• काठमाडौं, २० माघ । सत्ता र शक्ति केन्द्रित पुष्पकमल दाहाल प्रचण्ड, वामदेव गौतमको इगो र माधवकुमार नेपालको अराजनीतिक चिन्तनका कारण नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी संगठनका सबै तहमा अल्पतमा परेका छन् ।

    नेकपाका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठको समन्वयमा भएको भैंसेपार्टी बैठकपछि अध्यक्ष ओली अल्पमतमा परेका हुन् । आ–आफ्नो धारमा हिँडेका प्रचण्ड, माधव र वामदेवहरुको अदृश्य एकीकरण हुँदै गर्दा भारतीय नाकाबन्दीविरुद्ध शक्तिशालीझै उभिएकमा अध्यक्ष ओलीलाई अर्को बैठकसम्ममा एक पद छाड्न बाध्य पार्ने वातावरण तयार भएको छ ।

    पार्टी बैठकको उद्घाटन गर्दै एमसीसी संसद्बाट पास हुने जानकारी दिएका ओलीपछि राजनीतिक प्रतिवेदन पेस गरेका प्रचण्डले एमसीसीबारे एक शब्द प्रतिवेदनमा छिर्न दिएका छैनन् । कांग्रेस, एमालेका नेताहरु को कुन शक्तिसँग नजिक रहेका थिए भन्ने कुरा पारदर्शी भए पनि माओवादीबाट एमाले भित्रिएका नेताहरुबारे नेकपा नै अलमलमा परेको छ ।

    त्यसैले विभिन्न शक्ति केन्द्रमार्फत परिचालित माओवादी लबीका नेताहरुले विदेशी एजेन्टको काम गरिरहेकाले नेकपा ध्वस्त हुँदै गएको छ । पार्टी एकीकरण भएको १९ महिनापछि सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक गत बुधबारदेखि राष्ट्रिय सभा गृह काठमाडौंमा सुरु भएको थियो ।

    बैठकले पार्टीको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० मा सम्पन्न गर्ने निर्णय गरेको छ । साथै, २०७७ भदौदेखि स्थानीय तहको अधिवेशन आरम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ । तर, अब हुने महाधिवेशन कति औं हो ? भन्ने प्रश्नको छिनोफानो हुन भने बाँकी नै छ ।

    दुई पार्टी एकीकरण भएपछि पहिलो पटक केन्द्रीय समितिको बैठक आयोजना गरेको नेकपाभित्र अहिले पनि पार्टी एकीकरण भौतिक रुपमा भए पनि आत्मीय रुपमा हुन सकेको छैन ।

    पार्टी केन्द्रीय कमिटी बैठकले झलनाथ खनालको नेतृत्वमा एमसीसीबारे कार्यदल बनाएकै दिन हिजो आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई एमसीसीबारे जानकारी दिन र संसदबाट पास गर्न ह्वीप जारी गर्न रात्रिभोजको व्यवस्था मिलाएका छन् ।

    कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् । नेकपामा तेस्रो महाधिवेशनपछि विभाजन र फुट सुरु भएको हो । २०३१ सालमा एउटा तप्काले चौथो महाधिवेशन गरी मोहनविक्रम सिंहलाई महामन्त्री बनायो भने अरु तप्काले विरोध गरे । त्यसयता नेकपा करिब ७० टुक्रामा विभाजित भएको थियो । यतिबेला करिब करिब एउटै पार्टी बनेको छ ।

    त्यसैले अब हुने महाधिवेशनलाई एकीकरणको मर्मअनुरुप चौथो भन्ने कि ? तत्कालीन एमालेले नवौं महाधिवेशन गरिसकेकाले दशौं भन्ने ? यो प्रश्न ज्यादै जटिल बनेको नेकपा स्रोतले जनाएको छ । यसैगरी, प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले सातौं महाधिवेशन सम्पन्न गरिसकेको छ ।

    समाचार स्रोतका अनुसार आगामी महाधिवेशनलाई कुनै पनि हालतमा दशौं भन्नुपर्ने जोडबल तत्कालीन एमालेको छ तर तत्कालीन माओवादी यसमा तयार छैन । त्यसैकारण आगामी महाधिवेशन कति औं हो ? भन्ने प्रश्नको छिनोफानो केन्द्रीय समितिको जारी बैठकले गर्न नसक्ने अवस्था सिर्जना भएको हो ।

    विधानतः नेकपाको केन्द्रीय कमिटी सबैभन्दा शक्तिशाली हो तर व्यवहारमा भने बुख्याँचा जस्तै बनाइएको गुनासो सर्वत्र गरिएको छ । पार्टी एकीकरण भएको १९ महिनापछि मात्रै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । केन्द्रीय कमिटी ४४१ सदस्यीय रहेका कारण हतपत्ति बैठक बस्न सक्ने अवस्था छैन ।

    राष्ट्रिय सभा गृहको मुख्य हलले समेत नपुगेर पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडामा समेत गरी तीन ठाउँमा केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकको व्यवस्थापकीय पक्ष अत्यन्त फितलो भएको भन्दै केन्द्रीय सदस्यहरुले शीर्ष नेताहरुको आलोचना गरेका छन् ।

    साना मसिना तथा व्यक्तिगत इगोका मुद्दाहरुले केन्द्रीय समितिको बैठकमा प्रवेश पाए । के जुनियर को सिनियर भन्ने मुद्दालाई लिएर गत शुक्रबार रामचन्द्र झा र रघुवीर महासेठबीच झण्डै हात हालाहाल भएको थियो । रामचन्द्रको कठालो समात्न पुगे रघुवीर तत्कालीन नेकपाको नवौं महाधिवेशनमा रघुवीर महासेठ केन्द्रीय सदस्य पदमा पराजित भएका थिए । तर, उनलाई पार्टी एकीकरणपछि ओलीले स्थायी कमिटीको सदस्य बनाए ।

    बैठकमा रामचन्द्र झाले यो कुरा उठाउना साथ रघुवीर महासेठ अपशब्द बोल्दै कठालो समात्न पुगेका थिए । पार्टीले विधान मिचेर कनिष्ट व्यक्तिलाई स्थायी समिति बनाएको विषयलाई समूहको सुझावमा समेट्न नेता रामचन्द्र झाले आग्रह गरेपछि महासेठ कठालो समात्न पुगेका हुन् ।

    यसरी चलेको थियो बैठक !
    बैठकमा अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुति गरेका छन् । महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । सात वटै प्रदेशका अध्यक्षहरुले संगठनात्मक कामको रिपोर्टिङ गरेका छन् ।

    राजनीतिक प्रतिवेदनमा साउनको दोस्रो हप्ताभित्र सबै जिल्ला कमिटीले जिल्लाको अभियानको समीक्षा गर्न प्रस्ताव गरिएको छ भने साउन महिनाको तेस्रो साताभित्र प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउने प्रस्ताव प्रतिवेदनमा छ, तरुणमा उल्लेख छ ।

    अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव पौडेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमाथि ४४१ जनाबीच छलफल अघि बढाउन भद्रगोल हुने देखिएपछि १५ वटा समूह बनाइएको थियो । समूह नं. १ देखि ८ सम्मको छलफल राष्ट्रिय सभा गृहमा, ९ देखि ११ नम्बर समूहको छलफल तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा र १२ देखि १५ नम्बर समूह पार्टी कार्यालय धुम्बाराहीमा चलेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…