काठमाडौँ — नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।
विकेट लिएपछि सन्दीप लामिछाने । तस्बिर : हेमन्त श्रेष्ठ
पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २० तथा दीपेन्द्रसिंह ऐरीले ११ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित १५ रन बनाएपछि नेपालले विजय लक्ष्य तेस्रो तीब्र गतिमा पुरा गरेको हो । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्यमा आउट भएका थिए ।
 
यसअघि नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ। एकदिवसीय क्रिकेटमा सबैभन्दा कम स्कोरको नकारात्मक कीर्तिमानलाई अमेरिकाले बराबर गरेको छ। यसअघि २००४ मा श्रीलंकाले जिम्बाबेलाई हरारेमा ३५ रनमै अल आउट गरेको थियो।
बुधबार त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट भयो।
अमेरिकालाई धराशयी पार्ने क्रममा सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो।
त्यस्तै सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ४ विकेट लिए।
अमेरिकाबाट ओपनर जेभियर मार्शलले २२ बलमा २ चौकासहित १६ रन बनाए। अन्य कुनै खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन्।
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        