बाहुण्डाँगी । बिगतमा बाहुनडाँगीमा सञ्चालन हुँदै आएको महोत्सवलाई यस बर्ष पनि बाहुनडाँगीबासीले निरन्तरता दिने भएका छन । बाहुनडाँगीमा लाग्दै आएको महोत्सव अन्यत्र सारिएको भन्ने हल्ला चलिरहेका बेला बाहुनडाँगीका स्थानीयहरुले आफ्नो ठाउँमा लाग्दै आएको महोत्सवलाई निरन्तरता दिने उदघोष गरेका हुन ।
सम्पूर्ण बाहुनडाँगीबासीहरुको साथ र सहयोगमा बाहुनडाँगी जेसीजले फागुन १७ गतेदेखि २३ गतेसम्म बाहुनडाँगी संगित तथा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवका बारेमा जानकारी दिने उद्देश्यले आज काकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मुल समितिका संयोजक प्रविन भण्डारीले हरेक बर्ष बाहुनडाँगीमा महोत्सव लाग्ने गरेको र त्यो महोत्सवसंग बाहुनडाँगीको पहिचान जोडिएकाले यो बर्ष पनि बाहुनडाँगीमा नै महोत्सव आयोजना गर्न लागिएको बताउनु भयो ।
बिगतमा ग्रामिण पर्यटन महोत्सवका नाममा लाग्ने गरेको महोत्सवको आयोजक संस्था समेत परिवर्तन गरेर बाहुनडाँगी संगित तथा पर्यटन महोत्सवको नामबाट बाहुनडाँगी जेसीजले यो बर्षको महोत्सव आयोजना गर्न लागेको बाहुनडाँगी जेसीजका निवर्तमान अध्यक्ष तथा महोत्सवका प्रबक्ता कञ्चन उप्रेतीले पत्रकार सम्मेलनमा बताउनु भयो । उप्रेतीले भन्नु भयो,‘बिगतमा लाग्ने महोत्सवको आयोजक संस्था र नाममा केही परिवर्तन भएको छ तर बाहुनडाँगीमा लाग्ने महोत्सवले भने यो बर्ष पनि निरन्तरता पाएको हो ।’ महोत्सवको सहयोगी संस्थाका रुपमा नेपाल जेसीज रहेको छ ।
यो बर्षको महोत्सवमा बिशेष आर्कषणको रुपमा नेपालका सातै प्रदेशका पर्यटकीय क्षेत्रहरुको बारेमा तयार पारेको डकुमेन्ट्री प्रस्तुत गरिने बाहुनडाँगी जेसीजका कार्यकारीणी उपाध्यक्ष देबु बानियाँले बताउनु भयो । ‘सात दिनमा सात प्रदेश’ भन्ने नाराका साथ सात दिनसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन एउटा प्रदेशको भिडियो डकुमेन्ट्री देखाउने तयारी भएको बानियाँले बताउनु भयो ।
महोत्सवमा स्थानीय परिकार, भाषा भाषिको जातिय संस्कृति र पहिचान झल्कने प्रस्तुती, जैविक विविधता र कृषि उपजको प्रदर्शनीसंगै पर्यटन बर्ष २०२० को प्रबद्र्धन गर्ने उद्देश्य रहेको बाहुनडाँगी जेसीजका अध्यक्ष सागर कार्कीले बताउनु भयो ।
महोत्सवमा प्रमोद खरेल, सुगम पोखरेल, आस्था राउत, मेलिना राई, लाहुरे, पुष्पन प्रधान, प्रितम आचार्य, मन्त्र ब्याण्ड लगायतको प्रस्तुती समेत रहने महोत्सव आयोजक समितिका संयोजक भण्डारीले बताउनु भयो ।
४० वटा स्टल रहने महोत्सव सम्पन्न गर्नका लागि करीब २७ लाख खर्च हुने महोत्सवका कोषाध्यक्ष निता थापाले पत्रकार सम्मेलनमा बताउनु भयो । कोषाध्यक्ष थापाका अनुसार अहिलेसम्म मुख्य प्रायोजक तय भइनसके पनि बाहुनडाँगीबासी र दाताहरुको सहयोगमा महोत्सव सम्पन्न हुने बताउनु भयो ।
रेडियो साथी