काठमाडौं, ७ फागुन । बालुवाटारको ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले गच्छदारसहित ११० जनाविरुद्ध मुद्दा दायर गरेको हो भने ६५ जनाको जग्गा जफत गर्ने निर्णय गरेको छ । मुद्दा दायर भएपछि गच्छदारको सांसद पद पनि स्वत निलम्बनमा परेको छ । यो सँगै किन गच्छदार अहिलेसम्म बचेका थिए र अहिले मुद्दा चल्यो भन्ने प्रश्न पनि चर्को रुपमा आएको छ ।
कुनै बेला कांग्रेसमा तत्कालिन गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र भनेर ४ नेता चिनिन्थे । उनीहरुलाई छोटकरीमा ‘एकेजीबि’ भनिन्थ्यो । त्यसमा अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार थिए ।
गच्छदारलाई मुद्दा लागेपछि २०४८ पछिको प्रभावशाली समूह ‘एकेजिबी’ मध्यका केसीबाहेक सबै अख्तियारको पकडमा परेका छन् । यो समूह त्यो बेला कांग्रेसमा प्रभावशाली मानिन्थ्यो । अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे । उनको अहिले निधन भइसक्यो ।
गोविन्दराजको मुद्दा सर्वोच्चमा छ । गच्छदारविरुद्ध बुधबारमात्रै मुद्दा दायर भएको छ । केसी भने अझै सक्रिय राजनीतिमा छन् । र, उनलाई अहिलेसम्म भ्रष्टाचारको कुनै आरोप लागेको छैन् ।
प्राय सबैलाई रेस्पोन्स गर्ने र मिलनसार केसी पत्रकारहरुका प्रिय नेता मानिन्छन् । ०४८ यता १२ पटक मन्त्री भएका गच्छदारविरुद्धको यो मुद्दा साबित भएमा १३ वर्षसम्म जेल बस्नुपर्नेछ । र, उनको राजनीतिक भविष्य सकिन्छ ।
खासमा गच्छदारलाई मुद्दा लाग्नुमा उनी कांग्रेसमा आफू नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम विलय गराउनु मुख्य कारण हो । यदि उनले २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा पार्टी विलय नगराएका हुन्थे भने उनलाई मुद्दा लाग्थेन । कारण किन भने उनी लोकतान्त्रिक फोरमको अध्यक्ष रहन्थे ।
एउटा पार्टीको अध्यक्षलाई नै मुद्दा लगाउने आट सरकार र अख्तियारले गर्थेन । यदि २०५८ मा तत्कालिन नेपाली कांग्रेस शेरबहादुर देउवाले फुटाउने बेलामा देउवातिर लागेका हुन्थेनन भने जोशी र खड्कालाई नै मुद्दा लगाउदा उनलाई पनि लगाइन्थ्यो ।
किनकि कांग्रेसमा यो समूहलाई पाखा नलगाइ आफू माथि पुग्न नसक्ने आकलन गरेका धेरै नेता थिए । त्यसमा अहिलेका रामचन्द्र पौडेल, डा. रामशरण महत, स्वर्गिय सुशील कोइरालालगायतका नेताहरु अग्र पंतिमा थिए । उनीहरुले ग्राइन डिजाइन गर्दागर्दै अर्को दल खोलेर अध्यक्ष भएको र जनताको मत पनि केहि देखिएकाले गच्छदार अहिलेसम्म बचेका थिए ।
तर, अहिले जुन बेला उनी कांग्रेसमा प्रवेश गरे, त्यही निर्वाचनबाट कांग्रेस पत्तासाफ भयो । र, कम्युनिष्टहरुले लगभग दुई तिहाई ल्याए । कम्युनिष्टहरुलाई कसरी कांग्रेसका नेताहरुलाई तह लगाउन सकिन्छ भन्ने थियो । त्यहि भएर ललिता निवास प्रकरण उचाले । त्यो प्रकरणमा पनि कम्युनिष्टका नेताहरुलाई तर्क संगत नहुनेगरी उन्मुक्ति दिनेगरी अख्तियारले निर्णय गरेको । अभियान टाइम्सका साथमा ।