काठमाडौं, २८ माघ । रोयल क्यासिनोले पैसाको आडमा गुण्डागर्दी सुरु गरेको छ । चार वर्षदेखि अदालतको अन्तरिम आदेशको भरमा चलेको क्यासिनो रोयलले घर बाहल करार सम्झौताको समय सकिए पनि जबरजस्ती गुण्डागर्दीको शैलीमा क्यासिनो चलाउन खोजेको हो ।
होटल याक एण्ड यतिसँग गत बुधबारबाट क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट इन्भेष्टमेन्ट प्रालिको सम्झौता सकिएको थियो । सोही सम्झौताको आधारमा गिल्टले इन्भेष्टमेन्टले कानुनको कमजोरीको फाईदा उठाउँदै सर्वोच्च अदालतबाट चार वर्ष अगाडि स्टे अडर लिई क्यासिनो सञ्चालन गर्दै आएको थियो ।
यस अवधिमा गिल्ट इन्भेष्टमेन्टको आधा दर्जनले क्यासिनो सञ्चालन गरयो तर कसैले पनि घर भाडा र कर्मचारीको तलब तथा राज्यलाई तिर्नुपर्ने कर तिरेनन् । चार वर्षसम्म अदालतको आडमा लुटतन्त्र मच्चाएको गिरोह अहिले त्यही पैसाले क्यासिनो कब्जा गर्ने रणनीतिमा लागेको छ । उक्त क्यासिनो सुरेन्द्र सिंहले लामो समय सञ्चालन गरे ।
उनले विभिन्न व्यक्तिलाई बैना गर्दै पैसा लिदै करोडौं रुपैयाँ लुटेका थिए । भारतीय व्यापारी आशिष पेटल देखि गोवाका केही टिमसँग करोडौं्र रुपैयाँ लिएका सिंहले एक वर्ष अगिाडि पुन पटेललाई नै क्यासिनो १५ करोडमा बेचेका थिए । ती वर्ष रोयल क्यासिनो चलाएका सिंहले याक एण्ड यति होटलसँग ४० अना जग्गा ६० करोडमा खरिद गरेका छन् ।
मालपोतमा राजश्व कम तिर्न थैली कम झुण्डाएका सिंहले महालक्ष्मी बैंकमा भने खरिद मूल्य भन्दा बढी लोन पास गराएका छन् । सुरेन्द्र सिंहदेखि अनिश शर्मा भने गोकर्ण लामिछानेले करोडौं रुपैयाँ राजश्व, घर भाडा र कर्मचारीको तलब भत्ता चुक्ता गरेका छैनन् ।
तर, करार अवधि सकिए पनि पैसाको पहुँचमा केही प्रहरीको नाम बद्नाम गर्दै भारतीय राजदूतावास कार्यालयमा समेत क्यासिनो चलाउन पाउँ भन्दै रोईलो गर्न शर्माको समूह पुगेको थियो । स्रोतका अनुसार शर्माले नेपाल प्रहरीका एक पूर्व डिआईजीदेखि केही क्यासिनो माफियालाई बोकेर हिँडेका छन् ।
शर्माले काठमाडौं प्रहरीका केही वरिष्ठ प्रहरी अधिकृतका नाम समेत बदनाम गर्दै आफूले ६० लाख दिएर प्रहरीमा सेटिङ मिलाएको दाबी गर्दै हिँडेको स्रोतले जनाएको छ । होटल याक एण्ड यतिले श्रीलंकन कम्पीलाई क्यासिनो रोयल दिने तयारी गरेको छ ।
याक एण्ड यतिसम्मको घर बाहल करार सम्झौताको समय सकिएसँगै अदालतको अन्तरिम आदेश पनि सकिएको हो । पाँच वर्ष अगाडि होटल र गिल्ट इन्भेष्टमेन्ट प्रालिबीच रोयल क्यासिनो चलाउने सम्झौता भएको थियो । तर, क्यासिनोले करार बमोजिम भाडा र कर चुक्ता नगरेपछि होटल र क्यासिनो सञ्चालक बिच लफडा सुरु भएको थियो ।
होटलले क्यासिनो बन्द गर्न सूचना दिएपछि तत्कालिन क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले अदालतबाट स्टे अर्डर अर्थात् अन्तरिम आदेश जारी गराई करार समयसम्म क्यासिनो चलाएका थिए । अहिले उक्त क्यासिनो सिंहले बिक्री गरिसकेका छन् ।
सिंहपछि उक्त क्यासिनो भारतीय नागरिक आशिष पटेलले खरिद गरी नेपाली नागरिक जयन्ती थापाको नाममा राखेका छन् । कर चुक्त नभएको हुँदा उक्त रोयल क्यासिनो कागजमा मात्र खरिद बिक्री हुँदै आएको छ । जयन्तीको नामबाट सो क्यासिनो ६ महिना अगाडि अनिश शर्मा भन्ने गोकर्ण लामिछानेको नाममा आएको स्रोत बताउँछ ।
अहिले रोयल क्यासिनो अनिश शर्माले चलाउँदै आएका छन् । उनले पनि कर, भाडा र कर्मचारीका तलब भने दिएका छैनन् । स्रोतका अनुसार तिन महिनादेखि रोयलका कर्मचारीले तलब पाएका छैनन् । तर, अनिशको समूहले क्यासिनोका नाममा होटल मालिकलाई तर्साउन केही गुण्डा र प्रहरीलाई शेयर बिक्री गरेको हल्ला बजारमा चलाएका छन् ।
होटलले बुधबारबाट क्यासिनोमा ताला लगाउने तयारी गरेका थियो । तर, क्यासिनोको गुण्डागर्दीको कारण होटलले क्यासिनो बन्द भने गर्न सकेको छैन । गिल्ट इन्भेष्टमेन्टका सुरेन्द्र सिंहले करोडौं रुपैयाँ कर चुक्ता नै नगरी कम्पनी रजिष्ट्रारमा मोटो रकमको चलखेल गर्दै जयन्तीको नाममा शेयर नामसारी गरिदिएको स्रोत बताउँछ ।
सिंहले क्यासिनो जयन्ती थापालाई बेचेको भनी होटल सञ्चालक राधेश्याम सर्राफलाई जानकारी गराउँदा सर्राफले कर चुक्ताको कागज मागेको तर सिंहले पछि दिउँला भनी झ्क्याएको समेत स्रोतको दाबी छ । रोयल क्यासिनोले यसअघि नै तिर्नुपर्ने १४ करोड ५४ लाख रुपैयाँ हर्जना समेत १७ करोड रुपैयाँ नाघिसकेको छ, जनप्रहारमा उल्लेख छ ।
त्यसमा अहिले १३ करोड २८ लाख रुपैयाँ थप्दा बक्यौता रकम ३० करोड रुपैयाँभन्दा बढी भइसकेको छ । ३१ करोड रुपैयाँ रोयल्टी बक्यौता रहेको कम्पनीको कर चुक्ता नगराई नामसारी गरिनुले सुरेन्द्रबहादुर सिंह र कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीबीच छानबिन हुन आवश्यक छ ।