काठमाडौ, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकील कार्यालय पुनरावेदनका लागि उच्च अदालत जाने भएको छ ।
अदालतको फैसला आएसँगै १४१ दिन कारागारमा बिताएका महरा आजै रिहा भएर खुमलटारस्थित निवास फर्केका छन् ।
काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन ।
फैसलाको पूर्णपाठ तयार भएपछि महराको मुद्दा विरुद्ध पुनरावेन गर्न जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ ।
त्यसरी सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताए ।
न्यायाधीश पौडेलले अदालतमा पीडित भनिएकी महिलाले गरेको इन्कारी बयानलाई मुख्य आधार मानेर महरालाई सफाइ दिने फैसला सुनाएका हुन् ।
सरकारी वकीलले भने इजलासले अन्य प्रमाणको उचित मुल्यांकन नगरेको बताइरेहका छन् ।