काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सेक्युरिटी प्रेस खरिद मामिलामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले कमिसनको बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भइसकेपछि निजलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ७० करोड कमिसनको मामिलामा सरकार नै संस्थागत रुपमा लागि परेको आरोप लगाउँदै भने, ‘कमिसनको कुरा अडियो रेकर्डमार्फत नै सार्वजनिक भइसकेपछि मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धान प्रक्रियाअगाडि बढाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा आग्रह गर्दछ ।’
मन्त्री बास्कोटाले २७ अर्बको सेक्युरिटी प्रेस खरिदलाई २८ अर्बको बनाएर ७० करोड कमिसन निश्चित गर्ने कुराकानी गरेको अडियोमा सुनिन्छ । यो रेकर्ड सार्वजनिक भएसँगै मन्त्री बास्कोटा विवादमा तानिएका छन् ।
कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘प्रेस सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी सँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ । ’