हङकङ । हङकङमा एकै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।
आपसमा जुठो खाना आदानप्रदान गरेपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।
साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए।
जुठो खाँदा एकै परिवारका ती ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको भनिए पनि उनीहरूमध्ये पहिले कसलाई त्यो संक्रमण थियो र सबैलाई सर्याे अथवा त्यो खानामै भाइरस थियो भन्ने विषयमा समाचारमा विस्तृत खुलाइएको छैन।
यही जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा उनीहरू भेला भएर खानपान गरेका थिए।
हङकङका स्वास्थ्य अधिकारीहरूले कोरोना सार्ने माध्यम पत्ता लगाउन निकै चुनौती रहेको बताएका छन्।
उनीहरूका अनुसार यसको संक्रमण भएपछि सुरुमा केवल हल्का फ्लुजस्तो लक्षण देखापर्न सक्छ।