काठमाडौँ । नेपालको निजामती प्रशासनमा शिक्षा समूहको शाखा अधिकृतबाट प्रवेश गरेका युवराज पौडेल लामो समयदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजर र निगरानीमा थिए । पर्वतको स्थानीय विकास अधिकारी हुँदा उनी धेरै विवादमा परेका कर्मचारी हुन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उनको नाम बारम्बार जोडिने गर्दछ ।
कारण, पौडेल स्थानीय विकास मन्त्री हुँदा युवराज पौडेलले राम्रा जिल्लाको एलडिओ हुने मौका पाएका थिए । मौका मात्रै पाएनन् यस बीचमा अथाह र अकुत सम्पत्ति आर्जन गरे । राजनीतिक पहुँचका आधारमा उनले अरूलाई नगन्नेमात्रै होइन कि उनको घमण्डीपनकै कारण उनलाई नरुचाउने पात्रहरू बढ्दै गए ।
रकम प्राप्तिका लागि उनले हरेक निर्णयहरू सहजरूपमा गरिदिने र कानुनको विपरीत पनि निर्णयहरू गरी रकम असुल्ने गरेका दृष्टान्तहरू यसअघि पनि बारम्बार छापाहरूमा आइरहन्थे । पर्वतको एलडीओ हुँदादेखि नै उनका पछाडि अख्तियारको संयन्त्र लागिरहेको थियो भन्ने कुरा पनि बाहिर आएको थियो ।
तर, त्यो कुरा धेरै पछि आएर मात्रै पुष्टि भयो कि उनी उपत्यकाभित्रको चन्द्रागिरी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत हुुँदा घुस लिएको आरोपमा अख्तियारद्वारा पक्राउ परे । चन्द्रागिरी नगरपालिकाको प्रमुख नेपाली काँग्रेसका तर्फबाट घनश्याम गिरीले जितेका छन् । प्रमुख उनले जिते पनि उनी नगर परिषद्मा अल्पमतमा छन् ।
तथापि उनले काँग्रेससँग नजिक रहेको कारण नै खोजी खोजी यिनै युवराज पौडेललाई आफ्नो नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत बनाए । सीता परियार गएसँगै मेयर गिरीले युवराज पौडेललाई ल्याएका हुन् ।
जागिरको उत्तरार्ध अर्थात् उनको जागिर अब केबल ४ वर्ष बाँकी छ यस बीचमा उनी घुस लिएको आरोपमा पक्राउ परेपछि अबको जागिर अवधि उनको मुद्दा लड्दै बित्ने निश्चित छ । त्यसो त पछिल्लो समयमा चन्द्रागिरी नगरपालिकाकै लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई पक्राउ परेपछि त्यतिबेला नै अख्तियारले उनलाई पक्राउ गर्न नखोजेको होइन ।
२०७६ वैशाख २ गते लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई २० हजार घुस लिँदालिँदै अख्तियारद्वारा रंगेहात पक्राउ परेपछि प्रमुख कार्यकारी अधिकृत पौडेलको नामसमेत जोडिएको थियो । बयानका क्रममा लेखा अधिकृत भट्टराईले पौडेललाई पोले पनि समाउने कानुनी आधार नभएका कारण उनी जोगिएका थिए ।
पौडेलले चढ्ने गाडीबाट एक लाख रूपैयाँसहित उनी पक्राउ परेका हुन् । बा २ झ २१५२ नम्बरको गाडीको पछाडीको सिटमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले खानतलासी गर्ने क्रममा एक लाख नगद भेटिएको हो । रकमसहित प्रमुख पौडेल र उनका ड्राइभर सचित दुलाललाई गतआइतवार पक्राउ गरिएको हो । प्रमुख पौडेल नगरपालिकाबाट घर जाने क्रममा बलम्बू १२ स्थित च्याउ सहकारी अगाडि अख्तियारको जिपले रोकेर खानतलासी गर्न थाल्दा उक्त १ लाख नगद भेटिएको थियो ।
पक्राउ परेका कार्यकारी पौडेल र उनका ड्राइभरलाई केमिकलसहित हात डुबाउँदा ड्राइभरको हातमा भने पैसा छोएको रातो हात देखिएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालको टोलीले स्थानीय जनप्रतिनिधि, स्थानीय र महानगरीय प्रहरी प्रभाग बलम्वुको रोहवरमा नगद बरामदी मुचुल्का उठाई आयोगको कार्यालय टंगालमा लगेको थियो ।
यसअघि सोही नगरपालिकाका लेखा अधिकृत यसरी नै घुस लिने क्रममा पक्राउ परेका थिए । लेखा अधिकृत भट्टराईले सेवाग्राहीसँग बीस हजार घुसबापतको रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले उनलाई ०७६ वैशाख २ गते रङ्गेहात पक्राउ गरेको थियो । भट्टराईले सडक मर्मत सम्पन्नपश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेका थिए ।नव जनप्रहारबाट ।