काठमाडौँ — सरकारले नोवल कोरोना भाइरसको संक्रमणबाट प्रभावित चीनको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते शनिबार फिर्ता ल्याउने भएको छ । मन्त्रिपरिषद्ले मंगलबार त्यहाँका नेपालीलाई फर्काउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार विद्यार्थी फिर्ता ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाइनेछ । हुबेइमा रहेका १८० नेपाली विद्यार्थीले घरफिर्तीका लागि बेइजिङस्थित नेपाली दूतावासमा अनलाइन आवेदनसमेत दिइसकेका छन् । फिर्ता ल्याउन ढिलाइ गरेको ती विद्यार्थीका अभिभावकले सरकारको विरोध गर्दै आएका छन् । उनीहरूलाई छिटो फर्काउन संघीय संसद्मा समेत सांसदले आवाज उठाउँदै आएका छन् ।
चीनबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ । खरिपाटीका स्थानीयले भने घनाबस्ती रहेको स्थानमा चीनबाट फर्काइने नेपालीलाई नराख्न विरोध गर्दै आएका थिए तर स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, भक्तपुर तथा तीनवटै सुरक्षा निकाय र स्थानीयबीच मंगलबार भएको छलफलपछि खरिपाटीमा ‘आइसोलेसन सेन्टर’ राख्न दिने सहमति भएको हो । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले चीनबाट फर्काइने नेपालीबाट भाइरस वरपर नसर्ने सम्पूर्ण व्यवस्था मिलाइने प्रत्याभूति दिएपछि स्थानीय राजी भएका हुन् ।
चीनबाट फर्काइने नेपालीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्राधिकरणको तालिम केन्द्रको होस्टलमा राखिनेछ । त्यहाँ २०० जनासम्मलाई आइसोलेसनमा राख्न भौतिक, चिकित्सकीय र सुरक्षालगायत तयारी भइसकेको मन्त्रालयले जनाएको छ । चीनबाट ल्याइनेहरूको चिकित्सकीय निगरानीका लागि मन्त्रालयले ८६ जना स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत दिइसकेको छ ।
आदेश कुर्दै निगम
चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा रहेका १८० नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमानले सरकारको आदेश कुरेको एक साता बितेको छ । निगमले चीनको हुबेईमा जाने चालक दलसहितको टिम बनाइसकेको छ । ‘हाम्रो तयारी सकिइसकेको छ, एक सातायता हरेक दिन बैठक भइरहेको छ । तर आदेश आएको छैन,’ निगमको अपरेसन विभागका निर्देशक क्याप्टेन दीपुराज जुहार्चनले भने ।
निगमबाट १४ जना वुहानको उडानमा सहभागी हुनेछन् । जसमा तीन जना पाइलट, सात जना क्याबिन क्रु, दुई जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर र एक जना लोडमास्टर छन् । बुधबार उनीहरूलाई स्वास्थ्यसम्बन्धी तालिम दिइँदै छ । उक्त उडानमा सरकारले चार जना स्वास्थ्यकर्मी खटाउने भनेको छ । नोवल कोरोना भाइरसबाट संक्रमण हुने जोखिम रहेको भन्दै चीनमा रहेका १८० जना नेपालीले घर आउने इच्छा देखाउँदै फारम भरेका छन् । निगमले तिनलाई मात्रै ल्याउने छ ।
निगमले उडान नम्बर निकालिसकेको छ । निगमले आफ्नो आन्तरिक तयारी सबै सकिएको जनाउँदै सरकारको आदेश उडानको कम्तीमा दुई दिनअघि आउनुपर्ने भनेको छ । काठमाडौंबाट उड्ने जहाज भारत, बंगलादेश र म्यानमार हुँदै चीन जाने भएकाले रुट र चीनभित्रको अनुमतिका लागि दुई दिन चाहिने भनिएको हो । निगमका इन्जिनियरले यस रुटमा वाइडबडी उड्दा आवश्यक पर्ने हवाई इन्धन, रुट, भारलगायतका पक्ष विश्लेषण गरी तयारी सकेको छ ।
यो चार्टर उडानको खर्च नेपाल सरकारले व्यहोर्ने छ । खाली जाने भएकाले वाइडबडी विमानमा नेपालबाटै भरेको इन्धनले पुग्नेछ । अपरेसन विभागले यो रुटमा जाँदा साढे चार घण्टा र फर्किंदा पाँच घण्टा समय लाग्ने जनाएको छ । नेपाली विद्यार्थीलाई जहाजमा राखिसकेपछि चालक दल र क्याबिन क्रुले उनीहरूसँग नजिकै पुगेर सम्पर्क गर्ने छैनन् । ‘सबै यात्रु इकोनमी क्लासको सिटमा बस्नेछन् । बिजनेस श्रेणीमै बसिरहने क्याबिन क्रुले उनीहरूलाई सामान्य कमर्सियल उडानमा जस्तो सिटमै खाना, पानी वितरण गर्ने छैनन् । उनीहरूको खाना र पानी सिटमै राखिएको हुनेछ,’ क्याप्टेन जुहार्चनले भने, ‘अरू जानकारी माइकबाट दिइने छ । मास्क लगाएका स्वास्थ्यकर्मीले भने उनीहरूलाई निगरानी गरिरहनेछन् ।’
यो उडान भए निगमले उक्त वाइडबडी जहाजलाई कम्तीमा ४८ घण्टा उडाउने छैन । विश्व स्वास्थ्य संगठनको नियमअनुसार रोगका जीवाणु हुन सक्ने भएकाले तिनलाई निस्तेज गर्न जहाज कम्तीमा पनि ४८ घण्टा व्यावसायिक उडानमा जाने छैन । त्यस्तै निगमले चीन जाने चालक दलसहितको टोलीलाई एक सातासम्म बिदा दिने जनाएको छ । त्यो एक साता उनीहरू चिकित्सकको निगरानीमा घरमै रहनेछन् ।
(कान्तिपुर न्युजबाट)