• काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी ३ फागुनमा दुई वर्ष पूरा गर्दै छ । ओली नेतृत्वको सरकार गत ३ फागुन २०७४ मा गठन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई वर्षको अवधिमा सरकारले असाधारण उपलब्धि हासिल गरेको बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि ओली नेतृत्वमा सरकार बनेपछिका झन्डै दुई वर्षको अवधिको समीक्षा गर्दै सो अवधिमा उल्लेखनीय प्रगति हासिल भएको जनाएको छ । भौतिक पूर्वाधार निर्माणदेखि सुशासनको क्षेत्रमा समेत उल्लेख्य सफलता हासिल भएको प्रधानमन्त्री कार्यालयको दाबी छ । साथै सर्वसाधारणले विस्तारै विकासको अनुभूति गर्दै गइरहेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् ।

    प्रधानमन्त्री कार्यालयका अनुसार वर्तमान सरकार बनेयता राजस्व चुहावट कसुरमा कर्मचारीसहित ४ सय ८९ जनाविरुद्ध ९४ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । विनिमय अपचलन तथा अवैध हुन्डी कारोबार कसुरमा ३ सय ६ जनाविरुद्ध ४ अर्ब ८६ करोड ५ लाख रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको छ ।
    यसैगरी, सो अवधिमा नक्कली तथा झुटा बिल जारी गर्ने विभिन्न फार्मलाई ६ अर्ब ७५ करोडभन्दा बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    –राजस्व चुहावट कसुरमा ४ सय ८९ जनाविरुद्ध मुद्दा
    – ९४ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको बिगो दाबी
    – झुटा बिल जारी गर्ने विभिन्न फार्मलाई ६ अर्ब ७५ करोडको बढीको बिगो
    –उच्च आर्थिक वृद्धिदर हासिल गर्ने १० अग्रणी मुलुकमध्येमा नेपाल
    – वैदेशिक लगानीको प्रतिबद्धता १३२.५ प्रतिशतले वृद्धि
    – निर्यात २७ प्रतिशतले वृद्धि

    – कृषि, औद्योगिक र सेवा क्षेत्रको उत्पादनमा वृद्धि
    –२२ लाख श्रम दिनबराबरको रोजगारी सिर्जना
    –३ हजार ६ सय ३६ किमि सडक कालोपत्रे सम्पन्न
    –८ लाख ५२ हजार घरधुरीमा विद्युत् सेवाको पहुँच
    – विद्युत् चुहावट २२.९ प्रतिशतबाट घटाएर १५.५ प्रतिशतमा
    –६९ हजार ४ सय हेक्टर जमिनमा सिँचाइ
    –१ सय २५ वटा तुइन विस्थापन
    –श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि

    प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्र स्थापनापछिको एक दशकमा लगातार चार प्रतिशत मात्रै आर्थिक वृद्धि हुँदै आएकामा हाल ६.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि रहेको छ । प्रधानमन्त्री कार्यालयले नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गर्ने संसारका दश अग्रणी मुलुकमा रहेको जनाएको छ । डिसेम्बर २०१९ मा बेलायतबाट प्रकाशित द इकोनोमिस्ट पत्रिकाले नेपाललाई उच्च आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रूपमा समावेश गरेको प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको हो ।

    प्रधानमन्त्री कार्यालयका अनुसार यस अवधिमा वैदेशिक लगानीको प्रतिबद्धता बढेको छ । लगानी सम्मेलनमार्फत प्रतिबद्धता बढाउन सफल भएको वैदेशिक लगानीको प्रतिबद्धता १३२.५ प्रतिशतले बढेको दाबी प्रधानमन्त्री कार्यालयको छ । सबै स्थानीय तहमा लगानी ग्राम तथा औद्योगिक ग्रामको स्थापना गर्ने कार्यक्रम रहेकामा हाल सम्म ३२ वटा औद्योगिक ग्राम स्थापना भएको छ ।

    सरकारको दुई वर्षे समीक्षा

    प्रधानमन्त्री कार्यालयका अनुसार यस अवधिमा अन्तर्राष्ट्रिय व्यापार घाटामा कमी आएको छ । पछिल्लो एक दशकमा वार्षिक औसत २०.४ प्रतिशतले बढेको व्यापार घाटा चालू आर्थिक वर्षका ५ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले घटेको प्रधानमन्त्री कार्यालयको दाबी छ । कार्यालयका अनुसार यस अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ भने निर्यात २७ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार भुक्तानी सन्तुलन ६७ अर्ब ४० करोड घाटा रहेकामा यस वर्ष २७ अर्ब २९ करोडले बचतको स्थितिमा छ ।

