फागुन ५, पथरी ।
मोरङको पथरी उद्योग वाणिज्य संघले ३३ वर्ष पछि आफ्नै भवन पाउने भएको छ ।
उवासं पथरीले गत वर्ष खरिद गरेको आफ्नो नामको ३ कठ्ठा जमिनमा कार्यालय भवन निर्माणको लागि सोमवार एक कार्यक्रमका विच भवनको शिलान्यास गरेको छ ।
गत वर्ष जग्गा खरिद गरेर एक कदम अघि देखिएको उद्योग वाणिज्य संघ पथरीले सोमवार आफ्नो १७ औँ साधारणसभाको अवसर पारेर भवन शिलान्यास गरेको हो ।
अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको योजना रहेको बताउदै संघका अध्यक्ष दिपक बस्नेतले सो भवनमा कार्यालय प्रयोजनका लागि कोठाहरुको अलावा सुविधा सम्पन्न अतिथि सदन र हलको व्यवस्था हुने बताए ।
यसका साथै यथेष्ट पार्किङ सुविधा सहितको भवन निर्माण हुने बस्नेतको भनाई छ । गत बर्ष ५३ लाख रुपैयाँमा खरिद गरिएको जग्गामा ४ करोड ५० लाख रुपैयाँ बराबरको लागतमा भवन निर्माण गर्ने लक्ष्य उद्योग वाणिज्य संघ पथरीको रहेको छ ।
भवन शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ सांसद एवम् संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता रहने पुर्व निर्धारित कार्यक्रम भएपनि प्रतिकुल मौसमका कारण आउन नसके पछि भवनको शिलान्यास उवासं का अध्यक्ष दिपक वस्नेत आफैले गरेका थिए ।