आज बिहान मदन कमरेड केही दिनको अन्तरपछि मात्र साइकल चढेर आउनु भयो । उहाँको साइकल सदाझैँ टिलिक्क थियो । कतिसम्म भने साइकलको पांग्राको रिङ पनि टिलिक्कै । त्यसबाट बुझ्न सकिन्छ उहाँले गर्ने कामहरु सबैमा ईमान्दारीता छ । मेरो यो लगभग १० दिनको अन्तर पछिको मदन कमरेडलाई भेट्न नपाएको तिर्सना एकैचोटी ‘कता वेपत्ता कमरेड ?’ भनेर अभिवादन गर्न पुगेछु । पछि सम्झँदा पो झसङ्ग भएँ र भने ‘सरी कमरेड अभिवादन नगरी प्रश्न गर्न पुगेछु’ भन्दा ‘ममाथिको स्नेह हो बुझ्छु म’ भनेर प्रतिकृया दिनुभयो । कमरेडले भन्नुभयो– ‘जिल्लातिर कार्यक्रम थियो, त्यसैले सकिन नि भनेपछि मैले भनेँ– ‘कमरेडले यसपाली त पत्तै नदिई जानु भयो त !’ भन्ने जिज्ञासामा ‘कैलेकाहीँ यसरी जाँदा दुई किसिमको फाइदा हुन्छ’ भन्नु भयो । पहिलो, सुरक्षा । दोस्रो, अनायासै वेपत्ता हुँदाको मजै अर्को छ नि हैन र !’ भनि हल्का हाँस्नु भयो ? यसरी मेरो जिज्ञासालाई शान्त बनाउने प्रयास गर्नु भयो कमरेड मदनले ।
‘आजकल के हुँदैछ ?’ भनेर मलाई कमरेडले सोध्नु भयो । मैले सदाझैँ ‘त्यस्तो त केही छैन’ भनेर भन्दा उहाँले छिमेकी देशमा भएका परिघटना सुनाउनु भयो– ‘चीनका मुश्लिम विद्रोहीहरुका परिवार छिमेकी देश कजाकस्तान (प्बशबपजकतबल) तर्फ बस्छन् रे । ती परिवारहरुलाई अमेरिकी विदेश मन्त्रीले हालसालै भेटेर उनिहरुका आवश्यकता लगायतका बारेमा सहयोगी भूमिका (उचालेर) निर्वाह गरेर फर्के,जुन चीनलाई घेर्ने नीति अन्तरगत नै हो भन्ने बुझ्न कुनै द्विविधा नहोला । चीनलाई घेर्ने एसिया प्यासिफिक रणनीति अन्तर्गत अहिले सवैभन्दा महत्वपूर्ण नाका भनेको नेपाल हो । जुन एमसिसि परियोजना हुवहु पास हुँदा उनिहरुलाई सहज हुने छ । कमरेड देव गुरुङ, कमरेड भिम रावल लगायतका केही नेताको विरोधका वावजुद सँचार मन्त्री ‘सरकारलाई हेप्ने’ भनेर कुर्लिँदैछन् । उता भारत तर्फ पनि कश्मिरलाई भारतमा गाभ्ने निर्णय गराएर भारतलाई लामो सैनिक द्वन्दमा ईन्गेज गराई राख्ने रणनीतिमा सिआइए सफल भएको देखिँदैछ । यी दुई मुलुकलाई द्वन्दमा नपारेमा अब हुने विश्वशक्तिमान हुनबाट चीन र भारतलाई रोक्न कठिन देखेर चालिएको कदमको रुपमा लिन सकिन्छ ।’
