काठमाडौं। ऐतिहासिक दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण भएको स्कुलको ठेक्का चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले लिएको हो ।
भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको थियो । नौ रोपनी क्षेत्रफलमा ८५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको विद्यालय भवनको पुनर्निर्माणको काम १९ महिनामा सकिएको हो । चार तले सो विद्यालयम भवनमा ४० कक्षा कोठा रहेका छन् । सो स्कुलको पुनर्निर्माणको शिलान्यास १८ साउन २०७५ मा गरिएको थियो । पुरानै ‘दरबार हाई स्कुल’ कै नमुना झल्किने गरी बनाइएको विद्यालय आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण कार्य सम्पन्न गरिएको छ ।
पुनर्निर्माणको काम सकिए पनि निर्माण कम्पनीले अनुगमन गरेर नेपाल सरकारलाई भने यसै महिनाको अन्तिम सातामा हस्तान्तरण गर्ने तयारी गरेको छ । पुनर्निर्माण सम्पन्न सकिएसँगै आँगन सफा गर्ने र झ्याल ढोका पुछ्नेलगायत काम भइरहेको छ । ती काम पनि अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको दाबी छ ।
महाभूकम्प २०७२ बाट क्षति पुगेको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) पुनर्निर्माण सम्पन्न भएसँगै अहिले चिटिक्क देखिएको छ । १९१० सालमा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो ।
हाल ती दुवै विद्यालयमा गरी तीन सय विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् । त्यहाँको पठनपाठन हाल वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर भइरहेको छ ।
(राजधानी दैनिकबाट)