काठमाडौं, २२ माघ । गण्डकी प्रदेशको प्रदेशसभा राजीव गुरुङ उर्फ दिपक मनाङे गुण्डागर्दीमा सम्लग्न छन्, भनेर चिनाउनै पर्दैन । कुनै बेला काठमाडौंमा गुण्डागर्दीमा एकछत्र राज चलाएका उनले अहिले प्रदेशसभा सदस्य भएर अनेकथरीका तमासा देखाइरहेका छन् ।
प्रदेशसभा सदस्य भएका उनले नेपालका व्यापारीक घराना हुँदै आफैं पनि व्यापारसहित राजनीतिमा प्रभावकारी पहुँच राख्ने नै भए । मनाङेले केहि दिन अगाडि मात्रै अखिल नेपाल फूटबल संघ एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङलाई समारोहमै मुक्का हाने ।
गुरुङ पनि गुण्डा नै हुन । गुरुङको पनि गुन्डागर्दी ज्यादा नै रहेको प्रहरीको रेकर्डमा फेला परेको छ । यो एउटा उदाहरण मात्रै हो । पहिला गुण्डागर्दीमा सक्रिय भएर पैसा कमाएका अहिले राजनीतिमा सक्रिय छन् । कतिपय अहिले पनि राजनीतिक सदस्यता, चन्दा दिएको, नेतालाई खर्च गरेको भरमा कर्मकाण्डी राजनीतिमा सक्रिय छन् ।
प्रायः गुण्डागर्दीमा सम्लग्नहरु सत्तामा ओहोरदोहोर गर्ने नेकपा अथवा कांग्रेसको सदस्यता लिने गरेका छन् । ठूलो छहारी भयो भने राजनीतिमा उक्लिन पनि सजिलो हुने र प्रशासनसँग बाँच्न सकिने भन्ने धारणा पनि छ । अहिले भइरहेको पनि त्यहि छ ।
एक पूर्व एआईजीको भनाईलाई आधार मान्ने हो भने राजनीतिक आडमा आधारमा नै नेपालमा गुन्डागर्दी मौलाएको छ । यति मात्र होइन, कतिपय प्रहरीका अधिकारीसँग राम्रै उठबस, नेताका छोरा छोरी र चेला चपेटासँग पनि राम्रो सम्बन्ध कायम गर्छन ।
बालुवा, गिटीदेखि खानीसम्म चलाइरहेको विवरण सार्वजनिक भएका थिए । कतिपय अवैध हिसाबले सम्पत्ती आर्जन गरेको भनी सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा नै लिएको थियो । केहीले सफाई पाए पनि धेरैको सम्पत्तीमा अहिले पनि विभागको अनुसन्धान जारी मात्रै छैन, निगरानी पनि जारी रहेको छ ।
मूलधारका मात्र होइन, क्षेत्रीयताका आधारमा राजनीति गर्ने दलमा त झन् आपराधिक गतिविधिमा संलग्नहरूकै सहभागीता बलियो हुने गरेको देखिएको थियो । पहिलो संविधानसभामा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीमा थिए, बबन सिंह । यस्तै हालको राजपामा रहेका संजय साह (टक्ला)ले त बम विस्फोटको अभियोगमा अहिले मुद्दा खेपिरहेका छन् ।
राजनीतिक शास्त्रीहरूका अनुसार जबसम्म दलमा आपराधिक पृष्ठभूमी भएका व्यक्तिको संलग्नता र सहभागीता हुन्छ तबसम्म सङ्लो राजनीति बन्न समय लाग्छ । यस्ता विषयमा दलैपिच्छेका नेताले ध्यान दिनुपर्ने उनीहरूको कथन छ । अभियान टाइम्सका साथमा ।