• काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलका उपसभापति विजय गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दर्ता गरेको भ्रष्टाचार गरेको मुद्दालाई राजनीतिक आग्रहले प्रेरित तथा बदनियतपूर्ण भनेको छ ।

    पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले यसलाई कांग्रेसका नेता र कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउने र हतोत्साही बनाउने श्रृंखलाका रुपमा पार्टीले लिएको बताए । उनले गच्छदारले यो मुद्दाको राजनीतिक र कानुनीरुपमा सामना गर्ने पनि बताए ।

    पत्रकार सम्मेलनपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, सरुवात देखि नै सरकारको नियत ‘आफ्नालाई जोगाउने(अरुलाई फसाउने’ देखियो । सरकारको त्यही नियतको प्रभाव र दबाबमा अख्तियार पर्नु दुःखद छ ।

    विज्ञप्तिमा बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यसलाई राजनीतिक बदनियतले प्रेरित ठहर गरेको उल्लेख गरिएको छ ।
    कांग्रेसले प्रधानमन्त्रीय प्रणालीमा मन्त्रिपरिषद्बाट भएको कुनै पनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुने भन्दै प्रधानमन्त्रीको सहमति बेगर न मन्त्रिपरिषद्‍मा कुनै प्रस्ताव आउन र पारित हुन नसक्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ, नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने र कुनै मन्त्रिमाथि त्यही निर्णयमा आधारित रहेर मुद्दा चलाउने कुरा आफैंमा बदनियतपूर्ण रहेको प्रष्ट छ ।

    कांग्रेसले गच्छदारलाई पछि परेको थारु समुदायबाट उदाएर पञ्चायतकालीन जेल र प्रवास भोग्दै आएर जनताबाट निरन्तर निर्वाचित नेताका रुपमा चित्रण गरेको छ । अख्तियारलाई अधिकार सम्पन्न गराउने भ्रष्टाचार निवारण ऐन, ०५९ संसदमा प्रस्तुत गर्ने कांग्रेस सरकारका मन्त्री गच्छदारविरुद्ध नै आयोगलाई गलत ढंगले प्रभावित गरिएको कांग्रेसले आरोप लगाएको छ ।

    यस्तै नेकपा महासचिव विष्णु पौडेलले आफ्ना छोरा नवीन पौडेलका नाममा जग्गा लिएको तथ्य सिंगो देशलाई जानकारी रहेको भन्दै कांग्रेसले भनेको छ, सोही प्रकृतिमा अरुलाई मुद्दा चलाइनु तर पौडेललाई मुद्दा नचलाइनुले राज्य शक्तिको प्रभावमा निर्णय भएको प्रष्ट हुन्छ । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…