काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार÷हत्या प्रकरणमा नयाँ मोड आएको छ । निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धानलाई लिएर एआईजी धीरु बस्न्यातको प्रतिवेदन डीआईजी नेतृत्वको समितिले खारेज गरेपछि अनुसन्धानले नयाँ मोड लिएको हो ।
दुई साताअघि प्रहरी प्रधान कार्यालयले डीआईजी सुरज केसी नेतृत्वमा पुनरावलोकन समिति गठन गरेको थियो । सोही समितिले बस्न्यात नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन खारेज गर्दैै नयाँ प्रतिवेदन कार्यान्वयनका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको छ ।
डीआईजी नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नका लागि कञ्चनपुर प्रहरीलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापाले जानकारी दिए । प्रहरी स्रोतका अनुसार प्रतिवेदनमा दिलीप विष्टलाई नै मुख्य अभियुक्त बताइएको छ ।
गत साउन ११ गते भीमदत्तनगर निम्बुखेडामा रहेको उखुबारीमा निर्मलाको शव भेटिएको थियो । मेडिकल रिपोर्टमा निर्मलाको बलात्कारपछि हत्या भएको खुलेको थियो । गत भदौं ४ गते प्रहरीले भीमदत्तनगर १९, बाँगफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
तर दिलीपको डीएनए निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग मेल नखाएपछि उनी हाजिर जमानीमा छुटेका थिए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डीएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा गठित छानबिन समितिले डीएनएको नमुना परीक्षणमै त्रुटि भएको निष्कर्ष निकालेपछि प्रहरी दिलीप नै अभियुक्त भएको निष्कर्षमा पुगेको हो । रिजाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन । दिलीप पक्राउपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलनमा प्रहरीको गोली लागेर स्थानीय शनि खुनाको ज्यान गएको थियो । स्थानीयले प्रहरीले निर्दोषलाई फसाउन खोजेको आरोप लगाएका थिए ।
स्थानीयको चर्को विरोधपछि गृह मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले प्रहरीले प्रमाण नष्ट गरेको, अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेको थियो । मैनाली नेतृत्वकै समितिको प्रतिवेदनका आधारमा प्रहरी अधिकारी बर्खास्तदेखि निलम्बनमा परेका थिए । अनुसन्धानमाथि नै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले एआईजी धीरु बस्न्यातको नेतृत्वमा ०७५ भदौ ३१ मा आन्तरिक छानबिन समिति गठन गरेको थियो ।
बस्न्यात नेतृत्वको समितिले नै यसअघि पक्राउ परिसकेका विष्ट निर्दोष रहेको भन्दै प्रहरी अनुसन्धानमै कमजोरी देखिएको निष्कर्ष निकालेको थियो । बस्न्यात नेतृत्वको प्रतिवेदनप्रति प्रहरीभित्रै विवाद भएको थियो । त्यही विवादका कारण आइजीपी सर्वेन्द्र खनाल र एआईजी बस्न्यातबीच दूरी बढेको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भने दिलीप नै हत्या÷बलात्कारमा संलग्न रहेको दाबी गर्दै आएका छन् । निर्मला प्रकरणको अनुसन्धानमा केन्द्र्रीय अनुसन्धान ब्युरो र कञ्चनपुर प्रहरीको टोली सक्रिय छ ।
प्रहरी र सरकारी वकिलबीच टकराव
