सुशासनसँगै पूर्वाधार निर्माणमा ध्यान दिएका छौं खड्ग फागो मेयर, उर्लाबारी नगरपालिका, मोरङ उर्लाबारी नगरपालिकाभित्रको आन्तरिक विवादका कारण झन्डै ६ महिनाजति त विकास निर्माणका कामहरू ठप्पै भयो । अब विवाद समाधान भएको छ । अहिलेसम्म विकास खर्च खासै हुन सकेको छैन । अब द्रुत गतिमा काम हुन्छ । उर्लाबारीको मुख्य समस्या भनेको बक्राहा, मावालगायतका खोलाको कटान नै हो । हरेक वर्षको वर्षातमा खोलाले दुःख दिने गरेको छ । नगरपालिकाले खोलामा स्थायी तटबन्ध बाँधेर कटान रोक्ने काममा लागिरहेको छ । उर्लाबारीको मुख्य समस्या ढल निकास पनि हो । पूर्वमा मावा खोलादेखि पश्चिममा सुनझोडा खोलासम्म ड्रेन निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।
प्रदेश र संघीय सरकार यसमा सकारात्मक छन् । जनताको थुप्रै चाहना छन् । हामीसित सीमित स्रोत छ । आन्तरिक स्रोत पनि पर्याप्त छैन । तथापि सीमित स्रोत र साधनले जनताका चाहना र अपेक्षाहरूलाई क्रमैसँग पूरा गर्दै जाने योजनामा छौं हामी । जनताको पहिलो चाहना भनेको सडक नै हो । आफ्नो घर अगाडिको कच्ची सडक छ भने त्यसमा ग्राभेल होस्, ग्राभेल छ भने पक्की सडक होस् भन्ने चाहन्छन् जनता । स्वाभाविकै हो, विकासको पहिलो आधार भनेको सडक नै हो । यदि सडक राम्रो भइदियो भने त्यस क्षेत्रको कृषि उत्पादनलाई बजारसम्म पु-याउन सहज हुन्छ ।
व्यवसाय फस्टाउँछ । हामीले पनि सडक पूर्वाधारको विकासमा ध्यान दिएका छौं । हामी आइकन नगर क्षेत्रभित्रका धेरै सडकहरू कालोपत्रे भइसकेका छन् । नगरपालिकाका ग्रामीण क्षेत्रका मुख्य सडकलाई पनि कालोपत्रे गरिसकेका छौं । आफ्नो कार्यकालमा धेरैजसो सडक कालोपत्रे भइसक्नेछ । शिक्षा, स्वास्थ्य र कृषिलाई पनि हामीले उच्च प्राथमिकतामा राखेका छौं । नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा धेरै सुधार आइसकेको छ । सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको पाएका छौं । यतिबेला सडक पूर्वाधार निर्माण, सडक स्तरोन्नति, कृषिको व्यवसायीकरण, पर्यटन पवद्र्धन, वातावरण संरक्षण, सिमसार प्रवद्र्धन, रोजगारी, आयआर्जन, सामाजिक सुरक्षा, संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा प्रभावकारिता, सुशासन, सूचना प्रविधिलगायतमा मुख्य गरी नगरपालिकाको ध्यान केन्द्रित भएको छ ।
जनताको काममा ढिलासुस्ती कर्मचारीलाई कारबाही गरेका छौं । जनतालाई दुःख दिने, घुस खाने कर्मचारीलाई हामीले नगरपालिकाबाट हटाएका छौं । कतिपय प्रमुख प्रशासकीय अधिकृतहरूले स्वभाव परिवर्तन नगर्दा महिना दिनमै बिदा भएर गएका छन् । जनताको करबाट तलब खाने अनि जनताको काम गर्न आलटाल गर्ने, जनतालाई झुलाउने, दुःख दिने काम हुँदैन उर्लाबारीमा । मैले कर्मचारीहरूलाई कानुनले तोकेअनुसार काम गर्न निर्देशन दिएको छु । हुने काममा पनि कर्मचारीले जनतालाई धेरै दुःख दिएकाले मैले त्यस्ता कर्मचारीलाई सचेत गराएको छु ।
स्थानीय तहको काम गराइबाट जनता निराश छैनन् । एकैपटक जनताका अपेक्षा पूरा हुन सक्दैन । हरेक वर्षको बजेटबाट जनताले मागहरू सम्बोधन हुँदै जान्छन् । बितेको कार्यकाललाई फर्केर हेर्दा म सन्तुष्ट नै छु ।