काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रदेश- १ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्न निर्देशन दिएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपीको टुंगो नलागेपछि प्रधानमन्त्री ओलीले मंगलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका हुन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।
‘गृहमन्त्री थापा र मुुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मंगलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटारस्थित उच्च स्रोतले भने, ‘त्यही अनुसार प्रस्ताव तयार गरिने छ ।’
आईजीपी सर्वेन्द्र खनाल, ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त हुँदै छन् । तर अवकशको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपीको टुंगो भने लगाउन सकेको छैन ।