कमरेड मदन भन्दै जानुभयो– ‘दैनिक उपभोग्य सामग्रीको मूल्यले घरको धुरी नाघी सक्यो, जनता महङ्गीको मारमा पिल्सिएका छन् । यता जनताका प्रतिनिधि ‘वाँसुरीको धुनमा सारङ्गीको तालमा’ छन् । यसो हेर्छु जो देखे पनि शासक हुन आतुर देख्छु । न्यायालयतिर दृष्टि घुमाउँछु, पिर्के सलामी पनि नछाड्ने देख्छु । कुर्सि घोप्ट्याएर त्यसमाथि चढेर सलामी लिएकै देख्छु । मेरो मायाँकी सागर विद्याले पनि आजकाल त सवार गाडीबाट पाउ राख्दा पहिला मखमली कपडाले वेरीएको पिर्कामा पाउ राखेको देख्छु । म बाँची राख्या भए चुलो–चौकोमै दैनिकी हुन्थ्यो होला सायद तर मेरो मृत्युका कारणले उनि पनि यो राजशाही ठाँटबाट भन्दा माथि उठेर सुखसयलमा भुलेकै देख्छु । उनको अनुहार हेर्दा खुशी देख्छु । त्यसैमा म सन्तुष्ट छु । छोरीको विवाह पनि शाही रवाफले नै भयो । राजादेखि रैतीसम्म बोलाएर भोज खुवाइन् । कम्ती पैसा खर्च भा होला ? त्यत्रो खर्च हुँदा कसरी जो हो गरीन् होला ? कति सास्ती भयो होला ?’ त्यसपछि मदन कमरेड केही वेर केही सोचे जस्तो गरी मग्न हुनु भयो । म हेरेर बसेँ ।
मदन कमरेडले प्रसंग बदलेर ईतिहासतिर लाग्नु भयो म अनुज झैँ सुन्दै गएँ । उहाँ अगाडि भन्दै जानुभयो–‘बेलायतमा क्रमबेल काटीँदाकै ताका फ्रान्सका शासक लुईस १६औंको शासन समाप्त भयो जवकी बेलायतका राजाका बौद्धिक तथा बफादार भारदारले पुनः राज संस्था फर्काउन सफल भए भने फ्रान्सका राजाका परिवार तथा भारदारहरु कोही पलायन भए । कोही विरोधीहरुसँग मिलेर सम्पत्ति र ज्यान जोगाउन सफल भए जस्तै नेपालका हालका शासकहरु आफैले आतङ्ककारी घोषणा गरेर टाउकाको मूल्य तोक्नेहरु तिनै आतङ्ककारीसँग मिलेर ज्यान जोगाउन र उनिहरुको खटनपटनमै अभ्यस्त जस्तो देखिँदैछन् हालका केही केही बर्षका गतिविधिहरु हेर्दा । निरङ्कुश र सामन्तिका रुपमा चित्रण गरिएका राजाको एक घोषणाले संविधानतः मृत प्रतिनिधिसभालाई ब्यूँताएर शपथ खुवाएका प्रधानमन्त्रीले द्वन्दरत् माओवादीहरुलाई शान्तिपूर्ण तवरबाट अवतरण हुनमा प्रमुख भूमिका निर्वाह गरेका राजालाई नेपालको सांस्कृतिक, धार्मिक तथा एकताका प्रतीकका रुपमा उसैको थान्कोमा नराखेर गैरसंवैधानिक तवरबाट पदच्यूत गरी विनारक्तपातपूर्ण कोतपर्बको नवीकरण गरेर ‘दिवङ्गत नेका सभापति गिरिजा प्रसादका प्रसाद स्वादन गरेर बसेका’ यी नेतृत्व देख्दा नेपालको राजनीति र लाजनीतिमा कुनै भिन्नता नभएको मात्र हैन भोलिको दिनमा कुनै ठूलो राजनैतिक दुर्घटना हुँदैगर्दा अचम्म नमाने हुन्छ भन्न सकिन्छ ।’
बिस्तारै राष्ट्रपतिलाई कार्यकारी बनाउने भित्रभित्रैको प्रयास देख्दा भन्दा आफ्नो देहवसान पछि नेपालको संवैधानिक अभ्यास प्रति मदन कमरेड पनि असन्तुष्ट नै रहेको बुझ्न कठिन भएन ।
