झापा– झापा बिर्तामोडकी एक जना महिलाले यौन शोषण आरोप लगाएपछि नेपाल प्रहरीका एसएसपी सौरभ राणाको जागिर धरापमा परेको छ । महिलाको आरोपयुक्त उजुरीपछि राणा निलम्वनमा परेका छन् । १५ वर्षदेखि आफूलाई यौन शोषण गरेको ती महिलाको दावी छ । यद्यपि यत्रोवर्ष उनले किन उजुरी गरिनन् भन्ने विषयमा पनि अनेक अड्कलबाजी गरिएका छन् । संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख एसएसपी राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार उजुरी दर्ता भएसँगै शुक्रबार गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी विनोद शर्माको अनुसार उजुरी दर्ता गरेर महिलाको मेडिकलसमेत जाँच गराइएको छ । उजुरीको आधारमा घटनास्थल इटहरीमा मुचुल्कासमेत उठाइसकेको शर्माले बताए । महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार स्वास्थ्य परीक्षण गरिएको थियो । १५ वर्षदेखि यौन शोषण गरेको आरोप उजुरी दर्तापछि अदालतबाट अनुमति लिएर राणालाई पक्राउ गर्ने तयारी भइरहेको डिएसपी शर्माले जानकारी दिए । शर्माका अनुसार महिलाले उजुरीमा १५ वर्षदेखि यौन शोषण गरेको आरोप लगाएकी छिन् । एसएसपी राणा र पीडित भनिएकी महिलाबीचको सम्बन्ध भने पुरानै हो । ती महिला हाल झापाको बिर्तामोड बस्दै आएकी छिन् । झापामा डिएसपी हुँदादेखि राणा र ती महिलाबीच चिनजान भएको बताइएको छ ।