झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका निरीक्षक होम अधिकारीको काज सो स्थानबाट १ नम्बर प्रदेशस्थित प्रहरी तालिम केन्द्रमा भयो । तालिम केन्द्रमा कार्यरत प्रकाश जगेवु थरका निरीक्षकको झापा ट्राफिक काजसरुवा भयो । आफ्नो तालिम केन्द्रमा काजसरुवा भएको थाहा पाउनेबित्तिकै निरीक्षक होम अधिकारी तुरुन्तै काठमाडौँ हानिए उक्त काज रोक्नका लागि ।
उनको काज रोक्ने बलियो माध्यम उनका जेठा बुद्धि खनाल हुन् । बुद्धि खनाल नेकपा संसदीय दलका उपनेता सुभास नेम्वाङका स्वकीय सचिव हुन् । सुभास नेम्वाङको पिए भएकै कारण बुद्धि खनालले आफ्ना बहिनीज्वाइँ होम अधिकारीलाई यसअघि झापा ट्राफिकको प्रमुख बनाउन सफल भएका थिए । जागिरको अधिकांश समय पूर्वक्षेत्र कहिले ट्राफिक त कहिले विर्तामोड इप्रकामा बिताएका विवादास्पद र रकम उठाउन सिपालु प्रहरी अधिकृतका रूपमा चिनिएका होम अधिकारी विर्तामोड इप्रकामा कार्यरत रहिरहँदा नै झापा ट्राफिकमा सरुवा भएका थिए ।
काठमाडौँ पुगी जेठा बुद्धि खनालमार्फत् सुभास नेम्वाङलाई प्रयोग गरेर उनले रानीस्थित प्रहरी तालिम केन्द्रका प्रमुख पुरुषोत्तम कँडेललाई फोन गराई एक महिना जगेवुलाई रमाना नदिने गरी रोक्न लगाए । जगेवु पनि सोर्सफोर्सकै कारण झापा ट्राफिकमा काज गराएपछि तत्कालै रमाना लिने तयारीमा लागिरहँदा माथिबाट रमाना रोक्न आदेश भएपछि उनी पनि थन्किए । घटीमा एक महिनाका लागि रमाना रोक्न सफल भएपछि निरीक्षक अधिकारी झापा आइसकेका छन् । उनले एक महिना रमाना रोक्नुका पछाडि मेची अञ्चलमा खुलेको लाइसेन्स नै प्रमुख रहेको छ ।
लामो समयदेखि लाइसेन्स वितरण प्रक्रिया रोकिएको थियो, अहिले खुलेको छ । यातायातका कर्मचारीका अलावा ट्राफिक प्रहरीको प्रमुखलाई मासिक झण्डै ५ लाख रूपैयाँसम्म लाइसेन्सबाट रकम प्राप्त हुने गरेको इतिहास यसअघिका घटनाक्रमहरूमा देखिइसकेको छ ।
झापा ट्राफिकका निरीक्षकको सबैभन्दा ठूलो कमाइ लाइसेन्स नै हो त्यसपछि मातहतका युनिटहरूबाट प्राप्त हुने महिनावारी रकम हो । लाइसेन्सबाट यति ठूलो रकम प्राप्त हुने भएकै कारण काजसरुवा भइसकेका होम अधिकारी रातारात काठमाडौँ पुगी एक महिनाका लागि रमाना स्थगित गराउन सफल भएका छन् । झापा ट्राफिक निरीक्षक दर्जाका लागि सबैभन्दा बढी आकर्षकको जिल्लामध्येमा पर्दछ । कारण लाइसेन्स नचलेका बखत पनि त्यहाँका निरीक्षकको कमाइ मासिक २ लाखभन्दा बढी हुने गरेको ट्राफिक प्रहरीहरू नै बताउँछन् भने लाइसेन्स चलेका बखत त अवस्था हेरेर ७ लाखसम्म नै हुने गरेको उनीहरूको दावी छ ।
त्यसैले पनि विगतका निरीक्षकहरू पनि यस्तै सोर्सफोर्स लगाएर झापा ट्राफिकमा जाने गर्दथे भने होम अधिकारी पनि सुभास नेम्वाङका पिए आफ्ना जेठान बुद्धि खनाललाई प्रयोग गरेर जान त सफल भए नै हुँदाहुँदा भइसकेको काज रोक्नसमेत सफल भए ।
नव जनप्रहारबाट ।