उहाँले त्यसपछि अहिलेको नेपालको अवस्था कस्तो रहेछ भनेर एउटा दृष्टान्त सुनाउनु भयो । एक दिन मदन कमरेड अनामनगरको बाटोको पेटीमा रहेको साइकले फलफूल ब्यापारीकोमा अम्बा किन्न जानु भएको रहेछ । अम्बा किने पछि ती तराईवासी ब्यापारीको अनुहार हेर्दा निकै तनावमा देख्नु भएछ । अनि सोध्नु भएछ ‘के भयो ?’ अनि ती फलफूल ब्यापारीले भनेछन्– ‘के गर्ने हजुर साइकलमा राखेर बेच्न पनि दिँदैन । नगरप्रहरीले लुटेर लैजान्छ अनि थुन्छ । जरिवाना पनि गर्छ गाली पनि बहुतै दिन्छ र छोडी दिन्छ । लुटेर लगेको फलफूल बेलुका अफिस बन्द हुँदा हामीहरुको आँखा अगाडि भाग लगाएर आ–आफ्नो घर लैजान्छ ती प्रहरीहरुले । हामी हेरेर बस्छु । त्यति भनेर उ रोयो । अनि भन्यो– ‘हजुर हामीलाई बोलाउँदा ‘ए मधिशे साला धोती’ भन्छ ।
त्यति भन्दा मेरो मन भक्कानियो र उसलाई अँगालो हाल्न पुगेछु । ती साइकले ब्यापारीले प्रहरीले लुटेको भन्दा मलाई अलि असहज लाग्यो । प्रहरीले त लुट्न नपर्ने हो । कुरो के रहेछ भने त्यो फलफूललाई तुरुन्तै नगरपालिकाले कम दाममा वेच्ने या जरीवाना सहित त्यसैमा जोडेर लिएर आम्दानी बाँधेको भए त हुन्थ्यो नि । तर त्यसो हुँदो रहेनछ । उनिहरुले बाँडेर लैजाने गर्ने रहेछन् र लुटेको भन्या रहेछ । फलफूल ब्यापारी मात्रै हैन फुटपाथे कपडा बेच्नेहरुको पनि हविगत त्यही रहेछ, तिनै साइकलले सुनाए । यस्ता घटना हेर्दा साना लाग्ने कुराहरुले नेपाल भित्रका कुनै पनि बर्ण या जातका हुन तिनिहरुलाई संविधानले दिएको मौलिक हकमा रमाउन त पाएनन् नि हैन र सुनिलजी ?’ भन्दा म पनि त्यो कुरा सुनेर अलि द्रवित भएछु र झसंग भएँ । यस्ता साना साना कुराहरुका वारेमा नेताहरुले जनतामा गएर बुझ्न जरुरी छ, जुन काम अहिले राजाले गरिराछन् नेता त कालो पोतेको शिशाको घुम्टोमा ५ बर्षे बेहुली भए हिँडेका छन् स्वचालित बन्दुकको पिन प्वाइन्टको रेञ्ज भित्र । यसरी शासन कसरी हुन्छ जनताको मनमा । सुनिल भनि द्यौ नेतागणहरुलाई । यसरी नहिँड जनताको नजरमा नजर मिलाएर मनमा मन मिलाएर सडकका पेटीबाट पैदल जाओ काममा भनेर । नेताहरुले सार्वजिनक सवारी चढेर आवत जावत गर्ने दिन कैले आउला ? के चित्रबहादुर केसी मात्रै हुन् त जनताको मत नपाउने तर स्नेह प्रचुर पाउने नेता नेपालको ?’
यतिकैमा ‘आज त धेरै दिनको एकै पटक बसियो सुनिल भोलि विहान पुनः भेट्ने गरी है’ भनेर उहाँ साइकलतिर सोझिनु भयो । म एकैछिन घोरिएँ देश संझेर अनि मन भारी पार्दै त्यो साइकले फलफूल ब्यापारी कहाँ होला भन्दै निस्केँ ।