काठमाडौं । चार वर्षदेखि अदालतको अन्तरिम आदेशको भरमा चलेको क्यासिनो रोयल बुधबारबाट बन्द हुने भएको छ । याक एण्ड यतिसम्मको घर बाहल करार सम्झौताको समय सकिएसँगै अदालतको अन्तरिम आदेश पनि सकिने हुँदा क्यासिनो रोयल बन्द हुने भएको हो ।
पाँच वर्ष अगाडि होटल र गिल्ट इन्भेष्टमेन्ट प्रालिबीच रोयल क्यासिनो चलाउने सम्झौता भएको थियो । तर, क्यासिनोले करार बमोजिम भाडा र कर चुक्ता नगरेपछि होटल र क्यासिनो सञ्चालक बीच लफडा सुरु भएको थियो ।
होटलले क्यासिनो बन्द गर्न सूचना दिएपछि तत्कालिन क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले अदालतबाट स्टे अर्डर अर्थात् अन्तरिम आदेश जारी गराई करार समयसम्म क्यासिनो चलाउन दिने आदेश गराएका थिए । अहिले उक्त क्यासिनो सिंहले बिक्री गरिसकेका छन् ।
सिंह पछि उक्त क्यासिनो भारतीय नागरिक जयन्ती थापाको नाममा राखेका थिए । कर चुक्ता नभएको हुँदा रोयल क्यासिनो कागजमा मात्र खरिद बिक्री हुँदै आएको छ । जयन्तीको नामबाट सो क्यासिनो ६ महिना अगाडि अनिश शर्मा भन्ने गोकर्ण लामिछानेको नाममा आएको स्रोत बताउँछ ।
अहिले रोयल क्यासिनो अनिश शर्माले चलाउँदै आएका छन् । उनले पनि कर, भाडा र कर्मचारीका तलब भने दिएका छैनन् । स्रोतका अनुसार तीन महिनादेखि रोयलका कर्मचारीले तबल पाएका छैनन् ।
तर, अनिशको समूहले क्यासिनोका नाममा होटल मालिकलाई तर्साउन केही गुण्डा र प्रहरीलाई शेयर बिक्री गरेको हल्ला बजारमा चलाएका छन् । होटलले बुधबारबाट क्यासिनोमा ताला लगाउने तयारी गरेको छ । स्रोतका अनुसार श्रीलंकाको बिलिज कम्पनीलाई क्यासिनो दिने तयारीमा होटल छ ।
सोही कम्पनीले नेपालको मल्ल होटलमा पनि क्यासिनो बेलिज दुई वर्षदेखि सञ्चालन गर्दै आएको छ । गिल्ट इन्भेष्टमेन्टका सुरेन्द्र सिंहले करोडौं रुपैयाँ कर चुक्ता नै नगरी कम्पनी रजिष्ट्रारमा मोटो रकमको चलखेल गर्दै जयन्तीको नाममा शेयर नामसारी गरिदिएको स्रोत बताउँछ ।
सिंहले क्यासिनो जयन्ती थापालाई बेचेको भनी होटल सञ्चालक राधेश्याम सर्राफलाई जानकारी गराउँदा सर्राफले कर चुक्ताको कागज मागेको तर सिंहले पछि दिउँला भनी झुक्याएको समेत स्रोतको दाबी ।
रोयल क्यासिनोले यसअघि नै तिर्नुपर्ने १४ करोड ५४ लाख रुपैयाँ हर्जना समेत १७ करोड रुपैयाँ नाघिसकेको छ । त्यसमा अहिलेको १३ करोड २८ लाख रुपैयाँ थप्दा बक्यौता रकम ३० करोड रुपैयाँभन्दा बढी भइसकेको छ । ३१ करोड रुपैयाँ रोयल्टी बक्यौता रहेको कम्पनीको कर चुक्ता नगराई नामसारी गरिनुले सुरेन्द्रबहादुर सिंह र कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीबीच छानबिन हुन आवश्यक छ ।
मिटरव्याजले लियो ज्यान
