विराटनगर : ललिता निवास जग्गा प्रकरण मुद्दाको विषयलाई लिएर कांग्रेसले दुईपटकसम्म अवरोध गरेको प्रदेश १ संसदको कामकारबाही आजबाट सूचारु हुने भएको छ।
आइतबार र सोमबार लगातार कांग्रेस संसदले संसद सञ्चालनमा अवरोध गरेका थिए । मंगलबारबाट भने संसद अवरोध नगर्ने कांग्रेस सचेतक सूयर्माराज राईले जानकारी दिएका छन् । 'यो प्रकरणमा दोषीभन्दा पनि व्यक्ति र पार्टी हेरेर सरकारको इसारामा अख्तियारले मुद्दा चलाएकाले यसको हामीले संदनबाट विरोध गरेका हौँ,' सचेतक राईले भने, 'हामीले दोषी जुनै पार्टीको भएपनि कारबाही होस् भन्ने माग गरेका हौँ ।'
सदन अवरोधसहितको विरोधले नागरिकलाई मुद्दाको प्रकृतिका विषयमा अवगत भएको र सरकारलाई पनि सचेत गराउने काम भएकाले अब प्रदेश १ संसद बैठक चल्न दिने कांग्रेसले निर्णय गरेको उनको भनाई छ ।
जग्गा प्रकरणको मुद्दामा नेकपा नेतृत्व सरकारको इसारामा अख्तियारले पार्टी हेरेर मुद्धा चलाएको भन्दै आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभा बैठक अवरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आइतबार र सोमबार कांग्रेस संसदले सदन चल्न दिएका थिएन।
सोमबार प्रदेश १ को संसदमा प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने कार्य सूची थियो । मंगलबारको बैठकमा सोही विधेयक पेश गर्ने तयारी रहेको संसद सचिवालयले जानकारी दिएको छ । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।