बाहुण्डाँगी । झापाको मेचीनगरमा यसअघि सञ्चालन हुदै आएको नगर स्तरीय अन्तर विद्यालय निर्मल राई स्मृति भलिवल प्रतियोगितालाई यो वर्षदेखि जिल्लाव्यापी बनाइएको छ ।
पहिलो र दोस्रो संस्करणसम्म प्रतियोगिता नगरस्तरीय थियो भने आगामी फागुन ७ देखि ९ गतेसम्म निर्मल राई तेस्रो झापा जिल्ला स्तरीय अन्तर भलिबल प्रतियोगिता मेचीनगरमा हुने भएको छ । नकआउट चरणमा हुने प्रतियोगिताको उद्घाटन खेल उद्घाटन खेल हिमालयन एकाडेमी धुलावारी र पशुपति मावि काँकडभिट्टाबीच हुने छ ।
काँकरभिट्टास्थित अरुणोदय माध्यमिक विद्यालयले आयोजना गरेको उक्त प्रतियोगितामा झापा जिल्लाभरिका सामुदायिक र निजी गरी २३ वटा विद्यालयले सहभागिता जनाउने आइतबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । करिव २ देखि अढाई लाख रुपैयाँसम्म खर्च अनुमान गरिएको प्रतियोगिताको विजेता टिमले नगद २० हजार तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी मेडल तथा प्रमाण पत्र हात पार्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी एकजनालाई नगद २ हजारसहित ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । यसैगरी उत्कृष्ट चारजना खेलाडीलाई ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिने सहायक प्रधानध्यापक जीआर धितालले जानकारी दिनुभयो । प्रतियोगिताका संयोजक राजकुमार विश्वकर्माका अनुसार दैनिक १ देखि ९ वटासम्म खेल हुने छ । र प्राविधिक सहयोग भने जिल्ला भलिबल संघ झापाको रहने छ ।
प्रतियोगितामा जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउने छन् । यसले सामुदायिक र संस्थागत विद्यालयबीचको सहकार्य र समन्वय हुनुका साथै सम्बन्ध विस्तारमा समेत मद्दत पुग्ने र जिल्लाभरि छरिएर रहेका खेलाडीको क्षमता अभिवृद्घि हुने र विद्यालय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास आयोजक विद्यालयको छ ।