काठमाडौं । नेविसंघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर निर्णय गरेको भन्दैं रोस प्रकट गरेको छन् । तत्कालिन समयमा पूर्वराजा ज्ञानेन्दले शाही आयोग बनाएर आफूलाई मननपरेका र विरोधीहरूलाई तह लगाएजस्तै अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियतपूर्ण ढंगबाट सरकारको गोटी बनेको भन्दैं नेता महरले आक्रोश पोखेका छन् ।
प्रतिसोधको राजनैतिक संस्कृति बिकास गरेर अख्तियार जस्ता स्वतन्त्र अङ्गहरूलाई सरकारको गोटी बनाउन मिल्छ ? नेता महरले प्रश्न गरे, कसैलाई फसाउने र कसैलाई बचाउने बदनियत छर्लङ्गै देखिएको छ, यो प्रतिशोध नभएर के हो ?
मन्त्रीपरिषद्को बैठकमा भएको निर्णयमा दुई प्रधानमन्त्रीद्धय माधव नेपाल, बाबुराम भट्ट्राई र जग्गा किन्ने पार्टीका महासचिव बिष्णु पौडेलका छोरा लगायतलाई छाडेर छानिछानी अख्तियारले कार्वाहीको दायरामा ल्याएको विषयले विवाद निम्त्याएको सन्दर्भमा नेता महरले यो निर्णयले अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।
क्याविनेट सिष्टममा प्रधानमन्त्रीले नचाहेमा मन्त्रीले प्रस्ताव लैजाँदैमा निर्णय हुन नसक्ने भन्दै निर्वस्त्र भएर अख्तियार ओली सरकारको ईसारामा नाचेको आरोप नेता महरको छ । अख्तियारको उक्त निर्णयले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रजातन्त्रका आधारभूत मान्यताहरुको खिल्ली उडाएको छ, कानुनी राज्यको उपहास भएको छ, नेता महरले अगाडी भने, अन्य सबैजसो व्यक्ति प्रतिवादीका रुपमा प्रस्तुत गरिँदा आखिर मुख्य ब्यक्तिलाइ किन बचाइयो त ? आम नागरिकको साझा प्रश्न र आशंका हो यो ।
यसैबीच, गच्छदारमाथि राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरिएको निष्कर्ष निकाल्दैं काँग्रेसका भातृसंस्था नेविसंघ र तरुण दलले अख्तियारको निर्णय विरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका छन् ।
गच्छदारमाथिको निर्णय सच्याउन माग गर्दै आज (शुक्रबार) दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन हुनेछ । यस्तै नेपाल तरुण दलको नेतृत्वमा आगामी आइतबार दिउँसो १ बजे माइतीघरमै प्रदर्शन निर्णय गरिएको छ ।
अख्तियारले बुधबार १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त निर्णयको कांग्रेस सम्बद्ध नेता, कार्यकर्ता, संस्थाले मात्रै नभएर राजनीतिक विश्लेषकहरु र आमजनताले समेत प्रश्न ठडाएका छन् ।