काठमाडौँ, २९ माघ । कांग्रेस सांसद डीला संग्रौला पन्तले प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको प्रकोपको उद्गम स्थानमा रहेका नेपालीलाई उद्धार गर्नुको सट्टा सारंगी बजाएर मनोरंजन लिंदै बसेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले भनिन्, ‘प्रधानमन्त्री बाँसुरीको धुनमा मस्त हुनुहुन्छ । प्रधानमन्त्री अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ । म सोच्ने गर्छु, चीनमा अलपत्र र दूरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ! उनीहरूलाई कति लाज भयो होला ।’
पन्तले थपिन्, ‘माघ २१ गते प्रधानमन्त्रीले बालुवाटारमा आयोजना गर्नुभएको ‘सारंगी साँझ’को तस्बिरले ज्याँदै द्रवित बनायो।’
चीनमा रहेका नेपालीको उद्धार गर्न माग गर्दै उनले सरकारको ध्यानाकर्षण गराएकी थिइन् । ‘चीनमा रहेका नेपालीहरू सरकारसँग उद्धारको याचना गरिरहेका छन्,’उनले भनिन् ।
त्यसैगरि ललिता निवासको सरकारी जग्गा अनियमिततामा आफू नजिककालाई उन्मुक्ति दिने काममा सरकार लागेको संगौलाको आरोप थियो । उनले भनिन्,’अहिले यतिआतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ । नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यति समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको छ ।’