काठमाडौं । पहिलो चलचित्र रिलिज हुँदै गर्दा नायीका निकिता चाण्डक निकै तनावमा परेकी छन् । उनी तनावमा पर्नुको कारण कोही–कसैसँग झगडा परेर भने होइन । उनी आफैं पनि कुनै विवादमा परेकी छैनन् । तर, भवितव्य एक घटनामा उनका बाबुको नाम जोडिएकाले निकिता अहिले कोहीसँग पनि खुलेर कुरा गर्न सक्ने अवस्थामा छैनन् । यद्यपि यही बेला चलचित्रको प्रोमोसन गर्नुपर्ने अवस्था छ । उनी भने धेरैजसो समय मोबाइल अफ गर्ने कि नभए नउठाउने अवस्थामा पुगेकी छन् । हरेक समय नायक विराज भट्टसँगै देखिने निकिता सकेसम्म पत्रकारहरूसँग भने टाढै रहँदै आएकी छन् ।
निकिताको घर मोरङ हो । उनी लामो समयदेखि काठमाडौंमा उच्च शिक्षा अध्ययनका लागि बस्दै आएकी हुन् । केही समयअघि मोरङमा एक लेखापरीक्षकको मृत्यु भयो । उनको शव खोलामा फेला परेको थियो । विराटनगरका प्रवल घिमिरेको शंकास्पद शव फेला परेपछि उर्लाबारीका व्यापारी अनिलमहेश्वरी चाण्डक अनुसन्धानमा तानिएका छन् । अनिल नायिका निकिताका बाबु हुन् । अनिलमहेश्वरी सहित चारजना घिमिरेको रहस्यमय मृत्यु प्रकरणमा जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर–२ निवासी घिमिरे गत मंगलबार बिहान सिंघीया खोलामा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
आठ वर्षयता लेखापरीक्षकको काम गर्दै आएका घिमिरे गत सोमबार साँझ उद्योगी नन्दकिशोर राठीले बोलाएपछि उनकै उद्योगमा पुगेका थिए । राति अबेरसम्म घर नआएपछि परिवारले घिमिरेको खोजी गरेको थियो । तर, मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो । सोमबार साँझ घिमिरेसँग होटलमा बसेर खानपान गरेका चारजना व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रवलसँग भेट भएका चारैजनालाई तारेखमा राखेर बयान लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका छन् । प्रहरी नायब उपरीक्षक थापाले सोमबार राति प्रवलसँग बसेका विराटनगर शनिहाटका नन्दकिशोर राठी, सुनचाँदी व्यवसायी अरुण राठी, अशोक अटल र उर्लाबारीका व्यवसायी अनिल चाण्डकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए । प्रहरीले अनुसन्धानका लागि पाँचजनाको मोबाइल कल डिटेल मगाएपछि चाण्डक परिवारमा चिन्ता छाएको छ ।
स्रोतका अनुसार सडकमा रहेका सीसी क्यामेरा फुटेजको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । विराटनगरका ठूला ५० हाराहारी कम्पनीको अडिट गर्दै आएका घिमिरे सोमबार साँझ अडिटकै सिलसिलामा नन्दकिशोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । मोटरसाइकल राठीको उद्योगमै राखेर उनी आमाज बेकरी पुगेका थिए । त्यहाँबाट नन्दकिशोरले उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरू भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेको पाइएको छ । होटलमा अरुण राठी, अशोक अटलसँग भेट भएपछि एउटै टेबुलमा केही समय बसेर खानपान गरेका थिए । त्यसपछि उनीहरू लोटस बार पुगेका थिए । लोटसबाट अनिलको गाडीमा लिफ्ट मागेर आएका प्रवलको मोबाइल एक्कासि अफ भएको थियो । मोबाइल अफ भएपछि उनका आफन्तले रातभर खोजी गरेका थिए । अस्पताल, होटल र सडकमा खोजी गर्दा नभेटिएपछि घिमिरे परिवार चिन्तित भएको थियो । मंगलबार बिहान उनको शव खोलामा भेटिएको थियो । अहिले मृतकको भिसेरा जाँचका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । स्थानीयले घिमिरेको मृत्युमा त्यहीँका स्थानीय व्यापारी व्यवसायीको संलग्नता रहेको आरोप लगाउँदै प्रहरीलाई निष्पक्ष छानबिन गर्न दबाब दिएका छन् ।
