंगले बोलेका कार्य समयमा पूरा नहुँदा नेतृत्वप्रतिको विश्वास र नैतिक आधार गुम्दै गएको पनि उल्लेख गरिएको छ ।
‘हामी अप्ठ्यारोमा परेका छौं । हाम्रो नेतृत्वप्रतिको विश्वास र नैतिक आधार गुम्दै गएको छ । यस्ता वचनबद्धता जो जसको पालामा भए पनि काम जसरी पूरा गर्ने संस्कार स्थापित गर्न जरुरी छ,’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै, अन्तरसंघर्षका नाममा पार्टीभित्र आपराधिक गतिविधि बढेको निष्कर्ष निकाल्दै प्रदेश २ कमिटीले आपराधिक गतिविधि गर्ने र गराउने पार्टीका नेतालाई कारबाही गर्नुपर्ने माग उठाएको छ ।
‘अन्तरसंघर्षको आवरणमा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्नेगरी भइरहेका आपराधिक गतिविधि गर्ने, गराउने नेताज्यूहरूलाई कारबाही होस् भन्ने आग्रह गर्छौं,’ प्रदेश अध्यक्ष साहले उल्लेख गरेका छन् ।
यसका साथै प्रदेशले सीमा क्षेत्रमा नेकपा पक्षधर जनता असुरक्षित भएको भन्दै त्यसको प्रोटेक्सन र सबै जनताको सुरक्षाको विशेष व्यवस्थाको पहल गर्न नेतृत्वलाई आग्रह गरिएको छ ।
प्रदेश २ को राजनीतिक अवस्था जटिल एवं चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यो प्रदेशमा कसैको स्पष्ट बहुमत नरहेकाले संविधानलाई अस्वीकार गर्ने पार्टीको नेतृत्वमा सरकार निर्माण भएको छ ।
प्रदेश २ मा खुला सिमाना र विदेशी चासो अत्यधिक रहेको, जनताको ठूलो हिस्सा भ्रमित एवं अन्योलग्रस्त र नेकपा पार्टी पनि व्यवस्थित हुन नसकेको विषय आफैंमा पनि चुनौतीपूर्ण रहेको उल्लेख गरिएको छ ।
बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले एमसीसी सम्झौता यथास्थिति अवस्थामै पारित गर्न नमिल्ने बताउँदै त्यसका सर्तको अध्ययन आवश्यक रहेको बताए । एमसीसीको आवश्यकता पार्टीले पुष्टि गरेर अगाडि बढाउनुपर्ने सुझाव बाग्मती प्रदेशबाट नेतृत्वलाई दिइएको उनले बताए । पार्टी र विज्ञसहितको एक टोली गठन गरेर त्यसको सुझावअनुसार एमसीसी सम्झौता अघि बढाउनुपर्ने उनले बताए ।
बाग्मती प्रदेशले जनताको काम, अपेक्षा, गुनासो सम्बोधन गर्न असफल भएको उनले बताए । केही काम भए पनि बाग्मती प्रदेशको काम अझै प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए ।
यस्तै, बैठकमा प्रवास समन्वय कमिटीका अध्यक्ष शिवराज चौलागार्इं, सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रह्लाद बुढाथोकी, उपत्यका समन्वय कमिटीका अध्यक्ष राजन भट्टराई र टोली नम्बर १३ का नेता लेखनाथ न्यौपानेले समेत विभिन्न विषयमा आएको सुझाव प्रस्तुत गरेका छन् । विभिन्न समूहमा रहेका केही केन्द्रीय सदस्यले लिखित रूपमै आफ्ना सुझाव पार्टी नेतृत्वलाई बुझाएका छन् । शनिबारको बैठकमा बाँकी रहेका अन्य समूहका टोली नेताले समूहमा आएका सुझाव राख्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।
(राजधानी दैनिकबाट)