काठमाडौं, १९ माघ। नेपाली काँग्रेसभित्र चर्किएको विवाद अन्ततः समाधानतर्फ उन्मुख भएको छ । संस्थापन र संस्थापन इतरपक्षबीच महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेविसंघ र तरुण दलको विषयलाई लिएर काँग्रेसभित्र विवाद चर्किएको थियो ।
साँढे दुई महिना लामो विवाद मिलाउन संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र संस्थापन इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी दिइएको थियो ।
गत माघ १० गते काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुस ११ को एकलौटी निर्णयहरु सच्याउन तयार रहेपछि देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको वार्ताले सकारात्मक मोड लिएको काँग्रेस स्रोतले बताएको छ ।
शीर्ष नेताहरुले तल्लो तहका अधिवेशनहरु अघि सार्ने, १४औँ महाधिवेशन २०७७ फागुन ७–१० मा गर्ने, नेविसंघको कार्यसमिति एक सय २७ जनाको हुने व्यवस्था गरेको छ ।
‘साँप पनि मर्ने, लठ्ठी पनि नभाँचिने’ हिसाबले गरिएको सहमतिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना देउवाले लिने, दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री पौडेल र दुई उपाध्यक्ष, दुई महामन्त्री, दुई सहमहामन्त्री सिटौला निकटका रहने भएका छन्, नयाँ विमर्शमा उल्लेख छ ।
भागवण्डामा उपसभापति विजयकुमार गच्छदारले एक महामन्त्री पाएको काँग्रेस स्रोतले बताएको छ । यसरी सबै पक्षलाई भागवण्डा गरी मिलाइएको विवादले १४ औँ महाधिवेशनका लागि आ–आफ्नो शक्ति प्रदर्शन गर्ने बाटो खुलेको छ । संस्थापन इतरपक्ष एक नभए अझै पनि देउवाकै पल्ला भारी हुने जानकारहरुले बताएका छन् ।