चलचित्र साङ्गो प्रदर्शनमा आउँदै
पूर्व मिस नेपाल निकिता चाण्डक अभिनित पहिलो चलचित्र ‘साङ्लो’ आजबाट प्रदर्शनमा आउँदैछ । अभिनेता विराज भट्टले निर्माण र निर्देशन गरेको चलचित्रबाट निकिताले डेब्यु गर्न लागेकी हुन् । चलचित्रमा उनी विराजको जोडी बनेकी छन् । यद्यपि उनले पहिले अभिनय गरेको चलचित्र ‘रानीमहल’ हो । तर, सो चलचित्र बीचमा अड्किएको कारण रिलिज हुन लागेको ‘साङ्लो’ नै पहिलो हो ।
‘साङ्लो’ को सार्वजनिक गीत र ट्रेलर हेर्दा फिल्ममा बिराजसँगको जोडी सुहाएको देखिएको छ । तर, धेरैले विराज र निकितालाई बाबुछोरी जस्तो देखिएको भन्दै सामाजिक सञ्जालमा ट्रोल बनाएका छन् । चलचित्रले मृगौला तस्करीको कथा उठाएकाले दर्शकले रुचाउने निर्माण पक्षको अपेक्षा छ । साङ्लोमा निकितालाई ‘हट एन्ड बोल्ड’ अवतारमा देख्न सकिने निर्देशकसमेत रहेका नायक विराजको भनाइ छ । चलचित्रमा विराज र निकिताका अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको समेत अभिनय छ । चलचित्रको लेखन शिवम अधिकारी तथा संगीत सुरेश अधिकारी र राजनराज शिवाकोटीको छ ।
नायिका पारमिता पनि जोडिएकी थिइन् दुर्घटनामा
नायिका परमिता राणा एउटा डरलाग्दो दुर्घटनाबाट बँचेकी छन् । तर, सो दुर्घघटनामा गोरखाकी लीला देवकोटाले जीवन गुमाउनुप¥यो । गत मंसिरमा बुुढानिलकण्ठमा भएको भयानक कार दुर्घटनाकी साक्षी हुन् परमिता । कारमा उनी आफ्नो प्रेमिकासँगै थिइन् । अमेरिकामा बस्ने पृथ्वी मल्लले कार चलाएका थिए । कारले ५५ वर्षीया देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । मल्लले मादक पदार्थ सेवन गरेर कार चलाएकाले दुर्घटना भएको हो । उनलाई अहिले पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
घटना भएदेखि नै सो कारमा नायिका परमिता रहेको बारे हल्ला चल्दै आएको थियो । तर, प्रहरीले समेत बताउन सकेको थिएन । करिब एक महिनापछि दुर्घटनाबारे परमिताले मुख खोलेकी छन् । एक महिनासम्म मौन रहेकी उनले सामाजिक सञ्जालमार्फत उक्त कारमा आफू पनि रहेको भन्दै माफी मागेकी छिन् । उनले लेखेकी छिन्, ‘सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चारजना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गयो ।’ यो सत्य नहोस् र यो सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कारभित्र म पनि एक यात्रु थिएँ । म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि क्षमा चाहन्छु ’ उनले भनेकी छन् । पारमिता आफैंले सो घटनाबारे माफी मागेपछि उनको सामाजिक सञ्जालमा धेरै आलोचना भएको थियो ।
तरुण खबरमा समाचार छ ।