पछिल्लो समय मिटर ब्याजीको कारण आत्महत्या गर्नेको संख्या बढेको छ । गत महिनामात्र त्रिशुलीमा दुई छोराछोरी सहित एक दम्पतीले आत्महत्या गर्न त्रिशुलीमा हाम फाले । तर, श्रीमानलाई भने स्थानीयले बचाएका थिए । यो त एक उदाहरण मात्र हो ।
मिटरब्याजको तनाबले पछिल्लो समय धेरैको अकालमा ज्यान गएको छ भने कोही पलायन भएका छन् । बैंकको झन्झटिलो ऋण प्रणालीले गर्दा काम सल्टाउन पछिल्ला समय केही व्यापारीले यस्तो महंगो ब्याजमा गिरोहसँग पैसा व्याजमा लिने गर्छन् । जसलाई मिटर ब्याज भनिन्छ ।
पछिल्लो समय मिटरब्याजीका नाईकेका रुपमा चिनिएका ललितपुरका महेशबहादुर सिंह र काभ्रेका वीरेन्द्रलाल श्रेष्ठपछि त्यहि शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर घर जग्गा हड्प्ने काममा ललितपुर इमाडोलका सुरेश मर्हजनको नाम अगाडि आउँछ ।
मर्हजन र उनका दाजु जीवन मर्हजनले अहिले दुई दर्जन सर्बसाधारणलाई घर न घाटको बनाएका छन् । महर्जन पीडितले पनि आफ्नो अवस्था आत्महत्या गर्नेसम्मको भइसकेको गुनासो गरेका छन् ।
महर्जनले सिंह र श्रेष्ठको शैलीमा मिटर ब्याजमा पैसा लगानी गरेर अदालतलाई भ्रममा पारी दर्जनौ सर्वसाधारणको घरबासे बिल्लीबाठ पार्दै आएको छ ।
एक जनालाई दिएको पैसाको महर्जनले घर परिवार सबैलाई भिन्नाभिन्नै कागज गराउने र पटक–पटक गरेर मुद्दा हाल्ने गर्दै आएका छन् । उनले जिल्ला अदालत काठमाडौं र ललितपुर मात्र २० करोड भन्दा बढीको मुद्दा दर्ता गराएका छन् ।
तर, उनको योे पैसाको स्रोत भने अदालतले खोजेको छैन । गत बर्ष सर्वोच्च अदालतले मिटर ब्याजीका नाईके महेश सिंहले बिभिन्न अदालतमा हालेको ५० करोड भन्दा बढीको मुद्दाको मिशिल निकालेर सो सम्पत्तीको स्रोत मागेपछि सिंह फरार भएका थिए । अहिले उनको सो मुद्दाको बिषयमा सम्पत्ती शुद्धिकरणले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय महर्जनको उक्त सम्पत्तीको अनुसन्धान बिभागमा भइरहेको छ ।
स्रोतका अनुसार उनले ललितपुर जिल्ला अदालतमा मात्र २० करोड भन्दा बढीको लेनदेन र बैदेशिक रोजगारीको मुद्दा दर्ता गराएका छन् । उनको यो पैसा स्रोत समेत खोजी हुन जरुरी रहेको पीडितलगायतले बताउँदै आएका छन् ।
ललितपुर महानगर–८ का पुनवीर महर्जनका छोरा पछिल्लो समय एकाएक नव धनाड्यको रुपमा देखा पर्नुको स्रोतको पनि खोजीनीति हुन आवश्यक रहेको पीडित बताउँछन् । उनले सामान्य व्यापारीलाई ब्याजमा पैसा लगानी गरेर मिटर ब्याजमा असुल्दै आएका छन्, जनप्रहारमा उल्लेख छ ।
उनलाई ६ महिना अगाडि एक अज्ञात समूहले ग्वार्कोमा खुकुरी प्रहार समेत गरेको थियो । केही भ्रष्ट प्रहरीको मिलोमतामो मर्हजनले मिटर ब्याजको धन्दा चलाउँदै आएका हुन् । उनले टेकुका व्यापारी केशव तन्डुकार, बुढानिलकण्ठका कपिल भण्डारी, ललितपुरका नारायण महर्जन, भिम सापकोटा देवेन श्रेष्ठलगायतलाई पीडित बनाएका छन् ।