श्रोता–दर्शकको सधैँ प्रतिक्रिया पाउँछु– तपाईंले अलि लामो समयमा मात्र गीत ल्याउनुहुन्छ भन्ने । त्यो मप्रति उहाँहरूको माया हो । ढिलो ल्याए पनि सुन्नलायक गीत ल्याउने गरेको प्रतिक्रिया पनि पाउने गर्छु । काम गरेपछि प्रतिक्रियाको अपेक्षा हुँदो रहेछ । तर, पछिल्लो समय नेपाली गीत–संगीत बिग्रिएर गएको छ । राज्यले कला, साहित्यप्रति बेवास्ता गर्दा र धेरै वरिष्ठ सर्जकहरूको अवस्था नाजुक भएकाले यस्तो अवस्था आएको हो ।
उमेर र शारीरिक अवस्थाले सिर्जनाका लागि पनि साथ नदिने रहेछन् । अहिले च्याउसरी रियालिटी सोहरू आएका छन् । यस्ता सोले कलाकार जन्माएका छन्, तर उनीहरूका सिर्जना बिक्री गर्ने ठाउँ सीमित छन् । उत्पादन बेच्न जानिएन भने ‘ड्यामेज’ हुन्छ । त्यति धेरै प्रतिभा जन्माउने रियालिटी सोहरूले उत्तिकै मात्रामा प्लेटफर्म पनि सिर्जना गर्न सक्नुपर्छ ।
एक समय थियो, संगीतलाई साधना मानिन्थ्यो । खासमा, १०–१२ वर्ष बिताएपछि मात्र संगीतलाई बुझ्न सकिने रहेछ । विभिन्न समस्याका बाबजुद साधना गर्न नछाडेकाले पुराना गीत–संगीत कालजयी बनेका हुन् । अहिले संगीत होइन, त्यसको नामको अर्कै चिजले बजार पिटिरहेको छ । जे पायो त्यही बोलियो र गरियो भने भाइरल भइने भ्रम छ, अहिले संगीत क्षेत्रमा । त्यही भएर सिर्जनाको नाममा खराब चिजहरू आइरहेका छन् । तर, आफ्नो पहिचान बचाइराख्ने चाहनाका कारण पुराना कलाकार मौन छन् ।
सिर्जनाप्रति पुराना कलाकारमा माया र ममता पाइन्छ । अहिलेका अधिकांश कलाकारमा गीत, संगीतको ज्ञान नै छैन । यो तीतो यथार्थ हो । सामाजिक सञ्जालमार्फत रातारात सेलेब्रिटी हुनु नेपाली संगीतका लागि त्यति निको कुरा होइन । संगीतमा पुरानै मिठास फर्काउन अति मिहिनेतको खाँचो छ । नयाँ पत्रिकामा खबर छ ।
https://www.youtube.com/watch?v=DGJQiorMr0c