काठमाडौं ।केन्द्रीय कमिटीबाट पारित भएको विशेष अभियानमा नेकपाले शीर्ष नेतृत्वलाई समेत सहभागी गराउने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका शीर्ष नेता अभियानमा जोडिने भएका छन् ।
नेकपाले फागुन महिनामा अभियानको तयारी र चैत १ गतेदेखि पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि उपत्यकासहित सातै प्रदेशमा अभियान सुरु गर्दैछ।महासचिव विष्णु पौडेलका अनुसार मंगलबार बिहान नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भएको छलफलपछि प्रदेशस्तरीय भेला र बैठकका मिति तय भएका हुन्।
प्रादेशिक भेला र बैठक प्रदेश ५ को बुटवलबाट सञ्चालन गर्ने र विराटनगरमा टुंगाउने नेकपाको तयारी छ। महासचिव पौडेलले फागुन महिना अभियानको तयारी बैठक र भेला गर्ने साथै चैत,बैशाख र जेठमा अभियान सञ्चालन गर्ने इकान्तिपुरलाई जानकारी दिए। उनका अनुसार फागुनमा हुने प्रदेश भेला र बैठकमा अध्यक्षद्वय ओली र दाहालसहित सचिवालयका सबै सदस्य सहभागि हुनेछन्।‘अभियानमा सचिवालयका सबै कमरेड सहभागि हुनुहुनेछ। अहिलेसम्म भेला र बैठकको मिति तय भएपनि को कहाँ जाने भन्ने तय भइसकेको छैन। त्यो एक दुई दिनमा टुंग्याउँछौं,’पौडेलले भने।
प्रादेशिक भेला र बैठक फागुन ४ देखि सुरु भएर फागुन २१ मा सकिने छन्। चैत्र १ बाट जिल्ला जिल्लामा अभियान सञ्चालन गर्ने योजना नेकपाको छ। गत माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले विशेष अभियानको कार्ययोजना पारित गरेको थियो।
अभियानले वैचारिक, राजनीतिक भावनात्मक एकता सुदृढ गर्ने नेकपाको विश्वास छ। अभियानमा सरकारको कामको प्रचार हुने र जनसम्बन्ध विस्तार हुने नेकपाको दाबी छ। पार्टी एकताको २० महिनापछि नेकपाले तल्लो कमिटीसम्म पुग्ने गरी अभियान चलाउन लागेको हो।
यस्तै,अभियानका क्रममा पार्टी सदस्यताको नवीकरण गर्ने योजना नेकपाको छ। अभियानमा केन्द्रीय सदस्यसहित सबै पार्टी सदस्य जोडिने छन्। नेकपाले आठ लाख पार्टी सदस्य रहेको दाबी गर्दै आएको छ। केन्द्रीय कमिटी बैठकबाटै ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने अभियानको मूल नारा तय भइसकेको छ।
प्रदेशस्तरीय भेला र बैठक कहिले?
नेकपा कार्यालय सचिव ईश्वरी रिजालका अनुसार प्रदेशस्तरीय भेला एक दिन र अर्को दिन बैठकको कार्यक्रम तय भएको छ। नेकपाले प्रदेशस्तरीय भेला प्रदेश ५ बाट सुरु गर्ने रिजालले जानकारी दिए। उनका अनुसार प्रदेश ५ मा फागुन ४ गते भेला र ५ गते बैठक, कर्णाली प्रदेशमा फागुन ६ र ७, सुदूरपश्चिम प्रदेशमा ९ र १०, गण्डकी प्रदेशमा १२ र १३, वाग्मती प्रदेशमा १५ र १६, प्रदेश २ मा १८ र १९ र प्रदेश १ मा २० गते भेला र २१ गते बैठक तय भएको छ।
अभियानको उद्देश्य के?
नेकपाले सबै जिल्ला हुँदै स्थानीय तहका वडा र टोलसम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। महासचिव पौडेलका अनुसार फागुन महिनामा अभियानको तयारी बैठक र भेला गर्ने र चैत १ बाट अभियान सञ्चालन गरी जेठमा सम्पन्न गर्ने योजना छ। यस्तै असार र साउन महिनामा अभियानको समिक्षा गर्ने निर्णय नेकपाले गरेको छ।
पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुकाबीचमा वैचारिक, संगठनात्मक एवं भावनात्मक एकताको विकास गर्ने, पारदर्शी, सादा एवं जवाफदेही जीवनशैली, श्रमप्रतिको सम्मान र सहभागिताको विकास गर्ने, नेता, कार्यकर्ता र सदस्यहरुमा पार्टी, आन्दोलन तथा नेतृत्वप्रतिको भरोसा र विश्वास विकसित गर्ने उद्देश्य सहित नेकपाले अभियान सञ्चालन हुँदैछ।
यस्तै,पार्टीमा सबै प्रकारका समूहबन्दी वा गुटबन्दीपूर्ण क्रियाकलालाई निरुत्साहित गर्ने,पार्टी एकतालाई सुदृढ र सबल बनाउने, जनता र राष्ट्रको पक्षमा सरकारले गरेका राम्रा काम,उपलब्धि र भावी योजनाका सम्बन्धमा पार्टीपंक्ति र जनतलाई प्रशिक्षित गर्ने अर्को उद्देश्य अभियानको छ।
सरकारका सकारात्मक कामको पक्षमा जनमत सिर्जना गर्ने,नेकपाको नेतृत्वमा विकास,समृद्धि र सामाजिक न्याय सम्भव छ भन्ने विश्वास जनतामा जगाउने,प्रदेश तथा स्थानीय तहका सरकार तथा जनप्रतिनिधि संस्थाहरुलाई पार्टीको घोषणा पत्र र नीति अनुरुप परिचालित हुन निर्देशित गर्ने अभियानले सहयोग गर्ने नेकपाको उद्देश्य छ।
अभियान सम्पन्न गरेपछि नेकपाले ०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने र चैत्र २५ देखि ३० मा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। कान्तिपुरबाट ।