काठमाडौं, माघ १९ । सत्तारुढ नेकपाको केन्द्रीय कमिटिले बैठकले सिमानाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानको प्रशंसा गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा सरकारले चालेका कदमको समर्थन गर्दै कुटनीति वार्ताको माध्यमबाट चाडै समाधान गर्न आग्रह गरेको छ ।
केन्द्रीय कमिटिको दोस्रो बैठकले समसामयिक प्रस्ताव पारित गर्दै सिमानाका विषयमा सरकारले चालेको कदमको स्वागत गरेको हो । प्रस्तावको ८ नम्वरमा भनिएको छ,‘यो बैठक २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ ।
ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एंव सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ र नेपाल र भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समस्याको समाधान गर्ने पूर्व सहमति विपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ’, पारित प्रस्तावमा अगाडी भनिएको छ,‘नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरु सही रहेको कुरामा जोड दिदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ । राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै यस समस्याको समाधान कुटनीतिक एवम् राजनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आव्हान गर्दछ ।’
बैठकले सरकारी कदमलाई स्वागत गर्दै भारतले नेपाली भूमिमा नेपालीले बनाउन लागेका संरचना रोक्ने गरेको भन्दै आवश्यक कदम चाल्न सरकारको ध्यानकर्षण गराएको छ । ‘विभिन्न स्थानमा सीमाना र दसजगा मिचिएको र नेपालले आफ्नो भूभागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ’, प्रस्तावमा भनिएको छ ।