बाहुण्डाँगी । पूर्वी नेपालको प्रवेशद्धार काँकरभिट्टामा आयोजना हुने छैटौं एशियन ग्रामिण पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजक समितिले शुक्रबार महोत्सवस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर तयारी बारे जानकारी गराएको हो । महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको भूटान, भारत र नेपालबाट ५० हजार पर्यटकहरुले अवलोकन गर्ने जानकारी दिए ।
महोत्सवमा प्रदेशभर रहेका विभिन्न जातजातिका जातिय पहिचान र संस्कृति झल्काउने स्टल तथा कार्यक्रम रहने उनले जानकारी दिए । कार्कीका अनुसार १० वटा स्टल भारत र भूटानका रहनेछन् ।
महोत्सवको अवसरमा नेपाल, भारत र भूटानमा क्रियाशील होम स्टेहरुको छाता संगठन होम स्टे कँग्रेस गठन गरिने आयोजकले जनाएको छ । योसँगै विभिन्न देशका रंगकर्मीहरुले विभिन्न जातजातिको संस्कृति झल्कने चित्र समेत बनाउने छन् । आयोजकले पर्यटकसँग गर्ने व्यवहार तथा पर्यटन सम्बन्धी साहित्य गोष्ठि तथा सम्भाषण समेत आयोजना गर्ने कार्यक्रम रहेको छ ।
सन् २०१२ देखि बाहुनडाँगीलाई केन्द्र बनाएर एशियन ग्रामिण पर्यटन महोत्सवको पाँचौं संस्करण बाहुनडाँगीमा सम्पन्न भईसकेको र सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेकाले भ्रमण वर्षलाई सफल पार्ने मूल उद्देश्यले पनि यसपटक मेचीनगरको काँकरभिट्टामा महोत्सवको तयारी गरिएको संयोजक कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवलाई सफल पार्न ५१ सदस्यीय महोत्सव मूल आयोजक समिति निर्माण गरेर समितिले विभागीय कामलाई तीव्र पारेको थियो । समितिले नेपाल, भारत र भूटानमा समेत प्रचार गरिरहेको आयोजकले जनाएको छ ।
महोत्सवले मेचीनगरको पहिचानलाई थप मजबुत बनाउने र नेपालको मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्न महोत्सवले सहयोग पुग्ने भन्दै सबै क्षेत्रको सहयोग आवश्यक रहेको प्रवक्ता नवराज प्रधानले जानकारी दिए ।
सो महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको छ । महोत्सवले पूर्वी नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार तथा पर्यटन भ्रमण वर्षलाई सफल पार्न ठूलो सहयोग पुग्ने आयोजक समितिका उपाध्यक्ष ज्ञानेन्द्र घिमिरेले जानकारी दिए । उनले भने–‘महोत्सवको बहानामा आर्थिक संकलन गर्ने परम्परालाई तोडेर हामी तयारीमा जुटेका छौं, यहाँ स्टल राख्न र प्रवेश शुल्क लिने योजना छैन, सबै निःशुल्क हुनेछ ।’
‘प्रकृति र संस्कृति पर्यटनको सम्पत्ति’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा ५२ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले पूर्वानुमान गरेको भएपनि २५ लाखमा महोत्सव पूरा गर्ने गरी आन्तरिक तयारीमा आयोजक जुटेको छ । महोत्सवका लागि संघीय सरकारबाट २० लाख, प्रदेश सरकारबाट १५ लाख र स्थानीय सरकारबाट १० तथा अन्य सहयोगीहरुबाट बाँकी रकम ब्यवस्थापन गर्ने योजना भएपनि हालसम्म कतैबाट रकम संकलन नभएको आयोजकले जनाएको छ ।
महोत्सवमा मनोरञ्जन प्रदान गर्न आयोजकले राँगागाडा, टाँगालगायतको व्यवस्थापन गर्नेछ भने कार्यक्रममा वालन नृत्य, संगीनि, विभिन्न जातिय झाँकी तथा एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्ने तयारी गरिएको सांस्कृतिक उपसमिति संयोजक अञ्जु थापाले जानकारी दिईन् । काँकरभिट्टा बजार क्षेत्रलाई केन्द्र बनाएर आयोजना हुने महोत्सव विभिन्न ठाउँमा लाग्ने छ । समितिले विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गर्न ६ नम्बर वडा कार्यालय परिसरमा तारामण्डल र सुपारी लाईन क्षेत्रमा सेल्फी लिने ठाउँको रुपमा विकास गर्ने तयारी गरेको छ । महोत्सवलाई सफल पार्न र पर्यटकीय वातावरण बनाउन क्षेत्रीय होटल व्यवसायी संघले काँकरभिट्टा क्षेत्रको सरसफाईलाई निरन्तरता दिँदै आएको छ । संघले महोत्सवको अवसरमा कुक सम्बन्धी ५ दिने निःशुल्क तालिम समेत प्रदान गर्ने र महोत्सव अवधिभर पर्यटक उपभोक्ताहरुलाई १५ प्रतिशत छुट दिने निर्णय गरेको संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा यातायात व्यवस्था उपसमिति संयोजक विष्णु श्रेष्ठले काँकरभिट्टा टर्मिनलमा भएका सम्पूर्ण यातायातको ब्यवस्थापन बस पार्कमा गरिने जानकारी दिए । पूर्व मेची बस व्यवसायी संघ प्रालिका अध्यक्ष मोहनप्रकाश उप्रेतीले यातायातको क्षेत्रबाट गर्नुपर्ने सहयोग पुर्याउने बताए । सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष ज्ञानेन्द्र घिमिरेले गरेका थिए ।
साभार जनसंसद दैनिक