पछिल्लो समय कञ्चनपुरमा प्रहरी र जिल्ला सरकारी वकिलबीच टकराव देखिएको छ । प्रहरीले दिलीपमाथि नै मुद्दा चलाउनुपर्ने माग गर्दै आए पनि सरकारी वकिलको कार्यालयले अस्वीकार गरेपछि टकराव वढेको हो । टकरावकै कारण सरकारी वकिलको सरुवासमेत भएको छ । गत साउन ११ गते निर्मलाको शव भेटिएको अवस्थामा दिलीपमाथि मुद्दा चलाउँदा खेमराज भट्ट जिल्ला सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता थिए ।
उनको केही समयपछि सरुवा भयो । सरुवापछि विष्णु पौडेल मुख्य न्यायाधिवक्ता भए । केही समयमात्रै कञ्चनपुर बसेका पौडेलको पनि सरुवा भयो । पौडेलपछि देवराज भारती र सुदीप दंगाल कञ्चनपुर पुगे । उनीहरू दुवैको पनि सरुवा भइसकेको छ । भारती र दंगाल दुवैले दिलीपमाथि मुद्दा चलाउन मानेका थिएनन् ।
हाल कञ्चनपुरमा लक्ष्मीनारायण झाको सरुवा भएको छ । तर उनी हाजिर भएका छैनन् । कञ्चनपुरका सहायक न्यायाधिवक्ता मोहनीप्रसाद जोशीले दिलीपविरुद्ध ठोस प्रमाण नभएकाले मुद्दा प्रक्रियाअगाडि बढाउन नसकिएको बताए । प्रहरी र सरकारी वकिलको कार्यालयबीच द्वन्द्व बढेको हो भन्ने बाह्रखरीको जिज्ञासामा जोशीले भने, ‘‘अन्तरद्वन्द्व त होइन । हामीले अनुसन्धान गर्न निर्देशन दिएका छौं । कसैलाई अपराधी बनाउन प्रमाण चाहिन्छ । प्रमाणविना कसरी मुद्दा अगाडि बढाउन सकिन्छ र ? प्रमाण पुगेका मुद्दा त प्रक्रियामा लगेकै छौं नि । त्यसमाथि केही प्राविधिक कुरा पनि छन् ।’’
केही समयअघि सरकारी वकिलको कार्यालयले प्रहरीलाई अनुसन्धान गर्न विभिन्न १६ बुँदे निर्देशन दिएको थियो । प्रहरीले सोही निर्देशनअनुसार अनुसन्धान सकेर दिलीप नै मुख्य अभियुक्त भएको निष्कर्ष निकालेको थियो । तर सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन नसकिने सुनाएको थियो । प्रहरी भने सरकारी वकिलको कार्यालयले सहयोग नगरेको गुनासो गर्दै आएको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘सरकारी वकिल कार्यालयको सहयोग नै भएन । सहयोग नहुँदा समस्या भएको छ ।’’ प्रहरीले दिलीपको एक भिडियोलाई मुख्य प्रमाणका रूपमा संकलन गरेको बताइन्छ । जुन भिडियोमा दिलीपले आफूले नै निर्मलाको बलात्कारपछि हत्या गरेको बताएका छन् ।
निर्मला प्रकरणको अनुसन्धानबाट फर्र्किएका एक प्रहरी अधिकारी भन्छन्, ‘‘त्यो भिडियोमा पनि विवाद छ । दिलीपले स्वीकार र इन्कार गरेका दुवै भिडियो छन् । त्यो कुन प्रयोजनका लागि बनाइएको हो भन्ने पनि हुन्छ । हामीसँग ठोस प्रमाणको भने अभावै छ । सुरुबाटै केही समस्या अनुसन्धानमा भएकै हो ।’’ केही प्रहरी अधिकारीले दिलीपको संलग्नतामा हुने सम्भावना नरहेको दाबी गर्दै आएका छन् भने अधिकांश प्रहरी अधिकारी दिलीपबाटै घटना भएकोमा सहमति व्यक्त गर्छन् । सुरुमा दिलीप हत्यारा नभएको दाबी गर्दै आएकी निर्मलाकी आमा दुर्गादेवी पन्तले भने दिलीपविरुद्ध किटानी जाहेरी दिएकी छन् ।
तर सरकारकै समितिले दिलीपलाई नक्कली अभियुक्त बनाइएको भन्दै प्रतिवेदन दिएको र त्यसमाथि तत्कालीन समयमा अनुसन्धानमा रहेका प्रहरी अधिकृत बर्खास्त र निलम्बनमा रहेकाले के गर्ने भन्नेबारे प्रहरी अन्योलमा पनि छ ।