• काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मनाङमर्स्याङ्दीको अपराजित यात्रालाई दसौं चरणमा आएर सोमबार च्यासल युवा क्लबले पूर्णविराम लगाएको छ । मनाङको पहिलो पराजयपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा विभागीय टोली त्रिभुवन आर्मी र मछिन्द्र बलियो भएका छन् ।

    च्यासल र मनाङ मर्स्याङ्दीका खेलाडी सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भिड्दै ।

    एन्फा कम्प्लेक्स, सातदोबाटोमा च्यासलविरुद्ध २–० ले पराजित भएपछि मनाङ शीर्ष स्थानमा रहेको आर्मीसँग चार अंक पछाडि पर्‍यो । यसअघिका नौ खेलमा मनाङले ५ जित र ४ बराबरी नतिजा निकालेको थियो ।

     

    मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले हारपछि उपाधि होड निकै कठिन बनेको स्वीकार्दै भने, ‘३ खेल बाँकी छ, ४ अंकले पछि छौं । उपाधि रक्षा गर्ने हाम्रो सम्भावना अब कठिन बनेको छ । यद्यपि अबका तीनै खेलमा अनुकूल नतिजाको प्रयास गर्नेछौं ।’ दस खेलमा आर्मी र मछिन्द्रको क्रमशः २३ र २२ अंक छ । मनाङको १९ अंक रह्यो ।

    पहिलो हाफमा पछि परेपनि दोस्रो हाफमा मनाङले बल पोजिसन बलियो बनाएको थियो । केही राम्रा अवसरहरू पनि सिर्जना गरे । तर, फिनिसिङमा कमजोरी रह्यो । ‘पहिलो हाफमा हाम्रा खेलाडीले रणनीतिलाई कार्यान्वयन गर्न सकेनन् । दोस्रो हाफमा त्यो ढिला भइसकेको थियो । दोस्रो हाफमा हाम्रा स्ट्राइकरहरूले अवसर सदुपयोग गर्न सकेनन् । केही अवसर निस्किएका थिए, त्यसमा असफल रहे,’ प्रजापतिले भने । यसअघिका हरेक खेलमा जस्तै च्यासलविरुद्ध पनि रेफ्रीको निर्णयप्रति उनी असन्तुष्टि व्यक्त गरे ।

    रेफ्रीलाई दुर्व्यवहार गरेकाले प्रशिक्षक बालगोपाल साहुखलले रातो कार्ड पाएपछि पत्रकार सम्मेलनमा आएका च्यासलका व्यवस्थापक शंकर व्यन्जनकारले जितसँगै आफ्नो टिम टिम रेलिगेसनको भयबाट मुक्त भएको भन्दै खुसी व्यक्त गरे । तेस्रो जितपछि च्यासलले १० खेलबाट १२ अंक बनायो । च्यासल शीर्ष ६ स्थानबाट अझै ३ अंक पछाडि छ ।

    ‘हामी ३ अंक जोड्नका लागि आएका थियौं । खेलाडीहरूले मनाङको चुनौतीको डटेर सामना गरे । यसले हामीलाई रेलिगेसनको डरबाट मुक्त गरेको छ,’ थ्रीस्टारका पूर्वखेलाडीसमेत रहेका व्यन्जनकारले भने, ‘अबका तीनै खेल जितेर शीर्ष ६ भित्र पर्ने प्रयास गर्नेछौं ।’

    च्यासलले २५ औं मिनेटमा अग्रता लिएको थियो । मनाङका भारतीय मिडफिल्डर दयानन्द सिंहले हायातो वाकिनोलाई फल गरेपछि पाएको फ्रिकिकमा च्यासलका जापानी डिफेन्डर ताइगा नाकामुराले करिब ३५ यार्डबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । मनाङका गोलरक्षक दीप कार्कीले डाइभ गरे पनि बल रोक्न सकेनन् । दोस्रो हाफमा अधिकांश समय बल नियन्त्रणमा लिए पनि मनाङले विपक्षी पोस्टमा डरलाग्दो आक्रमण गर्न सकेन । अन्तिम मिनेटमा दोस्रो गोल बेहोर्‍यो । नाकामुराको छोटो पासमा ‘ए’ डिभिजन लिगका सर्बाधिक गोलकर्ता सन्तोष साहुखलले पेनाल्टी क्षेत्रबाट आकर्षक गोल गरे । उनले यो लिगमा सर्वाधिक सातौं गोल गरेका हुन् । ए डिभिजन करिअरमा उनको गोल १०३ पुगेको छ ।

    मनाङको हारबाट पहिलोपल्ट ए डिभिजन लिग जित्ने लक्ष्यमा रहेका आर्मी र मछिन्द्रलाई फाइदा हुनसक्छ । आपसमा प्रतिस्पर्धा गर्न बाँकी यी दुईमध्ये आर्मीले मछिन्द्रको तुलनामा कमजोर प्रतिस्पर्धीविरुद्ध खेल्दैछ । आर्मीले १३ औं स्थानमा रहेको एपीएफ, ११ औंको ब्रिगेड ब्वाइज तथा मछिन्द्रले सातौं स्थानको संकटा र पुछारको सरस्वतीविरुद्ध खेल्न बाँकी छ । मनाङले शीर्ष ६ को होडमा रहेका एनआरटी, पुलिस र जावलाखेलको सामना गर्न बाँकी छ । सम्भवतः आर्मीविरुद्ध मछिन्द्रको खेलले लिगको नयाँ विजेता टुंगो लगाउनेछ ।

    शीर्ष ६ मा जावलाखेल
    एन्फा कम्प्लेक्समै भएको दिनको पहिाले खेलमा जावलाखेलले ब्रिगेड ब्वाइजलाई १–० ले हरायो । ब्रिगेड ब्वाइजको लगातार तेस्रो हार हो भने जावलाखेलले चौथो जित दर्ता गर्‍यो । जावलाखेल १० खेलबाट १५ अंकसहित छैटौं स्थानमा उक्लियो । ब्रिगेड ब्वाइज (८ अंक) ११ औं स्थानमा रहेको छ ।

    खेलको एकमात्र गोल ३२ औं मिनेटमा सुजित बुढाथोकीले गरे । ‘आज तीन अंक त लियौं तर खेल सोचेजस्तो देखिएन । हाम्रो टिमको खेल समर्थकले अपेक्षा गरेजस्तो थिएन । हाम्रा खेलाडीहरूले विपक्षीलाई हेरेर उनीहरूको स्तरअनुसार खेले । वास्तवमा त्यो खराब हो,’ जावलाखेलका प्रशिक्षक नरेश थापाले भने, ‘खेलप्रति चित्त नबुझे पनि हामीले शीर्ष ६ भित्र आफ्नो दावेदारी दिन सकेका छौं । हाम्रो सुरुदेखिको लक्ष्य नै शीर्ष ६ मा रहने हो । यस खेल बराबरी वा पराजित भएको भए हामीलाई कठिन हुने थियो । बाँकी खेलमा राम्रो गरेर लक्ष्य पूरा गर्नुछ ।’

    जावलाखेलले फ्रेन्ड्स, हिमालयन शेर्पा र मनाङसँग खेल्न बाँकी छ । त्यसमध्ये कम्तिमा २ जित निकालेर शीर्ष ६ भित्र पर्ने योजना प्रशिक्षक थापाले सुनाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…