गत १२ असोजमा महरालाई संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लाग्यो । १३ असोजमा रोशनीले महराविरुद्ध बोलेको भिडियो सार्वजनिक भयो । भिडियो सार्वजनिक भएपछि १४ असोजमा सत्तारुढ नेकपा सचिवालयले सभामुख र सांसद पदबाट राजीनामा दिन महरालाई सुझाव दियो । त्यही दिन साँझ महराले राजीनामा दिए ।
उनको राजीनामा पत्रमा उल्लेखित भाषा विवादित बनेको थियो । राजीनामा पत्रमा महराले ‘छानबिन प्रक्रिया नसकिँदासम्म नैतिकताको आधारमा राजीनामा दिएको’ उल्लेख गरेका थिए ।
‘हिजो (१३ असोज २०७६) देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु’ महराले हस्ताक्षर गरेको राजीनामा पत्रमा उल्लेख थियो ।
राजीनामा दिएको १ सय ४१ दिनपछि महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका छन् । तर, सभामुख पदमा भने अग्नीप्रसाद सापकोटा निर्वाचित भइसकेका छन् ।
महराले त्यो बेला प्रयोग गरेको भाषाअनुसार अब उनीमाथि लागेको आरोपको छानबिन प्रक्रिया सकिएको छ । धेरैले सामाजिक सञ्जालमा अहिले महरालाई प्रश्न गरिरहेका छन्, ‘छानबिन सकियो, अब महराले के गर्लान् ?’