काठमाडौँ । सामान्यतया दुबै मृगौलाले काम गर्न छोडेको अवस्थामा डाक्टरले अर्को किड्नी प्रयारोपण गर्न अथवा डाइलासिस गर्नका लागि सुझाव दिने गर्छन् । तर, अर्घाखाँची जिल्ला, छत्रदेब गाउँपालिका, वडा नं ९– सिठेनीकी २४ वर्षिया सुनिता बि.क भने एक वर्षदेखि घरमै मृत्यु कुरेर बसेकी छन् ।
एक वर्ष अगाडी दुबै किड्नी बिग्रिएर जीवन मरणको दोसाँधमा रहेकी बिकको आर्थिक अभावका कारण शहर आउन नसकेका कारण सरकारले निशुल्क भनेको डाइलासिस समेत भएकोे छैन । उनका श्रीमान टुल्क बहादुर बिकले गाउँमा रिन खोजेर उपचारका लागि भारतको नयाँ दिल्लीसम्म पुर्याएका थिए । तर, उपचारका लागि लाखौँ रकम खर्च हुने बताइए पछि उनले बिरामी श्रीमतीलाई घर फर्काएर ल्याएको बताउँछन् । दिल्ली स्थित ‘वर्धमान महाबिर मेडिकल कलेज’मा उपचारका क्रममा ‘लुफस मेट राइटिस’ नामक रोग लागेको पत्ता लागेको र सोही रोगका कारण आफ्नी श्रीमतीले दुबै मृगौला गुमाउनु परेको टुल्क बहादुरले बताए ।
सुनिताका पाँच र तीन वर्षका दुई छोराहरु छन् । छोराहरुलाई सम्झेर सुनिता भन्छिन्, “अब म छिट्टै मर्दैछु । म मरे पनि एउटा ज्यान मर्ने हो । तर, म मरेपछि छोराहरुले दुख पाउने छन्, मेरो श्रीमानले अर्की श्रीमती पाउनु हुन्छ तर मेरा बच्चाहरुले आमा पाउने छैनन् । म ओछ्यानमा लडिरहेकी छु । अलि–अलि श्वास बाँकी छ । श्वास रहुन्जेल आश बाँकी रहने रहेछ, छोराहरुकै खुसीका लागि बाँच्न पाए हुन्थ्यो ।”
नाबालक बच्चाहरु ‘आमा’ भन्दै सुतेको बिस्तारा वरिपरि झुम्मिदा सुनिताको मन कुडिन्छ । “म मरे भने उनीहरुले कसलाई ‘आमा’ भन्लान् ?” उनी आँखा भरि आँसु पारेर छोराहरुलाई नियाल्छिन् ।
आफ्नै वरीपरि मृत्यु घुमिरहेको भन्दै बाँच्ने आशा पनि मरिसकेको सुनिताको गुनासो छ ।
“बाँच्ने आशा पनि मरिसक्यो, गरिबले बाँच्ने आशा राख्नु पनि मुर्खता रहेछ । बाँच्ने रहर पनि औकात हुनेहरुका लागि मात्रै रहेछ । जुन औकात मसंग छैन ।” सुनिताले आँसु पुछ्दै भनिन्, “डाइलासिस निशुल्क हुन्छ भन्छन्, तर हामीसंग शहर जानका लागि पैसा छैन, तम्घास गएर सिटामाेल किन्ने पैसा छैन, शहर कसरी जानु? उनले प्रतिप्रश्न गर्छिन् ।”
कसैले सहयोग गरिदिए आफुले उपचार पाउनेमा सुनिताको झिनो आशा छ । उनका श्रीमानले श्रीमतीको उपचारमा सहयोग गरिदिन सबैलाई अपिल गरेका छन् ।