    यसैगरी, उत्पादन र उत्पादकत्वमा वृद्धि भएको छ । आव २०७५÷७६ मा कृषि उत्पादन ५ प्रतिशत, औद्योगिक उत्पादन ८.९ प्रतिशत र सेवा क्षेत्रको उत्पादन ७.३ प्रतिशतले वृद्धि भएको छ । आव २०७४÷७५ को तु्लनामा धान ८.९, गहुँ ४.५, मकै ३.५, तरकारी १.९, आलु ४.३ र उखुको उत्पादन ११ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार यस अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत साना–ठूला आयोजना तथा कार्यक्रमबाट करिब २२ लाख श्रम दिनबराबरको रोजगारी सिर्जना भएको छ ।

    पूर्वाधारमा असाधारण कार्य

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएयता पूर्वाधार निर्माणमा असाधारण कामहरू भएको बताएका छन् । उनका अनुसार सरकार गठन भएपछि प्रतिदिन करिब ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण भइरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार केही वर्षअगाडि वर्षभरिमा १० किलोमिटर मात्र सडक कालोपत्रे भएको थियो । तर, सरकार गठन भएको दुई वर्षको अवधिमा मात्रै ३ हजार ६ सय ३६ किमि सडक कालोपत्रे भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

    यसैगरी गत दुुई वर्षको अवधिमा मात्रै ३ सय २५ वटा सडक पुल निर्माण भएका छन् । चालू आवको ५ महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण भएका छन् । यसैगरी, यस अवधिमा पूर्व पश्चिम राजमार्गलाई उच्च गति तथा क्षमताको बनाउन ४ तथा ६ लेनको राजमार्ग स्तरोन्नति गर्ने कार्य प्रारम्भ भएको छ ।

    प्रधानमन्त्री कार्यालयका अनुसार यस आवमा भारतको जयनगर देखि नेपालको विजलपुरसम्म नेपालको आफ्नै रेल सञ्चालन हुने गरी काम भइरहेको छ । यस अवधिमा कुल जनसंख्याको ८८ प्रतिशतमा विद्युत् सेवा पुगेको छ । दुई वर्षको अवधिमा थप ८ लाख ५२ हजार घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ ।

    यसैगरी विद्युत् चुहावट २२.९ प्रतिशत रहेकामा त्यसलाई घटाएर १५.५ प्रतिशतमा झारिएको छ । २०७५÷७६ को अन्त्यसँगै ६९ हजार ४ सय हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार विगत दुई वर्षको अवधिमा ५ वटा आन्तरिक विमानस्थलअन्तर्गत भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर र धनगढीका धावनमार्ग कालोपत्रे गरिनुका साथै धेरैजसोमा रात्रीकालीन उडानको समेत व्यवस्था मिलाइएको छ । यस अवधिमा तराई–मधेसका २० जिल्लामा ४ सय ११ किलोमिटर ढल निर्माण गरिएको छ ।

    यसैगरी, जनता आवास कार्यक्रमअन्तर्गत ८ हजार आवास इकाइ निर्माण गरिएका छन् । त्यस्तै, तुइन विस्थापन कार्यक्रमअन्तर्गत सोही अवधिमा १ सय २५ वटा तुइन र झोलुंगे पुल विस्थापित गरिएको छ । प्रधामन्त्री कार्यालयका अनुसार भूकम्पबाट अति प्रभावित १४ जिल्लाका क्षति भएका ७ सय ५३ पुराताŒिवक सम्पदामध्ये पहिला ८० वटाको पुनर्निर्माण भएकामा हाल ३ सय ८७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । यसैगरी सुरक्षा निकायका ३ सय ८३ भवनमध्ये ४४ को मात्रै काम सम्पन्न भएकामा अहिले १ सय ९४ को काम सम्पन्न भएको छ ।

    धरहराको पुनर्निर्माण कार्यअन्तर्गत छैटौं तला ढलान भइसकेको जनाइएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यसै अवधिमा नेपाली वैज्ञानिकद्वारा विकास गरिएको न्यायो स्याटलाइट अन्तरिक्षमा छाडिएको छ । कार्यायका अनुसार यसै अवधिमा स्वास्थ्य बिमा कार्यक्रम ४९ जिल्लाका ४ सय ८० स्थानीय तहमा विस्तार गरेर २५ लाख नागरिकको स्वास्थ्य बिमा गरिएको छ भने त्रिवि शिक्षण अस्पतालमा लिभर ट्रान्सप्लान्टसुरु गरिएको छ ।
    यसैगरी श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
    (राजधानी दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…